भारतबाट स्याङ्जाको वालिङ आएर क्वारेन्टिनमा बसेका २ जना युवकमा जेठ १३ गते कोरोना संक्रमण देखियो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएसँगै उनीहरुलाई जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा राखियो।
कोरोना भाइरसको संक्रमण नेपालमा फैलिएपछि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, काठमाडौंले प्रोटोकल जारी गरेको थियो। प्रोटोकलमा क्वारेन्टिनमा बसेकादेखि कोरोना संक्रमण देखिएका, संक्रमितलाई लक्षण देखिएका र नदेखिएकालाई छुट्टा–छुट्टै उपचार विधि उल्लेख छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले प्रोटोकल जारी गरेपनि देशका विभिन्न ठाउँमा देखिएका कोरोना संक्रमितलाई आयुर्वेदिक उपचार विधि अपनाइएको थिएन।
स्याङ्जामा भने कोरोना संक्रमण देखिएकै दिन जेठ १३ गतेदेखि नै प्रोटोकल अनुसार उपचार थालिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. शुभद्रा कार्कीले बताइन्।
‘महामारी शुरु भएपछि विभागले जारी गरेको प्रोटोकल अनुसार नै काम गरेका हौं’ उनले सेतोपाटीलाई भनिन्, ‘जिल्ला अस्पतालसँग समन्वय गरेरै हामी संक्रमितको उपचारमा लागेका छौं।’
स्याङ्जा जिल्ला अस्पतालमा अहिले ४ जना कोरोना संक्रमित छन्। उनीहरुलाई जिल्ला अस्पताल लगेकै दिनदेखि जडिबुटी ‘गुर्जो’को झोल खान दिएको उनले बताइन्। संक्रमितले अहिले विहान बेलुका खाली पेटमा गुर्जोको झोल खाने गरेका छन्।
अहिले स्थानीय जंगलबाटै गुर्जो खोजेर ल्याउने गरिएको छ। मोटो डाँठ भएको ५ सेन्टिमिटर गुर्जो काटेर साना साना टुक्रा बनाएर विरामीलाई दिइन्छ। विरामीले उक्त गुर्जो १६० मिलिलिटर पानीमा उमाल्छन्। उम्लँदा–उम्लँदै ४० मिलिलिटर भएपछि उक्त झोल पिउन सुझाव दिइएको शुभद्राले बताइन्।
यसका अलवा गुर्जोको धुलो तातोपानीमा २, ३ घण्टा भिजाएर राखेर पनि सेवन गर्न सकिने उनको भनाइ छ।
‘सकेसम्म गुर्जोको ताजा जुस नै निकालेर खुवाउन पाए अझै राम्रो हुन्थ्यो’ उनले भनिन्, ‘हामीसँग गुर्जोको रस निकाल्ने प्रविधि भएन।’
गुर्जोले रोग प्रतिरोधात्मक क्षमता बढाउने उनको भनाई छ। आयुर्वेदिक शिक्षामा रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीमा गुर्जो १ नम्बरमा पर्ने उनले दाबी गरिन्। गुर्जोका विषयमा संसारमा धेरै रिसर्च भएको र रोग प्रतिरोधी क्षमता बढाउने प्रमाणित भएको उनले बताइन्।
कोरोना भाइरसको औषधि वा खोप अहिलेसम्म पत्ता लागेको छैन। आफूहरुले पनि औषधि पत्ता लागेको भनेर नभनेको उनले बताइन्। ‘हामीले इम्युनिटी पावर बढाउन र दुरुस्त राख्न सक्यौं भने पनि चाँडै निको हुन सक्छौं’, उनले भनिन्, ‘गुर्जोले इम्युनिटी पावर बढाउँछ।’
गुर्जो सँगसँगै संक्रमितलाई आइसोलेसनमै भिडियो कन्फेरेन्स मार्फत योगा पनि सिकाउने गरिएको शुभद्राले बताइन्। आयुर्वेदिक शास्त्रमा योगा पनि उपचार विधि भएकाले संक्रमितलाई योगा सिकाइएको उनको भनाइ छ।
स्याङ्जाका कोरोना संक्रमित युवाहरु आइसोलेसनमा बसेको ७ दिनपछि पुन पिसिआर टेष्ट हुन्छ। गुर्जोको प्रभाव कति पर्यो भनेर भन्ने अवस्था भने अहिले नरहेको उनले बताइन्।
विरामीलाई गुर्जो खुवाइरहेकी शुभद्राले बिहीबार गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्मा लगायतको टोलीलाई समेत गुर्जो खुवाइन्। उनीहरु जिल्ला अस्पतालका अनुगमनमा गएका थिए ।
‘उहाँहरुले राम्रो भन्नुभएको छ, सबैले राम्रो भनेर प्रशंसा गरका छन्’ उनले सेतोपाटीलाई भनिन्, ‘यसले स्थानीय स्तरमै पाइने आयुर्वेदिक जडिबुटीको प्रयोग बढाउन सक्छ।’
आयुर्वेदिक र एलोप्याथी भनेर भेदभाव र मनमुटाव गर्न नहुने उनले बताइन्। ‘आयुर्वेदिक चिकित्सा प्रणाली छुट्टै चिकित्सा विज्ञान हो’ उनले भनिन्, ‘यसका आफ्नै सब्जेक्ट छ, रिसर्च छ, यसका आफ्नै सेक्टर छ।’ आयुर्वेदिक र एलोप्याथिक चिकित्साको गन्तव्य एउटै भएपनि बाटो मात्र फरक भएको उनले बताइन्।