यिङ–यिङ र ले–लेबीच सम्भोग नभएको लगभग दस वर्ष नाघेको थियो।
हङकङ 'ओसन पार्क' चिडियाखानाका यी पान्डा जोडीले कोरोना महामारीपछिको लकडाउनमा लसपस गर्ने समय पाए। सायद दिनरात पछ्याइरहने सयौं जोडी मानव–आँखा छलेर यिनले आफ्नो निम्ति सुटुक्क समय निकाल्नै भ्याएका थिएनन्। लकडाउन त्यो समय बनेर आयो।
नेपालमा पनि लकडाउन भएको दुई महिना नाघिसक्यो। जावलाखेलस्थित चिडियाखाना त लकडाउनको पाँच दिनअघिबाटै बन्द भएको थियो। हाम्रा जनावरहरूले लकडाउनमा ती पान्डाजस्तै समय पाए कि? वा, हामी मान्छेलाई 'मिस' गरेर न्यास्रिएका छन्?
यो अनुभव गर्न मलाई चिडियाखानै पुग्न मन थियो। तर, रेखदेखको जिम्मेवारी सम्हालेका राधाकृष्ण घर्तीले नमिल्ने बताएपछि फोनवार्तामै चित्त बुझाउनुपर्यो।
'कोरोना महामारीमा हामीले पत्रकार त के, अफिसका केही स्टाफबाहेक अरू कसैलाई छिर्न दिएका छैनौं,' उनले भने।
कोरोनाले मान्छे मात्र होइन, जनावरलाई पनि सास्ती छ। अघिल्लो महिना अमेरिकास्थित ब्रोन्स चिडियाघरमा ४ वर्षको बाघमा यो भाइरस देखापर्यो। त्यसैले पनि चिडियाघरसम्म कोरोना नआओस् भन्नेमा सचेत रहँदै सावधानी अपनाएको घर्तीले बताए।
अहिले चिडियाखानामा २० जनाको समूह छ। उनीहरूले नै जनावर रेखदेखदेखि दानापानी खुवाउँछन्। अरू बेला कर्मचारी नै करिब ६५ जना हुन्थे।
कोरोना फैलिन नपाओस् भनेर जनावरलाई खुवाउने दानापानी, माछामासु र फलफूल गेटबाट भित्रिनुअघि नै औषधि छरिन्छ। त्यसलाई धोइपखाली केही समय राखेपछि बल्ल जनावरसम्म पुग्छ। अरू समय स्टकमा आहार नराखिने भए पनि लकडाउनको समय राख्नुपरेको घर्तीले जानकारी दिए।
यसबाहेक बाटोमा चुना छर्किनेदेखि एक दिन बिराएर सरसफाइ गरिन्छ। पशु चिकित्सक चिडियाघरभित्रै भएकाले जनावरको स्वास्थ्य रेखदेखका लागि बाहिरबाट कोही जानु पर्दैन।
दैनिकजसो चिडियाखानामा समय बिताउँदा घर्तीले लकडाउनबीच जनावरमा आएको परिवर्तन राम्ररी महशुस गर्न पाएका छन्। सधैं मान्छेको हुल देखिरहने जनावरमा दुई महिनाको लकडाउनले के–कस्तो असर देखिएछ त?
