सोमबार बिहानै अछामको बयलपाटा अस्पताल परिसरमा एक जना युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए।
साँफेबगर नगरपालिका-६ का २५ वर्षीय सिद्धार्थ आउजीको शरीरमा दनदनी आगो बल्न थालेपछि वरिपरिकाले हतार-हतार निभाए। आगो निभे पनि उनको शरीरको धेरै भाग जलिसकेको थियो। उनको जलेको शरीरको उपचार बयलपाटा अस्पतालमा सम्भवै थिएन।
संयोगले आजै चौरपाटी गाउँपालिकाकी गर्भवती महिलालाई लिन हेलिकप्टर आएको थियो। सोही हेलिकप्टरमा राखेर सिद्धार्थलाई कोहलपुर मेडिकल कलेज ल्याइयो। कोहलपुरमा उपचार गर्दागर्दै सोमबार साँझ उनको मृत्यु भयो।
सिद्धार्थको ‘आत्मदाह’ कुनै सानोतिनो व्यक्तिगत कारणको परिणाममात्र होइन। साढे २ महिनादेखिको लकडाउन, त्यही लकडाउनमा जान थालेको उनको जागिर, भविष्यप्रतिको अनिश्चितता र असुरक्षाले उनलाई आफ्नै शरीरमा पेट्रोल छर्किनुपर्ने अवस्थासम्म ल्याइपुर्याएको हो।
अस्पतालमा परिसरमै आत्मदाह गर्न खोज्ने सिद्धार्थ सोही अस्पतालका सरसफाइ कर्मचारी थिए।
करारको त्यही जागिर सिद्धार्थको सम्पत्ति थियो। बिहान-बेलुका हातमुख जोर्ने बाटो पनि। अस्पतालका शौचालय सफा गरेर र भुइँ पुछेर कमाएको पैसाले उनी श्रीमती र दुई छोराछोरीको परिवार पाल्थे।
उनका नाममा पैतृक सम्पत्ति केही पनि छैन। उनका बुवाआमा र दाजुभाउजू पनि पेट पाल्न भारतको बम्बई गएका छन्।
लकडाउन सुरू भएको महिना दिनपछि अस्पताल सञ्चालन गर्ने न्याय हेल्थ नेपालले कर्मचारी कटौतीको सूची निकाल्यो।
जागिर जाने ३५ जनाको उक्त सूचीमा सिद्धार्थको पनि नाम थियो। उक्त सूचीसँगै उनले एउटा सूचना पाए- कर्मचारी कटौती गर्ने निर्णयअनुसार जुलाईको अन्त्यमा तिम्रो करार सकिन्छ त्यसपछि हामीले अवधि थप्ने छैनौं।
लकडाउनका बेला अस्पतालले जागिरबाट निकाल्ने सूचना दिएपछि आउजी तनावमा थिए।
श्रीमती गौरी आउजीका अनुसार केही दिनदेखि उनी बिहान काममा जाने र बेलुका आएर नबोली सुत्ने गर्थे। आइतबार बेलुका पनि उनले त्यसै गरेका थिए।
'आज बिहान खाना खाएपछि अफिस जान्छु भन्दै घरबाट निस्केका थिए,' गौरीले सेतोपाटीसँग भनिन्, ‘उनले यस्तो गर्लान् भन्ने हामीले त सोचेका पनि थिएनौं।’
बिहान अस्पताल आउने बेला सिद्धार्थले साथीहरू विशाल पण्डित र नरेश बोहोरालाई भेटेका थिए। विशाल पनि सोही अस्पतालमा सेक्युरिटी गार्डको काम गर्छन्। उनी पनि कर्मचारी कटौतीमा परेका छन्।
‘दाइ, यस्तो बेलामा जागिर जानेभयो। इन्डिया जाउँ भने अवस्था यस्तो छ उता आमाबुवा अलपत्र परेका छन्। मलाई धेरै तनाव छ भन्यो,’ विशालले सेतोपाटीसँग भने,‘ह्या यस्ता जागिर जति पनि पाइन्छन् टेन्सन नलेऊ भनेर हामी हिँड्यौं। उसले त त्यस्तो गरेछ।’
सिद्धार्थ झण्डै २ वर्षदेखि बयलपाटा अस्पतालमा काम गर्दै आएको वडाध्यक्ष प्रेमबहादुर शर्माले बताए।
'कर्मचारी कटौतीको सूचना निकालेपछि हामीले अस्पताल व्यवस्थापनमार्फत् न्याय हेल्थसँग कुरा गरिरहेका थियौं। अकस्मात् आज सिद्धार्थले आफैंलाई आगो लगाएछन्,' उनले भने, 'जागिर जाने खबर आएपछि उनी तनावमा थिए भन्ने बुझेको छु अरू विस्तृत कुरा हुन पाएको छैन।'
