सरकारी अस्पतालहरूले कोरोनाभाइरसको परीक्षण र उपचारसँगै नियमित सेवा पनि जारी राखेका छन्।
स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारले सुविधा दिएको बेला निजी अस्पतालका स्वास्थ्यकर्मी भने नियमित तलबसमेत नपाउने अवस्थामा पुगेका छन्।
पोखरा-३० मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालका ४ जना नर्स अहिले बेतलबी बिदामा छन्। अस्पताल प्रशासनले भने उनीहरूले बेतलबी बिदामा बस्न लिखित निवेदन दिएका कारण छुट्टी दिएको जनाएको छ।
तर, अस्पतालमा कार्यरत एक नर्सले काम गर्न आउँछुभन्दा आउन नदिएको बताइन्।
‘असारपछि आउनुहोला भनेर फर्काइदिनुभयो,' उनले भनिन्,'अस्पतालमा काम गर्न नपाएपछि घरमै बस्नुपरेको छ।’
अस्पतालका प्रशासन प्रमुख केदारनाथ लामिछानेले भने नर्सहरूकै सल्लाहमा बेतलबी बिदामा राखिएको बताए।
अस्पतालमा अहिले १ जना एबिजिपी डाक्टर, ३ जना मेडिकल अफिसर, ६ जना स्टाफ नर्ससहित ३१ जना कार्यरत छन्।
३ जना स्टाफ नर्सले भने कोरोना महामारी फैलनुअघि जागिर नै छाडेका थिए। उनीहरूको ठाउँमा नयाँ भर्ना लिने समयमै कोरोना महामारी फैलिएका कारण भर्ना नलिएको अस्पताल प्रशासनले जनाएको छ।
अहिले कार्यरत ६ जनामध्ये अस्पताल चलाउन २ जना नर्स राखिएको छ भने बाँकी ४ जनालाई बेतलबी बिदामा राखिएको छ।
प्रशासन प्रमुख लामिछानेले तलब दिनसक्ने अवस्था नरहेकाले बेतलबी बिदामा राख्नु परेको बताए।
‘हामीलाई कोरोनाभाइरस आउनुअघि पनि तलब खुवाउन गाह्रो थियो,' उनले सेतोपाटीसँग भने, 'अहिले त झन् बिरामी भर्ना नलिएका कारण झनै गाह्रो छ।’
कोरोना भाइरस रोकथामको सुरूवातमा गण्डकी प्रदेशले यही अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो।
अहिले भने विशिष्टिकृत सरूवा रोग नियन्त्रण अस्पताल बनाउन प्रदेशले प्रस्ताव गरेको छ। उक्त प्रस्तावमा अस्पताल सञ्चालक समिति सहमत भएको छ। लिखित सम्झौता भने नभएको प्रशासन प्रमुख लामिछानेले बताए।
अस्पतालका नर्सले मात्र होइन, निजी क्षेत्रले चलाएका नर्सिङ कलेजका शिक्षकले समेत तलब पाउन सकेका छैनन्। पोखराकै फेवासिटी नर्सिङ कलेजले वैशाखदेखि ५० प्रतिशतमात्र तलब दिने निर्णय गरेका कलेजका एक शिक्षिकाले बताइन्।
नर्सिङ कलेजहरूले विद्यार्थीसँग शुल्क भने भर्ना भएलगत्तै वार्षिक रूपमा एकमुष्ट लिने गरेका छन्।
‘फेवासिटी अस्पताल र नर्सिङ कलेजको बोर्ड बैठकले नै निर्णय गरेको हो,' ती शिक्षिकाले भनिन्, 'अहिले काम पनि छैन त्यही भएर तलब कटौती गरेको होला।’
कलेजका शिक्षकले भने अनलाइनमार्फत नर्सिङका विद्यार्थीलाई पढाउँदै आएका छन्।
फेवासिटी अस्पताल र नर्सिङ कलेजका बोर्ड अफ डाइरेक्टर दिनेशबाबु खड्काले अहिले पढाइ नभएका कारण तलब कटौती गरेको बताए।
उनले फेवासिटी अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायत कर्मचारीको १५ प्रतिशत तलब कटौती गरिएको जानकारी दिए।
‘अहिले काम पनि छैन, पैसा उठ्न सकेको छैन,' उनले सेतोपाटीसँग भने, 'तलब खुवाउने पैसा नभएकै कारण काटिएको हो।'
