गत जेठ ७ गते महानगरीय प्रहरी वृत्त, कालीमाटीका दुई जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि वृत्त सिल गरियो।
सिल गरिएको वृत्तभित्रै २ सयभन्दा बढी प्रहरी १०-११ दिन वृत्तभित्रै आइसोलेसनमा बसे। दुई जनामा संक्रमण देखिएपछि वृत्तभित्रका सबै अधिकारीहरू ‘जोखिम’मा परे।
त्यही जोखिमलाई न्यूनीकरण गर्न तथा काममा बाधा नपुर्याउन भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरले सामुदायिक/सरकारी विद्यालय र कार्यालयको भवन प्रयोग गर्न थालेको छ।
भक्तपुर महानगरीय प्रहरी परिसरमातहत पर्ने प्राय: सबै कार्यालयहरूका एक तिहाइ प्रहरी सामुदायिक विद्यालयमा बस्न थालेका छन्।
'अस्ति कालीमाटीका दुई जनामा संक्रमण देखिएपछि सबै प्रहरी आइसोलेसनमा बस्न पर्ने भयो,' महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डिएसपी दीपक गिरीले भने,'त्यसैलाई मध्यनजर गर्दै हामीले माथिल्लो तहमा छलफल गरेर सामुदायिक तथा सरकारी भवन प्रयोग गरेर बस्न थालेका हौं।'
भक्तपुर परिसरमा रहेका प्रहरी अधिकारीहरू दुई ठाँउमा बसेका छन्।
उनका अनुसार विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालयमा २८ जना र शारदा माध्यमिक विद्यालयमा २२ जनालाई राखिएको छ।
'एउटै कम्पाउण्डमा बस्यो भने सबैमा जोखिम हुने भयो,' उनले भने,'त्यसैले छुट्टै बसेर खाने बस्ने त्यहीँ मिलाएर बस्न थालिएको हो।'
परिसरमा करिब १६० जना प्रहरी छन्। अहिले ती सबैलाई ग्रुप बनाएर छुट्टाछुट्टै ठाउँमा राखिएको छ।
त्यस्तै, परिसरमातहत पर्ने दुबै वृत्त(जगाती र ठिमी) बाट पनि प्रहरी अधिकारीलाई छुट्याइएको छ भने वृत्त मातहतका प्रभागबाट पनि आधा-आधा गरी अलग गरिएको छ।
महानगरीय प्रहरी वृत्त जगातीमा डेढ हप्ताअघिदेखि ४२ जना आदर्श आजाद स्कुलमा बस्दै आएका छन्।
त्यस्तै, वृत्तमा बाँकी ९० देखि १०० जना बाँकी छन्। कसैमा संक्रमण भइहाले पनि अर्को टोलीलाई खटाउन सहज हुने हिसाबले छुट्टाइएको वृत्तका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिए।
‘महानगरीय प्रहरी वृत्त ठिमीले १५ जनालाई अर्को जनसिद्धीकाली माध्यमिक विद्यालयमा राखिएको डिएसपी ऋषिराज कँडेलले जानकारी दिए। त्यसअन्तर्गत पर्ने प्रभागबाट पनि प्रहरी अधिकारीलाई छुट्टाएर राखिएको छ’, उनले भने।
काठमाडौं परिसरले पनि सुरक्षाका लागि सामुदायिक विद्यालयको भवनको प्रयोग गर्न थालेको प्रवक्ता डिएसपी राजकुमार केसीले बताए।
तर कालीमाटी वृत्तमा भने त्यहाँ बसेका सम्पूर्ण प्रहरी अधिकारीलाई त्यहीँ राखिएको प्रमुख रूगम कुँवरले जानकारी दिए।