बन्दाबन्दीका कारण भारत तथा नेपालका विभिन्न क्षेत्रबाट प्रदेश भित्रने कर्णालीबासीका लागि दैनिक खानाको व्यवस्था गरिएको छ।
कर्णालीको प्रवेशद्वारका रुपमा रहेको सुर्खेतको छिन्चुमा घर फर्किनेहरुका लागि खानाको व्यवस्था गरिएको हो।
विभिन्न गैरसरकारी तथा सामुदायिक संस्थाहरुसँगको समन्वयमा कर्णाली प्रदेश सरकारले खानाको व्यवस्था गरेको हो।
प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषबाट आवश्यक खाद्यान्न व्यहोर्ने गरी खानाको व्यवस्थापन गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
विश्व खाद्य कार्यक्रम, युनिसेफ, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ भेरीगंगा, कोपिला भ्याली सेवा समाज, सुर्खेत सेसिस, वीरेन्द्रनगर महिला जेसिस, लायन्स क्लव लगायतका संस्थाहरुले यात्रुहरुलाई खाना खुवाउने कार्यमा सहयोग गरिरहेका छन्।
भारतबाट आउनेहरु बढ्दै गएको र लकडाउनका कारण यात्रा अवधिभर बाटोमा खाना खाने व्यवस्था नहुने हुँदा छिन्चुमा खाना खाने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
छिन्चुमा गाडी पुग्नेवित्तिकै प्याक गरिएको खाना गाडीभित्र दिने गरिएको छ। विभिन्न संस्थाहरुले खाना पकाउने तथा प्याक गर्ने कामका लागि स्वयम्सेवक खटाएको विश्व खाद्य कार्यक्रम कर्णाली प्रदेशका प्रमुख पूर्ण विकले जानकारी दिए।
उनका अनुसार यो कार्यक्रम १५ गतेदेखि सुरु भएको हो। शनिबार बेलुकासम्म ६ हजार ८२८ जना यात्रुलाई खाना दिइएको उनले जानकारी दिए।