अस्पतालका कर्मचारी र नर्सिङ शिक्षकको तलब कटौती गर्न उनीहरूसँग सहमति गरेको उनको दाबी छ।
लकडाउन खुलेपछि अहिले कटौती गरेको तलब भुक्तानी दिने निर्णय गरेको उनले बताए।
‘लकडाउन खुलेर जनजीवन सामान्य भएपछि हामी अहिले काटिएको तलब भुक्तानी गर्दै जान्छौं,' उनले भने, 'अहिले अस्पतालले कर्मचारीसँग ऋण लिए जस्तो मात्र हो ।’
अस्पतालका कर्मचारीलाई बिदा बस्न भने पनि कसैले नमानेको उनले बताए।
‘काममा लगाउनुभयो भने यस्तो बेला अझै धेरै काम गर्छौं तर बिदा बस्दैनौं,' अस्पतालका कर्मचारीले यस्तो भनेको खड्काको दाबी छ। 'हामीले दबाब दिन पनि मिलेन,’ उनले भने।
तलब नपाउँदा सबैभन्दा बढी मर्का स्टाफ नर्सलाई परेको नर्सिङ एसोसिएसन अफ नेपाल, कास्कीकी अध्यक्ष क्षेत्रकुमारी रोकाको भनाइ छ।
अहिले पोखरामा ८ वटा निजी नर्सिङ कलेज छन् भने ३० वटाभन्दा बढी निजी तथा सामुदायिक अस्पताल सञ्चालनमा छन्। पोखरामा रहेका सरकारी र निजी अस्पतालमा हाल १२ सय नर्स कार्यरत रहेको नर्सिङ एसोसिएसनले जनाएको छ।
नर्सलाई परेको मर्काबारे खुलेर बोल्न सक्ने अवस्था नै नरहेको रोकाले बताइन्। उनका अनुसार केही वर्षअघि आफ्नो अधिकारबारे बोल्दा नर्सहरूलाई जागिरबाटै निकाल्ने र अरू अस्पतालमा पनि जागिर खान नसक्ने अवस्था सिर्जना भएको थियो।
पोखरामा ६ वर्षअघि एउटा अस्पतालमा कार्यरत १५ जना नर्सले तलब पाएनन्।
उनीहरूले नर्सिङ एसोसिएसनमा जानकारी गराएपछि एसोसिएसनले अस्पताल प्रशासनको ध्यानाकर्षण गरायो। तर अस्पतालले तलब दिएन। नर्सहरूले आन्दोलन स्वरूप सामुहिक राजीनामा दिए।
जब नर्सले सामुहिक राजीनामा दिए, अस्पतालले बाहिरबाटै अरू नर्स र आफन्त ल्याएर अस्पताल चलाए।
नर्सहरूको राजीनामा स्वीकृत गर्ने भनेपछि केही नर्स अस्पताल फर्किए, केहीले जागिर गुमाए।
यो घटनापश्चात पोखरामा नर्सहरूले खुलेर बोल्न सक्ने अवस्था नभएको नर्सिङ एसोसिएसन कास्की अध्यक्ष रोकाले बताइन्।
उनका अनुसार एउटा अस्पतालबाट जागिर छोड्न बाध्य भएका नर्सले अर्को अस्पतालमा पनि जागिर नपाउने अवस्था छ।
अस्पताल सञ्चालकहरूको समूहले नै उनीहरूलाई जागिर नदिने गरेको उनले बताइन्।
'जागिर नदिनेमात्र होइन अस्पतालहरूले अघिपछि पनि नर्सलाई सरकारले तोकेअनुसार न्युनतम तलब समेत दिँदैनन्,' उनले भनिन्, 'सामान्य अवस्थामा न्युनतम तलब नदिने अस्पतालले अहिले कोरोनाको बहानामा तलब नै नदिने र तलब कटौती गर्ने गरेको उनले बताइन्।'
अस्पतालहरूले नर्सलाई तलब नदिएको घटना आएको भन्दै एसोसिएसनले अस्पताल प्रशासनहरूलाई जेठ ६ गते ध्यानाकर्षण पत्र पठाएको छ।
पत्रमा कोरोना महामारीका बेला नर्सिङ स्टाफलाई बेतलबी बिदामा बस्न लगाएको र पारिश्रमिक नदिई काममा खटाएको उल्लेख गरेको छ।
उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ- महामारीका बेला तलब कटौती र बेतलबी विदा दिनु अमानवीय कार्य हो। यस्तो कार्य तत्काल बन्द गर्न, समयमै न्युनतम तलब दिएर नर्सको मनोबल बनाउन र सुरक्षाका लागि आवश्यक पिपिई लगायत सुविधा सहितको पारिश्रमिक उपलब्ध गराउन अस्पताल सञ्चालकहरूसँग हाम्रो माग छ।