भारतले कोरोना लकडाउनका कारण बन्द रेल सेवा फेरि सुरू गरेपछि १ लाखभन्दा बढी नेपाली स्वदेश भित्रिएका छन्।
भारतले वैशाख ३० देखि रेल सेवा फेरि सुरू गरेको हो। त्यसयता १ लाख १३ हजार नेपाली स्वदेश भित्रिएको कोभिड-१९ जोखिम व्यवस्थापन समिति (सिसिएमसी) स्रोतले बतायो। उनीहरू आफ्नै जिल्लामा क्वारेन्टाइन बसेका छन्।
'सीमा नाकामा सामान्य स्वास्थ्य परीक्षण त गरिएको छ, तर ठूलो संख्यामा आएकाले सबैको परीक्षण गर्न सकिएको छैन,' स्रोतले भन्यो।
भारतमा कोरोना भाइरस संक्रमित संख्या १ लाख ५० हजार नाघिसकेको छ भने मृतक संख्या ४ हजार ५ सयभन्दा बढी छ।
सुरूका दिनमा आरडिटी परीक्षण गरेर नेपाल आउन दिने भनिए पनि स्वदेश फर्किनेको भीडले सम्भव नभएको स्रोत बताउँछ।
'नेपाल आउनेहरूको सिमानामा आरडिटी परीक्षण पनि भएको छैन। त्यसलाई व्यवस्थित गर्ने योजना भर्खर सुरू हुँदैछ,' सिसिएमसी स्रोतले भन्यो, 'सिमानामा आउनेहरूका लागि क्वारेन्टाइन र घर पठाउने योजनासहितको प्रस्ताव सोमबार मन्त्रिपरिषदले अनुमोदन गरेको छ। अब व्यवस्थित हुन्छ कि भन्ने अपेक्षा गरेका छौं।'
सिसिएमसीले विदेशबाट फर्किनेलाई नेपालमा कसरी सुरक्षित व्यवस्थापन गर्ने भनेर योजना बनाएको थियो। त्यही योजनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेठ ७ गते ब्रिफिङ गरेको थियो। विदेशबाट नेपाली ल्याउनुभन्दा पहिला क्वारेन्टाइन क्षमता बढाउन प्रधानमन्त्रीले निर्देशन दिएका थिए।
सिसिएमसीले ३ लाख ५० हजार नेपाली भारतबाट फर्किन सक्ने अनुमान गरेको छ। तीमध्ये १५ प्रतिशतलाई संक्रमण हुनसक्ने उसको प्रक्षेपण छ।
सिसिएमसीले आगामी दुई महिना संक्रमण बढिरहने अनुमान गरेको छ। विभिन्न देशको संक्रमण ट्रेन्डका आधारमा यस्तो अनुमान गरिएको हो।