पाँच जना केटा खाली राजमार्गमा गाउँदै, रमाउँदै हिँडेको भिडिओ केही साताअघि सामाजिक सञ्जालमा भाइरल भयो।
कुनै लामो यात्रामा लम्केजस्ता देखिने उनीहरू 'वी आर अन द हाइवे' बोलको गीत गाउँदै थिए। कसैको काँधमा झोलाको भारी थियो, कसैका हातमा लौरो, गितार, क्यामरा र माइक।
युट्युब च्यानलमा राखिएको उक्त भिडिओ अनुप गुरूङले बनाएका हुन्।
अनुप र्याफ्टिङ तथा कायाकिङ गाइड हुन्। लकडाउनले मान्छेहरू थुनिएका बेला उनी गाउँघर र नदीखोला घुम्न व्यस्त छन्। र, भिडिओ बनाउँदै छन्।
उनले कोरोना फैलिनुअघि नै 'मिसन वाइल्ड वेस्ट' को योजना बनाएका थिए। सामाजिक सञ्जालमा देखिएको भिडिओ त्यही यात्रामा खिचिएको हो। लकडाउन नभइदिएको भए यसरी खुला बाटोमा रमाउँदै हिँड्ने अवसर नपाउने अनुप बताउँछन्।
'म र एक जना साथी कर्णालीतिर हिँडेका थियौं। अरू तीन जनालाई बाटोमै भेटेका हौं,' यात्रामै रहेका अनुपले सेतोपाटीसँग भने, 'लकडाउनले गाडी पाउन सम्भव भएन। वनजंगल, खाली बाटो र नजिकका साथी भएपछि कुनै कुराको पिर थिएन। बरू त्यो समय यति रमाइलो भयो, हामीले हरेक अनुभवलाई गीत बनाउन भ्यायौं।'
अनुप खासमा आइसल्यान्ड बस्छन्। छ महिना उतै व्यस्त हुन्छन्। बाँकी छ महिना नयाँ-नयाँ ठाउँ घुम्न निस्कन्छन्। उनको आफ्नै युट्युब च्यानल छ, जहाँ उनले आफ्नो यात्राका थुप्रै भिडिओ राखेका छन्।
यसपालि छ महिने छुट्टीमा नेपाल आएका उनका दुई मुख्य उद्देश्य थिए- मिसन वेस्ट टू इस्ट र मिसन वाइल्ड वेस्ट।
उनी 'मिसन वेस्ट टू इस्ट' यात्रामा मेचीदेखि महाकालीसम्मका सबै खोला घुम्न चाहन्थे। यस्तो रहर पलाउनुको पछाडि पनि कारण छ।
'छ महिनाअघि म कामको सिलसिलामा बेनी पुगेको थिएँ। बाटोमा निकै बेर जाम पर्यो। गाडीबाट झरेर हेर्दा कालीगण्डकी खोलाछेउ डाँडा खन्ने काम भइरहेको रहेछ,' उनले भने, 'त्यसले खोलाको सुन्दरता बिगारेको थियो।'
उनले अगाडि भने, 'खोला भनेको हाम्रो सभ्यता हो, संस्कृति हो। हाम्रो आयस्रोत पनि हो। तर, त्यही खोलाको सुन्दरता मासिने गरी क्षति पुगिरहेको देख्दादेख्दै हामीले वास्ता गरेका छैनौं। मलाई लाग्यो, यही अवस्था जारी रहने हो भने मैले खोला घुम्ने मौका कहिल्यै पाउँदिनँ।'
यही सोचेर यात्रामा निस्केका अनुपले यसबीच थुप्रै मानिस भेटे। कतिपयसँग छोटो समयमै गाढा सम्बन्ध बन्यो।
उनी कर्णाली पुग्दा खोलाछेउको एउटा जग्गा राम्रो लागेर किन्ने सोच बनाएछन्। उनले जग्गाधनीलाई भेटेर कुरा अघि बढाए। कुराकानी बढ्दै जाँदा जग्गाधनीकी श्रीमतीसँग दिदीजस्तै सम्बन्ध गाँसिएको उनी बताउँछन्।
'मैले जग्गा त किनिनँ, एउटा परिवार भने बनाएँ,' उनले भने, 'अब मेरो कर्णालीमा दिदीभिनाजु हुनुहुन्छ, भान्जाभान्जी छन्।'
यो यात्रालगत्तै 'मिसन वाइल्ड वेस्ट' मा निस्कनुको एउटा उद्देश्य कर्णालीको त्यही परिवार भेट्नु थियो। अर्को कारण पनि कर्णालीसँगै सम्बन्धित छ।