दाताहरूले पैसा कटौती गर्दै गएको लगायतका कारण देखाएर अस्पतालले कर्मचारी हटाउने निर्णय गरेपछि आफूहरूले कर्मचारी नहटाउन निरन्तर पहल गर्दै आएको वडाध्यक्ष शर्माले बताए।
पोखरा घर भएका डाक्टर विभव आचार्य र डंगन नाम गरेका अमेरिकी डाक्टर अनुसन्धानका लागि २००९ अघि अछाम गएका थिए। साँफेबगरमा रहेको हेल्थ पोस्टलाई उनीहरूले केही समय सेवा दिए।
त्यही बेला न्याय हेल्थ नेपाल स्थापना गरी त्यसको व्यवस्थापन गरे। पछि सरकारसँग मिलेर बयलपाटा हस्पिटल निर्माण गरी सञ्चालन गर्दै आएका थिए। न्याय हेल्थको सञ्चालक समितिमा अहिले शंकर प्रसाद कलौनीलगायत आबद्ध छन्।
त्यसपछि अस्पताल सोही गैरसरकारी संस्थाले चलाउँदै आएको छ।
यो संस्थाले अछामकै चौरमाण्डौमा प्राथमिक स्वास्थ्य केन्द्र पनि चलाइरहेको छ। विभिन्न दाताहरूले दिएको पैसाबाट अस्पतालको खर्च चल्दै आएको छ।
पछिल्लो समय दाताहरूको सहयोग घट्दै गएकाले अस्पताल चलाउन मुश्किल परेको अस्पताल प्रशासनको भनाइ छ।
'न्याय हेल्थ नेपाल मूलत: अन्तर्राष्ट्रिय दाताहरूको सहयोगबाट सञ्चालन हुँदै आएको छ। केही वर्षदेखि अन्तर्राष्ट्रिय अनुदान घट्दो क्रममा छ। अनुदानको घट्दो क्रमसँगै हाल विश्वव्यापी रूपमा आएको आर्थिक चुनौतीका कारण आगामी वर्ष थप आर्थिक जटिलता हुने देखिएको छ,' न्याय हेल्थका कार्यकारी निर्देशक एसपी कलौनीले एक हप्ताअघि जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस अवस्थाका सम्बन्धमा स्थानीय सरकारका प्रमुख ज्यूहरूलाई जानकारी गराएपश्चात श्रम ऐन २०७४ को श्रमिक कटौती प्रावधानको आधारमा मापदण्ड निर्धारण गरी संस्थाको कार्यकारिणी समितिले आउने आर्थिक वर्षको लागि उपयुक्त मानव संशाधन पुनर्संरचनाको निर्णय गरेको हो।'
साँफेबगर-६ का वडाध्यक्ष शर्माका अनुसार अस्पतालले यस्तो विज्ञप्ति निकालेपछि केही दिनअघि त्यो क्षेत्रका स्थानीय सरकार र अस्पताल व्यवस्थापनको बैठक बसेको थियो।
उक्त बैठकले जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुँवरको संयोजकत्वमा एउटा कमिटी बनाएको थियो।
उक्त कमिटीले न्याय हेल्थले नसके आफूहरूले आवश्यक रकम जुटाउन पहल गर्ने भन्दै अहिलेको विषम परिस्थितिमा कर्मचारी ननिकाल्न अस्पताललाई अनुरोध गरेको थियो।
‘हामीले अनुरोध गरे पनि उहाँहरूले न्याय हेल्थको केन्द्रीय कार्यालयबाट निर्णय भएर आउनु पर्ने जवाफ दिनुभयो,’ साँफेबगरकी उपमेयर बिरमलादेवी बुड्थापाले भनिन्,‘हामीहरू अस्पतालका लागि स्रोत जुटाउने छलफल गर्दै थियौं। अचानक आज यस्तो घटना भएछ।’
न्याय हेल्थले भने आफूहरूले कानुनअनुसार नै कर्मचारी कटौती गरेको बताएको छ।
एक वर्षभन्दा बढी काम गरेका कर्मचारीलाई उसले सेवा गरेको प्रत्येक वर्षको निमित्त एक महिनाको आधार पारिश्रमिकका दरले हुन आउने एकमुष्ट रकम, चाडपर्व भत्ता पनि दिएको न्याय हेल्थले जनाएको छ।