स्याङ्जाका गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब लिलावल्लभ भण्डारी आइतबार बिहानै कार्यालय जान हिँडे।
घरबाट साढे ७ बजेतिर निस्केका उनी चप्पल लगाएर झोला बोकेर गएका थिए।
बाटोमा भेटिएका गाउँलेल ‘आज त चाँडै जान लाग्नुभयो नि सर’ भनेर सोधे।
उनले जवाफमा ‘आज चाँडै जानुछ’ भने। तर उनी कार्यालय पुगेनन्। बिहान निस्कँदा १०-११ बजे खाना खान घर आउँथे। आइतबार उनी खाना खान पनि आएनन्। श्रीमती र छिमेकमा उनी खाना खान नआएको भन्दै खोजे।
गाउँमा नभएको थाहा भएपछि श्रीमतीले कार्यालयमा फोन गरिन्। उनी कार्यालयमा पनि नआएको जवाफ आयो।
त्यसपछि उनको परिवारलाई गल्याङ २ का वडाध्यक्ष इवप्रसाद कर्माचार्यलाई खबर गरे। उनीहरूले गाउँमा खोजतलास गरे, तर भेट्टाएनन्।
वडाध्यक्ष आचार्यले व्यापक रूपमा खोजी गर्न र नभेटाए प्रहरीलाई खबर गर्नुपर्ने बताए। खोजी गर्दै जाँदा उनकै घरबाट झन्डै ५ सय मिटर उत्तरतर्फ नाम्लोमा झुण्डिएको अवस्थामा उनको शव फेला पर्यो । आइतरबार साँझ ५ बजतिर झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरी चौकी गल्याङ र इलाका प्रहरी कार्यालय वालिङका प्रहरी अधिकृतको टोली घटनास्थलमा पुगे।
डोरीमा झुण्डिएको अवस्थामा देखिएका स्वास्थ्य प्रमुख भण्डारीको शव प्रहरीले निकाल्यो। प्राथमिक स्वास्थ्य चौकी वालिङमा लगेर शवको पोष्टमर्टम गरे। पोष्टमर्टमपश्चात आइतबार राति १२ बजे भण्डारीको शव उनका नजिकका आफन्त भीमप्रसाद भण्डारीले बुझेको स्याङ्जाका प्रहरी प्रवक्ता इन्सपेक्टर निरञ्जन घिमिरेले बताए।
भण्डारीले झोलामा नाम्लो लिएर गएको र त्यसैमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। भण्डारीले आत्महत्या गर्नुको कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।
गल्याङ २ का वडाध्यक्ष कर्माचार्यले भण्डारीको परिवारलाई उद्धृत गर्दै क्वारेन्टिनमा बस्नेले धम्की दिने गरेको बताए।
‘हामी बाहिर निस्केपछि पख्लास् भनेर क्वारेन्टिनमा बस्नेले धम्की दिने गरेका रहेछन्,’ कर्माचार्यले सेतोपाटीलाई भने, ‘त्यसबारे उहाँले हामीलाई केही बताउनु भएको थिएन।’
मृतक भण्डारीका छोराले घटनापश्चात उक्त कुरा भनेको कर्माचार्यले बताए।
भण्डारीको परिवारको तर्फबाट मृतकका भाइ पर्ने भीमप्रसादले इलाका प्रहरी कार्यालय वालिङमा जाहेरीसमेत दिएका छन्। जाहेरीमा भने कसैको नाम उल्लेख नगरेको जनाएको छ। प्रहरीले टेलिफोन रेकर्ड लिएर अनुसन्धान गर्न परिवारबाट अनुमति लिएको जनाएको छ।
अहेब भण्डारी कोरोना भाइरस रोकथाम र क्वारेन्टिन व्यवस्थापनमा खटिएर लागेको वडाध्यक्ष कर्माचार्यले बताए।
‘सबै संसार आँत्तिदा पनि आँत्तिन हुँदैन भन्नुहुन्थ्यो,’ उनले भने, ‘आफैं भित्रभित्रै आँत्तिनुभएको रहेछ।’
स्याङ्जाको गल्याङ प्रदेश ५ बाट गण्डकी प्रदेश प्रवेश गर्ने नाका हो। अहिले गल्याङ बहुमुखी क्याम्पस, भानु आचार्य माध्यमिक विद्यालय, चिराग आवशिय अंग्रेजी मावि, आदर्श आवासिय आवासिय मावि र सार्वजनिक मावि मलुङ्वामा क्वारेन्टिन बनेका छन्।
यी क्वारेन्टिनहरुमा भारतबाट फर्किएका २ सय ६० जना भन्दा बढी मानिस बसिराखेका छन्। दैनिक ५०-६० जना आउने गरेको वडाध्यक्ष कर्माचार्यले बताए।
मृतक भण्डारीका २ छोरा, श्रीमती र बाबुआमा छन्। उनको मृत्युको खबर पाएपछि उनका दाजु-भाउजु काठमाडौंबाट सोमबार बिहानै घर आइपुगेका छन्। भण्डारीको शवको गल्याङ स्थित रामनदीधाममा सोमबार दाहसंस्कार गरिएको छ। दाहसंस्कारमा नगरपालिकाका सबैजसो जनप्रतिनिधी र कर्मचारी सहभागी भएको वडा अध्यक्ष कर्माचार्यले बताए।