बिजुलीको लाइन नआएर के भो! घरनजिकै खोला बग्छ। खोलामा एक पाइप पानी छ। २-४ घरलाई पुग्ने बिजुली आफैं निकाल्न सकिन्छ।
यसैको उदाहरण बनेका छन्, मर्दी पदमार्गको फरेष्ट क्याम्प र लो क्याम्पका होटलहरू।
मर्दी पदमार्ग नजिकै खोलाबाट निकालिएको बिजुलीबाट फरेष्ट क्याम्पमा तीन वटा होटललाई पुगेको छ। त्यस्तै लो क्याम्पमा दुइटा होटलले बिजुली पाएका छन्। बत्ती बाल्न र पर्यटकका मोबाइल चार्ज गर्न पुगेको छ। कहिलेकाहीँ काठको काम गर्न समेत धानेको छ।
त्यसो त पहाड र हिमाली क्षेत्रका गाउँमा अहिले पनि लघु-जलविद्युत आयोजना चलेकै छन्। ती आयोजना बनाउन सरकार र गैरसरकारी निकायले लगानी गरेका हुन्छन्। गाउँलेले पनि श्रमदान गर्छन्।
तर मर्दी पदमार्गको जलविद्युत आयोजना बनाउन कुनै निकायको सहयोग छैन। धेरै गाउँलेको श्रमदान छैन। ठूलो खर्च पनि लागेको होइन। दुई-तीन घर मिलेर सानो प्रयासमै बिजुली बालिएको छ। न लाइन जाला भन्ने पिर, न बिल नै तिर्नुपर्ने।
यो पहलकदमी गरेका हुन् लान्द्रुकका ४३ वर्षीय राजु गुरुङले। अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने लान्द्रुक गाउँ घान्द्रुकबाट पारि देखिने गाउँ हो। त्यहाँ उनको 'होटल मुनलाइट' छ। फरेष्ट क्याम्पमा एक वर्षअघि 'होटल सनराइज' सुरू गरे। जब होटल खोले, मोबाइल चार्ज गर्न नपाएरै उनी हैरान हुन्थे।
मर्दी पदमार्गमा पदयात्रा गर्ने नेपाली र विदेशी पर्यटक पनि मोबाइल चार्ज गर्न खोज्थे। मर्दी जाने पर्यटक लान्द्रुक, धम्पुस लगायत ठाउँ हुँदै बास बस्न फरेष्ट क्याम्प पुग्थे। बाटोमा फोटो खिच्दै, गीत सुन्दै साँझ बासस्थान पुग्दा उनीहरूको मोबाइलमा चार्ज सकिन्थ्यो। छिनछिनमा ढाक्ने बादल र पर्ने पानीले सोलारबाट ब्याट्री पर्याप्त चार्ज हुन पाउँथेन। रात पर्दा–नपर्दै ब्याट्री 'डाउन' हुन्थ्यो।
चिसो ठाउँ भएकाले पनि मोबाइल र सोलारको चार्ज धेरै धान्थेन। बिजुलीबाट चार्ज गर्न नजिक भनेकै लो क्याम्प पुग्नुपर्थ्यो जुन कम्तिमा ३ घन्टाको बाटो हो। त्यहाँ पनि दुइटा होटलमा मात्र पेल्ट्रिक सेटबाट बिजुली बालिएको थियो।
राजुलाई लाग्यो, अब यहाँ (फरेष्ट क्याम्प) बिजुली निकाल्नुपर्छ। फरेष्ट क्याम्पमा फ्रिज, पंखा चलाउन नपरे पनि पानी तताउन, बत्ती बाल्न र मोबाइल चार्ज गर्नै बिजुली चाहिएको थियो। राजुले आफ्नो गाउँ लान्द्रुकमा 'पानीबाट बिजुली कसरी निस्कन्छ' भन्ने थाहा पाएका थिए।
लान्द्रुकमा विगत २८ वर्षदेखि ३८ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना सञ्चालनमा छ। अहिले भने २५ किलोवाट मात्र बिजुली निकालिएको छ।
लान्द्रुकको यही आयोजना बनाउँदादेखि हेरिरहेका थिए राजु। बिग्रँदा प्राविधिकसँगै आयोजनामा पुग्थे। माथिबाट पानी ल्याएर तल टर्बाइन घुमाउँदा बिजुली चम्किने कुरा उनलाई अचम्म लागेको थियो। अहिले पनि उत्तिकै अचम्म लाग्ने उनी बताउँछन्।
