भीमदत्त नगरपालिकाको वडा नं ९ मा पर्ने ब्रह्मदेवस्थित नेपाली भूमिमा भारतले ढुङ्गाको तटबन्ध बनाउन थालेको छ।
महाकाली सन्धिपछि टनकपुर पावरहाउसबाट उत्तरतर्फ नेपाली भूमिमा बनाइएको बाँधको मर्मतस्वरुप भन्दै भारतले आइतबारबाट तटबन्ध बनाउन थालेको हो।
ब्रह्मदेवमा महाकाली सन्धी भएयता बनेको बाँध छ। बाँध बनेको यो भूभाग नेपालको हो।
वडा नं ९ का अध्यक्ष रामनाथले एक नम्बर सीमास्तम्भ ढलेको र टनकपुर पुल नजिक रहेको तीन नम्बर पिल्लर गायब रहेको बताए।
भारतले विद्युत निकाल्ने क्रममा बाँध बनाउँदा पिल्लर हराएको भए पनि खोजी नभएपछि सीमा विवाद बल्झिएको उनको भनाइ छ।
भारतले गत वर्ष पनि टनकपुर पुलदेखि ब्रह्मदेव बजार जोड्ने सडक नेपाली भूमिमा बनाउन खोजेको नाथले बताए। त्यतिबेला पनि स्थानीयले विरोध गरेपछि सडक निर्माण रोकिएको उनले जानकारी दिए।
नेपाली भूभागमा सोही सडकलाई भीमदत्त नगरपालिकाले आफै बनाउन खोज्दा एसएसबीले पिल्लर एकीन नभएसम्म काम हुन नदिने भन्दै रोकेको थियो।
‘पिल्लर एकीन नभएसम्म दशगजामा काम गर्न नदिने भन्दै हामीलाई नेपाली भूमिमै पनि ग्राबेल हाल्न दिइएन’ वडाअध्यक्ष नाथले भने, ‘अहिले बाँध मर्मत गर्ने निहुँमा उनीहरुले तारजालीमा ढुङ्गा हालेर पिच सडक बनाउने रणनीति लिएका छन्।’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले महाकाली सन्धी अनुसार बनेको बाँध मर्मत हुन लागेको बताए। उनले महाकाली ड्याममा वर्षामा पानी परे जोखिम हुने भएकाले सुरक्षाका लागि जालीढुङ्गा लगाउन लागेको बताए।
सशस्त्र प्रहरीका एसपीको नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी स्थानीयसँगको विवाद मिलाएर आएको उनले बताए। भारतले बाँधको सुरक्षा गर्नुपर्ने भएकाले आफ्नो काम गरेको उनकाे भनाइ छ।
स्थानीय केशवसिं नायकले भारतले नेपाली सीमामा एकतर्फी संरचना बनाउन नहुने बताए। उनले आफ्नो स्वार्थको लागि नेपालको हित देखाएर भूमि मिच्न संरचना बनाउन लागेको बताए।
अर्का स्थानीय धर्मसिं पालले बाँध मर्मत नभए जम्मा भएको पानीबाट जोखिम हुने र मर्मत भए भारतले सीमा मिच्ने होकि भन्ने डर रहेको बताए।
नेपालले आफ्नै भूमिमा सडक बनाउन नपाउने तर भारतले भने नेपालमै बाँध बाध्न लागेकोमा सरकारी पक्षले तत्काल ठोस निचोड निकाल्नुपर्ने स्थानीयको माग छ।
वडाध्यक्ष नाथले मर्मत गर्नुपर्ने बाँध नेपाली भूमि हो भन्ने कुराको प्रष्टता हुनुपर्ने माग गरे। अहिले बाँध बाध्न लाग्दा विरोध नगरे भोलि किन विरोध नगरेको, यो नेपालकै भूभाग हो, संरचना बनाउँदा हामी किन नबोलेको जस्ता प्रश्न उठ्ने भन्दै उनले चिन्ता व्यक्त गरे।