कर्णाली प्रदेशको सुर्खेतमा एक जना बोल्न नसक्ने व्यक्ति कोरोना प्रभावित भनेर स्वास्थ्य मन्त्रालयले पुष्टि गर्यो। दोहोरो संवादमा समस्या आएपछि नाम, ठेगाना, परिचय खुल्न सकेको छैन।
'संक्रमित अन्दाजी ३५ वर्षका हुनुहुन्छ। सुर्खेत क्वारेन्टाइनमा हुनुहुन्छ रे,' राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका अध्यक्ष दिनेश श्रेष्ठले भने, 'हामीले सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखासँग कुरा गर्यौं। भिडिओ कम्युनिकेसनबाट केही गर्न सकिन्छ कि भनेर पहल गरिरहेका छौं।'
दिनेश करिब १० वर्षदेखि दोभाषेका रूपमा काम गरिरहेका छन्। नेपाल टेलिभिजनमा दिउँसो ४ बजेको समाचार बुलेटिनपछि उनी कोरोना संक्रमणको ताजा अवस्थाबारे जानकारी गराउँछन्।
उनीसँगै दोभाषे सागर सुवेदी पनि छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीले कोरोनाबारे अपडेट गराइरहेका बेला दिनेश र सागर छेउमा उभिएर हात हल्लाइरहेका हुन्छन्।
सांकेतिक भाषाबारे थाहै नभएका कोहीकोही सुरू सुरूमा त 'को पागल रहेछन्?' भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिन्थे। किन उनीहरू हात हल्लाइरहेका छन् भनेर मान्छेलाई कौतूहल हुन्थ्यो। यस्तोमा दिनेश र सागरले प्रतिक्रिया जनाउनुअघि नै अर्को बुझ्ने मान्छेको उत्तर आइसक्थ्यो, 'उहाँहरूले कान नसुन्ने व्यक्तिलाई सूचना दिइरहनुभएको छ।'
दोभाषे संघका अनुसार नेपालमा करिब ३० हजार व्यक्ति सांकेतिक भाषा प्रयोग गर्छन्। बोल्न र सुन्न नसक्नेलाई यसले सजिलो बनाएको छ। कोरोना महामारी र लकडाउन बेला संक्रमितहरूको संख्या र सरकारी निर्देशनबारे सूचना दिन यसले थप मद्दत गरेको छ।
दिनेशका अनुसार सुरूमा लकडाउन हुँदैछ भन्ने खबर नै धेरैले पाएनछन्। बाहिर निस्कन हुन्छ कि हुन्न, पसल कति बजे खुल्छ र कति बेला बन्द हुन्छ भन्ने उनीहरूलाई थाहै भएन। यस्तोमा कतिपय व्यक्ति घर फर्कन नपाएर अलपत्र परे।
लकडाउन बेला वडा र नगपालिकाहरूले राहत वितरण गरेको खबर पनि उनीहरूसम्म नपुगेर समस्या भयो।
'रेडियोबाट सूचना प्रवाह भइरहेको छ, तर उनीहरूले थाहा नपाउँदा सेवा-सुविधाबाट वञ्चित हुनुपर्यो। हामीले पछि वडासँग कुरा गरेर पहल गर्यौं,' दिनेशले भने, 'हाम्रो संघ र राष्ट्रिय बहिरा महासंघले राहत र रिचार्ज गरिदियौं। त्यसपछि थ्रिजी भिडिओ कल गर्न सजिलो भयो।'
कान नसुन्ने व्यक्तिहरूको पनि समान हक र सूचनाको पहुँच हुनुपर्छ भन्दै उनीहरूले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव लिएर गए। त्यसपछि चैत २६ बाट नेपाल टेलिभिजनमा सांकेतिक भाषामा सूचना प्रवाह गर्न थालियो।
मन्त्रालयलाई छेउमा हात हल्लाउँदै सूचना दिने व्यक्ति देखेर दर्शकहरूको ध्यान त्यतैतिर जाला कि भन्ने डर थियो। तर, यसबाट बोल्न र सुन्न नसक्नेहरूमा राम्रो सूचना प्रवाह हुन थालेपछि मन्त्रालयका अधिकारी ढुक्क भए। उनीहरूले राम्रै काम गरेछौं भन्ने महशुस गर्न थाले।
'कार्यक्रम गरेपछि सांकेतिक भाषा बुझ्नेहरू सूचना पाएर खुसी हुनुहुन्छ। कति त हामीलाई कुरेर बस्नुहुन्छ रे,' सागरले भने, 'सबभन्दा राम्रो त, सांकेतिक भाषाको जनचेतना अहिले व्यापक भएको छ। राम्रो काम भनेर धेरैले प्रतिक्रिया दिइरहनुभएको छ। यसले हामीलाई हौसला मिलेको छ।'
सागर करिब पाँच वर्षदेखि दोभाषेका रूपमा काम गरिरहेका छन्। आफ्नै आफन्त बोल्न र सुन्न नसक्ने भएपछि उनले कुराकानीको माध्यमका लागि सांकेतिक भाषा सिकेका हुन्। पछि यसैबाट अवसर पाउँदै गए।
उनले करिब तीन वर्ष बाग्लुङको धौलागिरि माध्यमिक विधालयमा पढाए। अहिले काठमाडौंमै बसेर काम गरिरहेका छन्। राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका कार्यकारी सदस्य पनि हुन्।
दिनेशको भने महेन्द्ररत्न क्याम्पस पढ्दा कान नसुन्ने साथीहरूसँग भेट भएछ। उनीहरूसँग नियमित संवाद गर्नुपर्थ्यो। सजिलो होस् भनेर चार महिनाको तालिम लिए। पछि त्यसैलाई व्यावसायिक बनाए। उनले यसअघि 'एबिसी' र 'प्राइम' टेलिभिजनमा काम गरिसकेका छन्।
यी दुवैलाई स्वास्थ मन्त्रालयले 'कर्मचारी' कार्ड दिएको छ। लकडाउन बेला बाटोमा त्यही कार्ड देखाएर मन्त्रालय पुग्छन् र सूचना दिन्छन्।
सुरूमा सामाजिक सेवाका रूपमा काम गरेको भए पनि हाल अपांग महासंघ, बहिरा महासंघ लगायतबाट पारिश्रमिकको कुरा उठिरहेको उनीहरूले बताए।
सागरका अनुसार नेपालमा उनीहरूजस्तै सक्रिय दोभाषे करिब २० जना छन्। संघले सांकेतिक भाषाको तालिम र नयाँ दोभाषे उत्पादन गरिरहेको छ। दोभाषेहरूको लाइसेन्स नभएकाले व्यावसायिक हुन नसकेको उनीहरु बताउँछन्।
नेपालमा ४ हजार ७ सय शब्द मात्र सांकेतीकरण गरिएको छ। सांकेतीकरण नगरिएका शब्द बताउन केही समस्या हुन्छ। त्यस्तो अवस्थामा उनीहरू मूलभाव बताउँछन्।
'सांकेतिक भाषाका लागि बोल्नेको बोली प्रस्ट हुनुपर्यो। विस्तारै बोल्यो भने सजिलो हुन्छ। अरू त धेरै समस्या हुन्न,' उनीहरूले भने।