ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित सेन्ट जेभियर्स स्कुलले भोगचलन गर्दै आएको केशरमहल भवनलाई क्वारेन्टिन बनाइएको छ।
कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भइरहेको भन्दै गोदावरी नगरपालिका वडा नम्बर ३ ले स्कुलले भोगचलन गर्दै आएको शिक्षक/कर्मचारी आवासगृह रहेको भवनलाई क्वारेन्टिनको रूपमा सञ्चालन गरिएको हो।
वडाले मंगलबार कर्मचारी आवास गृहमा क्वारेन्टाइन बनाएपछि स्कुलले सूचना जारी गर्दै विरोध गरेको छ।
स्कुलका फादर सामुएल सिमिक एसजेले आवासगृहमा वडा कार्यालयले जबरजस्ती क्वारेन्टिन सञ्चालनमा ल्याएको आरोप लगाए।
गुठी सञ्चालन समिति तथा विद्यालय व्यवस्थापन समितिका सदस्य र अभिभावक प्रतिनिधिबीच यसअघि छलफल हुँदा स्कुलमा क्वारेन्टिन राख्न नदिने निर्णय भए पनि वडा कार्यालयले क्वारेन्टिन राखेको उनले बताए।
‘स्कुलमा क्वारेन्टिन राख्दा अवोध बालबालिका, विद्यार्थी, अभिभावक, शिक्षक तथा अन्य कर्मचारीमा गहिरो मनोवैज्ञानिक त्रास र नकारात्मक छाप दीर्घकालसम्म रहनेछ,’ उनले भनेका छन्, ‘निकट भविष्यमै एसइई र कक्षा १२ को परीक्षा चलाउनुपर्ने हुँदा क्वारेन्टिनका लागि स्कुल उपलब्ध नगराउने निर्णय गरिएको हो।’
उक्त जानकारी वडामा दिए पनि वडाले अटेरी गर्दै ताला तोडेर जबरजस्ती क्वारेन्टिन सञ्चालन गरेको स्कुलको दाबी छ।
‘७० वर्षदेखि रहँदै आएको केशरमहल शिक्षक, कर्मचारी आवास गृहका लागि भोगचलनमा छ,’ उनले भने, ‘भवन वरपरका जमिन अतिक्रमित हुँदा स्कुलले उच्च अदालत पाटनमा मुद्दा दायर दिँदा यथास्थितिमा राख्नू भन्ने आदेश दिएको छ।’
स्कुलले दिएको जानकारीअनुसार २०७६ चैत २ मा पाटन उच्च अदालतले स्कुलले भोगचलन गर्दै आएको जग्गा यथास्थितिमा राख्नू, हस्तक्षेप नगर्न/नगराउन आदेश दिएको छ।
‘अदालतको आदेश र स्कुलको सहमतिविपरीत वडाले जबरजस्त रूपमा क्वारेन्टिन बनाएकोमा हाम्रो असहमति छ,’ फादरले अभिभावकलाई दिएको जानकारीमा उल्लेख गरेका छन्।
उनका अनुसार २०३१ साल मंसिर २६ गते सरकारले दुई सय ३९ रोपनी जग्गा स्कुललाई भोगचलनको अधिकारसहित दिएको थियो।
स्कुलले भोगचलन गरेकोमध्ये २५ रोपनी जग्गामा संघीय सरकारले सभाहल निर्माण गरिरहेको छ।
करिब एक हजारभन्दा बढी विद्यार्थी पढ्ने यो विद्यालयले भोगचलन गरेको जग्गा लामो समयदेखि विवादित छ।
गोदावरी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बालमुकुन्द घिमिरेले सेतोपाटीसँग कुराकानी गर्दै केशरमहल भवनलाई क्वारेन्टिन बनाएको स्वीकारे।
‘स्कुलभन्दा करिब चार सय मिटर परको केशरमहलमा क्वारेन्टिन बनाएका हौं। अन्यत्र क्वारेन्टिन बनाउने ठाउँ पनि फेला पारेनौं,’ उनले भने।
