संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गरेको छ।
अर्थमन्त्री युवराज खतिवडाले बिहीबार १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सदनमा प्रस्तुत गरेका छन्। आर्थिक वर्ष ०७७/७८ को बजेटको आकार यस आवको तुलनामा घटेको छ।
संघीय सरकारले ल्याएको करिब १५ खर्ब बजेटमा कर्णाली पनि समेटिएको छ। संघीय सरकारले कर्णालीका पुरानै आयोजनालाई निरन्तरता दिनेगरी बजेट विनियोजन गरेको छ। केन्द्र सरकारको बजेटमा कर्णाली प्रदेशभित्रका मुख्यगरी ९ वटा आयोजना समावेश भएका छन्।
स्वर्गकी अप्सराका रुपमा लिइने पर्यटकीय क्षेत्र राराको दीर्घकालीन विकासका लागि गुरुयोजना निर्माण, सुर्खेतमा बहुमुल्य पत्थर प्रशोधन उद्योग स्थापना, दैलेखमा पेट्रोलियम अन्वेषण केन्द्र स्थापना, जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्ने कुरा केन्द्र सरकारको बजेटमा समेटिएको छ।
यस्तै नलगाड जलविद्युत आयोजना निर्माणको कामलाई निरन्तरता, सुर्खेतमा रहेका बाढीपीडितलाई सुरक्षित आवास निर्माण, भेरी करिडोर आयोजनाको निरन्तरता, कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला र सुर्खेत–दैलेख सडक खण्डको स्तरोन्नति, कर्णाली करिडोर निर्माण, सुर्खेत विमानस्थललाई प्रादेशिक विमानस्थलका रुपमा विस्तार गर्ने बजेटमा उल्लेख छ।