गाउँमा पानीघट्ट घुमेझैं बिजुली निकाल्ने टर्बाइन घुमाउन पानीघट्टमा पानी खसालेको भन्दा धेरै उचाइबाट पानी खसाल्नुपर्थ्यो। पानीघट्टभन्दा धेरै छिटो पानीले टर्बाइन घुमाउनुपर्थ्यो। राजुले यी जिज्ञासा प्राविधिकलाई सोधिरहन्थे। यति सोध्थे, जवाफ नदिई विद्युतीय प्राविधिक उम्कनै पाउँथेनन्।
प्राविधिकहरूसँगको संगतले सिकेका कुरा उनले फरेष्ट क्याम्पमा लागू गर्न चाहे। अन्नपूर्ण गाउँपालिका-७ तोल्कामा एउटा पेल्ट्रिक सेट 'मेसिन' थियो, ४ किलोवाट क्षमताको। यो मेसिनबाट निक्लेको बिजुलीले तोल्का गाउँका १४ घरलाई पुग्थ्यो। गाउँलेले योभन्दा ठूलो लघु-जलविद्युत आयोजना बनाएपछि मेसिन थन्किएको थियो।
झन्डै ७ वर्षसम्म थन्किएको मेसिन राजुले गाउँलेसँग ८० हजार रूपैयाँमा किने। पोखरा लगेर मर्मतसम्भारमा ३० हजार खर्चिए। फरेष्ट क्याम्पमा पेल्ट्रिक सेट लैजाँदा उनले प्राविधिक भने लगेनन्। आफैं प्राविधिक बने।
फरेष्ट क्याम्पभन्दा केही तल सानो मूलको पानी बग्थ्यो। त्यसैलाई उनले बिजुली निकाल्न पानी लैजाने ठाउँ 'इन्टेक' बनाए। त्यही पानी साढे २ इन्चको पाइपबाट सिधा तल झारे। साढे २ इन्च पानी भनेको तपाईं-हाम्रो घरमा आउने धाराभन्दा केही ठूलो हो। पाइपबाट पानी ४० मिटर तल झारेर पेल्ट्रिक सेटको टर्बाइनमा लगाइदिए। पानीले टर्बाइन घुमायो। तर बिजुली निस्केन।
टर्बाइन घुम्दा पनि बिजुली ननिस्कने! उनलाई फेरि अचम्म लाग्यो। हिम्मत हारेनन्।
पानीको उचाइ नपुगेको अन्दाज गरे। फेरि पाइप जोडे। ४० मिटर बढाएर ७० मिटर तल झारे। पानीको गति अघिभन्दा तेज भयो। पानीले अझै जोडसँग टर्बाइन घुमायो। उनले बिजुली निस्कने तारमा बल्ब जोडे, बल्यो।
उनको सपना पूरा भयो। खुसीले बुरूक्कै उफ्रे।
'हामीले कोही प्राविधिक नबोलाई बिजुली बाल्यौं,' राजुले उत्साहित हुँदै सेतोपाटीलाई सुनाए, 'एउटा होटललाई चाहिने जति पाइपको पानीले पनि बिजुली निकाल्न सकिँदो रहेछ।'
पानी बहावको गतिलाई ऊर्जामा बदलेर उनीहरूले होटलमा बत्ती बाले। नवीकरणीय ऊर्जाका रूपमा प्रयोग हुने जलविद्युत उनीहरूले निकै सानो इकाइमा उत्पादन गरे, जति आफूलाई आवश्यक छ। पानीलाई उच्च स्थानबाट पाइपमार्फत् बेजोड गतिमा झारेर टर्बाइन घुमाए। टर्बाइनमै जोडिएको चुम्बकीय 'इन्डक्सन मोटर' पनि घुम्न थाल्यो, बिजुली उत्पादन भयो।
यसरी एक-दुई घर मिलेर उनीहरूले बिजुली बाले। टर्बाइन घुमाएर निस्केको पानी फेरि खोलामै छाडिएको छ।
तर पेल्ट्रिक सेटको क्षमता अनुसार बिजुली निकाल्न पानी अझै पुगेको छैन। बर्खामा पुगे पनि हिउँदमा पुग्दैन। पेल्ट्रिक सेट राखिएको 'पावर हाउस' ढुंगाको गारो लगाएर टिनले छाएको छाप्रोमा छ। पावर हाउस भएको ठाउँबाट ९ सय मिटरमाथि फरेष्ट क्याम्पसम्म तार टाँगिएको छ। सुरक्षित होस् भनेर नांगो तार नभई घरमै 'वायरिङ' गर्ने कालो तार जंगलका रूखरूखै टाँगेर सिधै होटलसम्म पुर्याइएको छ।
बिजुली निस्केपछि राजुको होटल सनराइज, शुकबहादुर गुरुङको होटल ग्रिन भ्यु र बिजुली निकालेको ५ महिनापछि खेम गुरुङको होटल ऋदम झलल भएको छ। शुकबहादुरले सुरूदेखि नै राजुको बिजुली बाल्ने योजनामा साथ दिएका थिए।