स्कुललाई उक्त जग्गा भोगचलनका लागि भन्दा पनि २०३३ सालमा वन राज्यमन्त्रीले बुट्यान संरक्षण गर्न सक्ने अधिकार दिएको उनले बताए।
‘२०३३ सालमा वन राज्यमन्त्रीले बेवारिसे अवस्थामा रहेको केशरमहललगायत ठाउँ सेन्ट जेभियर्स स्कुलको संरक्षणमा (बोट बुट्यान संरक्षण गर्न भन्ने शब्द छ) रहने निर्णय गरेका रहेछन्,’ वडाध्यक्ष घिमिरेले भने।
उक्त स्कुल गुठीमा दर्ता रहेको समेत उनले बताए।
‘स्कुलमा क्वारेन्टिन बनाइयो भनेर प्रचार गरेका रहेछन्,’ उनले भने, ‘त्यस्तो होइन। आवास गृह रहेको केशरमहलमा क्वारेन्टिन बनाएका हौं।’
वडाध्यक्ष घिमिरेले केशरमहलमा वडा कार्यालय राख्न डेढ वर्षअघि नै सहमति भइसकेकोले अहिले अनेक बहानामा विवाद गर्न खोज्नुको अर्थ नहुने बताए।
‘सांसद नवराज सिलवाल, प्रदेश सांसद लालकुमारी पुन, गोदावरीका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, म र स्कुलका प्रतिनिधि बसेर अस्थायी रूपमा केशरमहल दिनुपर्यो भनेका थियौं,’ उनले भने, ‘वडा कार्यालयमा स्वास्थ्यको कार्यालय पनि रहेकोले ठाउँ अभाव छ। त्यसैले वडा कार्यालय केशरमहलमा सार्न खोजेका हौं।’
त्यसबेला भएको छलफलमा स्कुलले केशरमहल वडालाई दिन तयार रहेको बताएपछि नगरपालिकाको खर्चमा रङ लगाएको र बत्ती जडान गरेको उनले बताए।
‘त्यसबेला उहाँहरूले शिक्षक/कर्मचारीलाई आवास गृह रहेको केशरमहलबाट हटाउन समय लाग्छ। केही समय दिनुस् भनेर छाडेका थियौं,’ उनले भने, ‘तर स्कुलले छाडेन। म दिनदिनै केशरमहल छाड्नुपर्यो भनेर कराउने, उनीहरू छाड्दिनँ भन्ने अनि विवाद भयो।’
उनले सोमबार स्कुलका फादरलाई भेटेर केशरमहल खाली गरिदिन आग्रह गरे पनि भोलिपल्टसम्म खाली नभएको अवस्थामा तत्कालै क्वारेन्टिन बनाइएको बताए।
‘मैले आवास गृह केशरमहलबाट हटाइदिनुपर्यो भनेर फादरलाई भनेको उहाँले कुनै हालतमा दिन्नँ भन्नुभयो,’ उनले भने, ‘हामीले हिजै क्वारेन्टिन बनाएर दुई जना राखेका छौं।’
उनले केशरमहल अब स्कुलले नभई वडा कार्यालयले सञ्चालन गर्छ भन्ने संकेत स्वरूप क्वारेन्टिन बनाएर मानिस राखिएको बताए।
‘जमिन भोगचलन गरिरहेको छ। राजस्व पनि तिर्दैन। तिरोतारो केही छैन। कसले भोगचलन गर्न दिएको कागज छैन। स्कुलले सबै गोदावरी मेरो भन्नेजस्तो प्रवृत्तिले यहाँका जनतालाई असह्य भएको छ,’ उनले भने।
स्कुलका भाइस प्रिन्सिपल सुवर्ण केसीले सेतोपाटीसँग कुराकानी गर्दै केशरमहलमा तीन परिवार बस्ने बताए।
‘तीन जनाको परिवार आवास गृहमा बस्नुहुन्छ। त्यही भवनको तल्लो तलामा स्कुलको सहमतिविपरीत क्वारेन्टिन बनाइएको छ,’ उनले भने।