'दैनिक आहारबाहेक जनावरहरूलाई मान्छेले दिएको खाने बानी परेको हुन्छ। त्यसरी खान पाउँदा, मान्छेसँग झ्याम्मिन पाउँदा उनीहरू रमाउँथे। त्यो अहिले मिस गरिरहेका छन्। न्यास्रिएका छन्,' घर्तीले भने, 'अहिले त हामीले दिएको मात्रै खाने हो। बाहिरको खान पाउँदैनन्।'
त्यही भएर जनावरहरूले बाहिरको मान्छे आइदिए हुन्थ्यो जस्तो व्यवहार देखाउन थालेको उनले बताए।
'झोक्राएर बस्छन् र कसैलाई पर्खेजस्तो फलामे बारबाट परपर हेर्छन्,' उनले भने, 'हामी पुग्दा पनि झस्केजस्तो गरी असामान्य व्यवहार देखाउँछन्।'
चिडियाखानामा बाघ, चितुवा, लियोपार्ड क्याट, सिभेट, उल्लु लगायत करिब १५ रात्रिचर छन्। यिनीहरू रातमा सक्रिय हुने जनावर हुन्। बाघहरू दिनभरि सुतेर राति सिकार गर्न निस्कन्छन्। चिडियाखानामा आहार दिइने भएकाले सिकारमा निस्कनु पर्दैन। तर, दिनभरि अरूले झट्ट नदेखिने ठाउँमा लुकेर आराम गरिरहेका हुन्थे।
'अहिले यी जनावरको गतिविधि दिउँसै पनि देखिन थालेको छ। पहिले मान्छे धेरै देखेर तर्सन्थे होलान्, अहिले शान्त वातावरण पाएर दिउँसो यताउति गरेका हुन सक्छन्,' घर्तीले विस्तार लगाए।
जावलाखेल चिडियाखाना करिब ६ हेक्टरमा फैलिएको छ। यहाँ ३३ प्रजातिका स्तनधारी, २८६ घस्रने जीव, १७ माछा, ५५ प्रजातिका चरा लगायत करिब १ हजार ५६ संख्यामा जनावर छन्।
यी जनावरहरू जंगल, राष्ट्रिय निकुञ्ज लगायतबाट चिडियाखानासम्म आइपुग्दा नै उनीहरूको व्यवहारमा परिवर्तन देखिने क्रम सुरू भइसकेको हुन्छ। 'बोलाउँदा आउने, स्टाफहरू आउँदा हेर्ने, कुन बेला खाना दिन्छ जस्तो गर्ने लगायत परिवर्तन जंगलबाट यहाँ आएपछि नै देखिन्छन्,' घर्तीले भने।
अन्य जनावरलाई बिहान १० देखि ११ बजेसम्म आहार दिइसकिन्छ। बाघलाई भने दिउँसो ३-४ बजे दिइन्छ। यो उनीहरू सिकारमा निस्कने समय हो।
यो चिडियाखाना सन् १९३२ मा राणा प्रधानमन्त्री जुद्धशमशेरले निजी चिडियाघरका रूपमा स्थापना गरेका थिए। पछि १९५६ मा सार्वजनिक प्रयोगमा ल्याइयो। घर्ती यहाँ काम गर्न थालेको २०४४ सालदेखि हो। उनले यसबीच यति लामो समय चिडियाखाना बन्द भएको देखेका छैनन्।
'दसैं-तिहारमा पनि खुल्ने चिडियाखाना कोरोनाले बन्द गरायो,' उनले भने, 'यो त एक हिसाबले इतिहासै भयो।'
२०४६ सालतिर चिडियाखाना साताको एक दिन बन्द गर्ने कुरा आएछ। सबैको सहमतिमा सोमबार बन्द गर्ने निर्णय भयो। तर, एक दिन बन्द गर्नुको असर चिडियाखानाको आयश्रोतमा देखियो।
यहाँ दैनिक ४ देखि ६ हजार मान्छे आउँछन्। शनिबार त १० हजारसम्म पुगेको रेकर्ड छ। एक दिनले पनि धेरै असर पुग्ने देखिएपछि दुई–चार वर्षको अन्तरालमा सातादिनै खुल्न थाल्यो।
'चिडियाखाना भनेको आफैं कमाएर खाने संस्था हो। हामीलाई सरकारी निकाय कसैले सहयोग गर्दैनन्। हाम्रो आयश्रोत नै घट्ने भएपछि हरेक दिन खोलियो,' घर्तीले भने, 'अहिले लकडाउनमा त झन् हामी जिरो ब्यालेन्सको अवस्थामा छौं।'
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी