सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज भएका छन्।
स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टिनमा राख्न मिल्ने व्यवस्था अनुसार अस्पतालले दिउँसो डिस्चार्ज गरेको हो।
यसरी डिस्चार्ज हुनेमा अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० र २७ वर्षीय पुरुष तथा वडा नम्वर २ का २० र २२ वर्षीय पुरुष छन्।
अस्पतालबाट पठाइएका उनीहरुलाई घरसम्म पुग्न भने समस्या भयाे। दिनभर धनगढीमा पानी परेकाले अस्पताल बाहिर भिज्दै ३ घण्टा पर्खेका उनीहरु घर जान गाडी नपाएपछि समस्यामा परे।
आफ्नो गाउँपालिकाका ४ जना संक्रमितलाई लिन एम्बुलेन्स पठाइएको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले बताइन्। पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्सलाई ६५ जनाको श्वाव संकलन गरेर धनगढी पठाइएको चन्दले जानकारी दिइन्।
उनले भनिन् ‘एम्बुलेन्स भोलि धनगढी पुग्छ र त्यहाँबाट उनीहरुलाई बैतडी ल्याउने कुरा भएको छ। आज उनीहरु अस्पतालमै रहन्छन् हामीले अस्पतालसँग कुरा गरिसकेका छौँ।’
एम्बुलेन्स धनगढी पुग्न कम्तीमा १० घण्टा लाग्ने उनले बताइन्। एम्बुलेन्स आउन ढिलाई भएपछि साँझ बजारसम्म पुगेर पर्खेका ६ जना संक्रमितलाई पुनः सेती प्रादेशिक अस्पतालमा नै राखिएको छ।
सम्वन्धित स्थानीय तहले जिल्लाबाट एम्वुलेन्स पठाउन ढिलाई गरेपछि अस्पताल परिसरबाट हिँडेरै बजारसम्म पुगेका उनीहरुलाई पुन अस्पतालमा ल्याइएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
उनीहरुलाई भोलिसम्मका लागि अस्पतालमा राखिने छ। प्रादेशिक अस्पतालमा यसअघि कोरानाबाट मुक्त भएकालाई सम्वन्धित स्थानीय तहको समन्वयमा एम्बुलेन्सबाट घर पठाउने गरिन्थ्यो।
सूचना अधिकारी श्रेष्ठले स्थानीय तहले आजै एम्बुलेन्स पठाउने भनेकाले डिस्चार्ज गरिएको बताए। अछामको मेल्लेख गाउँपालिकाले पनि भोलि नै एम्बुलेन्स धनगढी पुग्ने बताएको छ।