यो बिजुलीबाट तीन वटा होटलमा करिब ४० बल्ब बलेका छन्। मोबाइल, क्यामरा चार्ज गर्न पुगेको छ। हिटर बाल्न, काठको काम गर्नेदेखि तरकारी-अचार पिस्ने मेसिन पनि चलेका छन्।
दैनिक कति वाट बिजुली निस्कन्छ र कति खपत हुन्छ भनेर जाँच्न उनीहरूले मिटर बक्स जोडेका छैनन्। १ किलोवाट बिजुली उत्पादन भइराखेको उनीहरूको अनुमान छ।
छाप्रोमा बनाएको पावर हाउस खोलाबाट केही टाढा छ। बाढी आए पनि असर गर्दैन। बाढी आउँदा पानी नियन्त्रण गर्न पाइप जोडेकै ठाउँमा संरचना बनाएका छन् जसले ठूलो पानी तर्काउँछ। बिजुली उत्पादनमा केही खराबी आउँदा आफैं बन्द हुने गरी 'एमसिबी' राखेका छन्। बिजुली प्रशारण बन्द गर्न स्विच पनि छ।
यस्तै, पाइपमा पानी बन्द गर्ने व्यवस्था पनि छ। पेल्ट्रिक सेटमा कुनै खराबी आउँदा दुर्घटना नहोस् भनेर यो व्यवस्था गरेको राजुले बताए। पानी बन्द भएपछि टर्बाइन घुम्न छाड्ने र बिजुली उत्पादन बन्द हुने गरी संरचना बनाइएको छ।
यति काम गर्दा जम्मा ५ लाख रूपैयाँ लागेको राजुले बताए। उक्त खर्च ३ वटै होटल मिलेर तिरेको उनको भनाइ छ।
करिब एक वर्षदेखि यसरी बिजुली उत्पादन भइरहेकामा एक महिनाअघि अचानक बिजुली बलेन। पावर हाउसमा मेसिनको आवाज ठूलो आएको थियो। तर होटलमा बत्ती बलेन। राजुको टोली पावर हाउस पुगेर हेर्दा मदानी जस्तै हुने टर्बाइन खसेको रहेछ। उनीहरूले पोखराबाट प्राविधिक बोलाए। मर्मत भयो। बिजुली बल्न थाल्यो भने आवाज पनि अघिभन्दा सानो आयो।
मर्दी पदमार्गका होटलका भित्तामै टाँसिएको हुन्छ, 'मोबाइल चार्ज गरेको दुई सय रूपैयाँ।'
सोलारबाट होस् या बिजुलीबाट, मोबाइल, क्यामराको ब्याट्री चार्ज गर्दा पर्यटकले शुल्क तिर्नुपर्छ। राजुहरूले पनि आफ्ना होटलमा शुल्क टाँसेका छन्, 'शुल्क त राखेका छौं, कसैले दिन्छन्, कसैले दिँदैनन्।'
नेपाली पदयात्रीसँग भने मोबाइल, क्यामरा चार्जको शुल्क नलिने उनले बताए।
उनीहरूलाई अहिले एउटा समस्या छ। तीन होटलमा बिजुली बाँड्दा कुनै एउटामा समस्या भयो भने सबैलाई समस्या हुन्छ।
राजु भन्छन्, 'ट्रान्समिटर जोड्नुपर्ने छ। नत्र एउटामा लाइन सट भयो भने, सबैको बिजुली जान्छ। पावरहाउसमा पनि समस्या आउन सक्छ।' टर्बाइन बनाउन आएका प्राविधिकले पनि यो सुझाव दिएको उनले बताए।
फरेष्ट क्याम्पमा अहिले १२ होटल छन्। बाँकी ९ होटल सोलार बिजुलीकै भरमा छन्। साना जलविद्युत र सोलार ऊर्जा वातावरणमैत्री हुने भएकाले 'स्वच्छ ऊर्जा' भनिन्छ। संरक्षित क्षेत्र, त्यसमाथि जाडो ठाउँमा यसरी बिजुली बाल्न सके दाउराका लागि जंगल फँडानी कम हुने संरक्षणकर्मीहरू बताउँछन्।
पदमार्गकै लो क्याम्पका ९ होटलमध्ये दुइटामा पनि यसरी नै बिजुली बालिएको छ। त्यहाँ १.१ किलोवाट क्षमताको पेल्ट्रिक सेट छ। अन्नपूर्ण आधार शिविर पदमार्गमै चलेको मेसिन किनेर लगेको 'होटल लो क्याम्प' का सञ्चालक अमृत तामाङले बताए। उत्पादित बिजुली उनको र अर्को 'होटल माछापुच्छ्रे' मा जोडिएको छ।
छोमरोङमा स्थानीयले अर्को ठूलो लघु-जलविद्युत आयोजना बनाएपछि होटल माछापुच्छ्रेका सञ्चालक खेम तामाङले उक्त पेल्ट्रिक सेट किनेका थिए। गत चैत दोस्रो साता पेल्ट्रिक सेटमा चट्याङ परेको तर लकडाउन कारण मर्मत गर्न नपाएको तामाङले बताए।
'अहिले पर्यटक पनि छैनन्, होटल पनि बन्द छ,' उनले भने, 'लकडाउन खुलेपछि बनाएर फेरि बिजुली बाल्छौं।'
सबै होटललाई पुग्ने गरी ठूलो मेसिन ल्याउन उनीहरूले लो क्याम्पका अरू होटलसँग सल्लाह पनि गरेका थिए। तर पानी स्रोत निकै सानो भएकाले तत्काल सम्भव भएन। होटल लो क्याम्पका सञ्चालक तामाङले भने, 'अरु होटल सञ्चालकले पनि अहिले यत्तिकै ठीक छ, पछि सोचौंला भनेका छन्।'
तर फरेष्ट क्याम्प र लो क्याम्पमा पेल्ट्रिक सेटबाट निकालिएको बिजुलीबाट पर्याप्त सुरक्षा उपाय अपनाउन नसकेको इञ्जिनियर दामोदर तिवारी बताउँछन्। लामो समय लघु-जलविद्युत आयोजनामा काम गरेका इञ्जिनियर तिवारी अहिले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत छन्।
'सुरक्षाका उपाय अपनाउन सकिएन भने ठूलो क्षति हुन सक्छ,' उनले भने, 'थोरै खर्चमै सुरक्षित हुन सकिन्छ।' सुरक्षाका लागि तीनवटा सुझाव दिए।
पहिलो, लघु जलविद्युत उत्पादन गर्न बनाइएको पेल्ट्रिक सेटमै 'कन्ट्रोल सिस्टम' हुन्छ। तर त्यो सिस्टममा जोड्नुपर्छ। पानी बहाव कहिले छिटो, कहिले ढिलो हुन सक्छ। घटबढ पनि भइरहन्छ जसकारण बिजुली उत्पादनमा पनि घटबढ भइराख्छ। यो घटबढ नियन्त्रण गर्न एमसिबी जोड्नुपर्ने तिवारीले बताए।
'जति क्षमताको पेल्ट्रिक सेट हो, त्यही क्षमताको एमसिबी र अन्य सुरक्षा औजार पाइन्छन्,' उनले भने।
दोस्रो, पेल्ट्रिक सेटमा 'अर्थिङ' गर्ने। चट्याङबाट जोगाउन र उत्पादित बिजुली सट हुँदा जमिनमा हुने विद्युत प्रवाह रोक्न अर्थिङ गर्नुपर्ने उनको सुझाव छ।
तेस्रो, बिजुली कति उत्पादन भयो भनेर मापन गर्ने यन्त्र जोड्नुपर्ने।
तिवारीका अनुसार, नेपालमा शून्यदेखि १० किलोवाट बिजुली उत्पादन गर्ने मेसिनलाई पेल्ट्रिक सेट भनिन्छ। यो सेटमा बिजुली उत्पादन गर्ने म्याग्नेटिक इन्डक्सन मोटर टर्बाइनमै जोडिएको हुन्छ। त्यसभन्दा ठूलो क्षमतामा बिजुली उत्पादन गर्दा टर्बाइन र म्याग्नेटिक इन्डक्सन मोटर छुट्टा– छुट्टै हुन्छन्।
बगिरहेको पानीको बहावमा आधारित 'रन अफ रिभर' प्रविधिका यस्ता साना आयोजनाले घरघरै बिजुली बाल्न सकिने उनले बताए।
'पहाड र हिमाली गाउँमा प्रशस्त पानीका स्रोत छन्,' तिवारीले भने, 'छरिएर बसेका ठाउँमा राष्ट्रिय प्रशारण लाइन पुर्याउन नसके पनि यसरी नै पेल्ट्रिक सेटबाट बिजुली बाल्न सकिन्छ।'
भौगोलिक कठिनाइ भएका पदमार्गमा पेल्ट्रिक सेट झनै प्रभावकारी हुने उनी बताउँछन्। यसका लागि शपानी चाहिँदैन। खर्च पनि ठूलो लाग्दैन। यस्ता आयोजनाले पर्यटकलाई अन्कन्टार पदमार्गमा पनि बिजुलीको उज्यालो दिन र चार्ज गर्न सहज हुन्छ।
सफा ऊर्जा भएकाले यसबाट वातावरणीय हानी हुँदैन। त्यसैले यसको प्रयोग बढाउनुपर्ने उनले बताए। तर सुरक्षाका लागि प्राविधिकको संलग्नतामै यो काम हुनुपर्ने उनी बताउँछन्।