जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत २ वर्षीया बालिकाको मृत्यु भएको छ ।
एक साताअघि भारतको दिल्लीबाट आएकी बुढीगंगा नगरपालिका-१ की ती बालिकाको आइतबार बिहान मृत्यु भएको हो।
बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालका प्रमुख रूपचन्द्र विश्वकर्माले जानकारी दिए।
‘अस्पताल ल्याउँदा उनी बेहोस थिइन्,’ उनले भने ।
चार दिनअघि बालिकाका आमाबुवाले उनलाई अस्पताल ल्याएका थिए।
कोरोना संक्रमणको आशंकामा मृतकको श्वाव परीक्षणका लागि १६ गते धनगढी पठाइएको थियो।
उनको कोरोना रिपोर्ट आएको छैन।
रिपोर्ट आएपछि शवलाई के गर्ने भन्ने विषयमा छलफल हुने विश्वकर्माले बताए।
बाजुरा जिल्ला अस्पतालमा १२ बेडको आइसोलेजन कक्ष बनाइएको छ। ती बालिकाका आमा र बुवा आइसोलेनमै छन्।
उनीहरूको पनि कोरोना परिक्षणको लागि स्वाब पठाइएको छ।