उनी पाँच वर्षअघि कर्णालीको एउटा गाउँ पुगेका थिए। त्यहाँका केही बालबालिका र स्थानीयको फोटो खिचेर ल्याए। उनी तिनै व्यक्तिलाई फेरि भेटेर फोटो उपहार दिन चाहन्थे।
'हरेकपटकको यात्रामा पश्चिम नेपालसँग मेरो सम्बन्ध गाढा हुँदै गएको छ। त्यहाँका मान्छे मात्र होइन, नदीखोला पनि मलाई आफ्नैजस्तो लाग्न थालेको छ,' उनले भने।
नदीखोलासँग अनुपको सम्बन्ध बाल्यकालदेखिको हो। सानोमा पानी देख्नेबित्तिकै खेल्न झुत्तिहाल्थे। घरमा एकछिन देखिएनन् भने उनकी आमा पानी भएकै ठाउँतिर खोज्न जान्थिन्। एकचोटि बर्खा बेला खोलाछेउ खेल्दाखेल्दै भेलमा हुत्तिएर चार किलोमिटर पर पुगेको उनी सम्झन्छन्।
'केही मान्छेले मलाई अचेत अवस्थामा भेटेछन्,' उनले भने, 'अस्पताल लग्दा पनि डाक्टरले आस मारिसकेका थिए रे।'
त्यो घटनापछि खोलाछेउ जान र पौडी खेल्न घरपरिवारबाट रोकतोक सुरू भयो। तर, अनुपको आकर्षण घटेन। अन्तत: उनको पेसा पनि खोला र पानीसँगै जोडियो।
उनले एसएलसी दिएपछि छ दिनको कायाकिङ तालिम लिएका थिए। तालिममा प्रथम हुनेलाई छ महिने कोर्स र कामको अफर थियो।
अनुप प्रथम नै भए।
त्यही बेला उनको भेट एक जना साथीसँग भयो, जो र्याफ्टिङ गाइड थिए। उनी र्याफ्टिङ पनि सिक्न चाहन्थे, तर पैसा थिएन। ती साथीले उनको गितार बजाउने खुबी देखेर गीत सुनाउने सहमतिमा डुंगा चलाउन सिकाए।
त्यही साथीसँगको भेट अनुपको जीवनको 'टर्निङ प्वाइन्ट' बन्यो।
छ महिनाको कोर्स लिएर उनी र्याफ्टिङ र कायाकिङ गाइडका रूपमा काम गर्न थाले। नेपालमा राम्रो कमाइ नभएपछि सन् २००१ मा आइसल्यान्ड गए। त्यसको दुई वर्षपछि भिडिओ बनाउन थाले।
उनको बोल्ने शैली, भिडिओग्राफी र सम्पादन हेर्दा कुनै 'भ्लगर' भन्दा कम छैन, तर उनी आफूलाई भ्लगर भन्न रुचाउँदैनन्। भिडिओ बनाउनु आफ्नो सोख बताउने उनी यसको श्रेय आमालाई दिन्छन्।
'मेरी आमा लमजुङमा हुर्किनुभयो। उहाँलाई सानैदेखि घुम्ने रहर थियो। आइसल्यान्ड पुगेपछि आमालाई पनि घुमाउन लान्छु भनेर सोचेको थिएँ, तर त्योभन्दा अगाडि नै दुर्घटनामा पर्नुभयो। उहाँको घरभन्दा बाहिर जाने अवस्था भएन,' उनले भने, 'आमा कहीँ जान नसक्ने भएपछि मैले आफू घुमेको ठाउँ क्यामरामा कैद गरेर आमालाई पठाउन थालेँ। उहाँ भौतिक रूपमा घुम्न नपाए पनि भिडिओ देखेर रमाउनु हुन्थ्यो।'
सामान्य परिवारमा हुर्केका उनलाई 'फिल्म मेकिङ' पढ्न मन थियो। आइसल्यान्डमा कमाएको पैसा घर नपठाई जम्मा गरेर करिब पाँच वर्षपछि सन् २००६ मा लन्डनमा फिल्म-मेकिङ पढे।
त्यसपछि त उनी जहाँ जान्थे, क्यामरा बोकेकै हुन्थे। आफ्नो युट्युब च्यानलमा भिडिओ हाल्थे। साथीहरू उनलाई 'भ्लग' बनाउन सुझाव दिइरहन्थे।
एकपटक नेपाल आएका बेला उनले पोखरामा आफ्ना बाल्यकालका साथी चेतन कार्कीलाई भेटे। चेतन चर्चित भ्लगरमध्ये पर्छन्। उनैले युट्युब च्यानलमा एक हजार 'सब्स्क्राइबर' पुगेपछि भिडिओबाटै पैसा कमाउन सकिने जानकारी दिए।
अनुप आफूले मन परेको काम अरूसँग पनि सेयर गर्न युट्युबलाई आफ्नो नयाँ प्लेटफर्म बनाएको बताउँछन्। पहिले महिनामा एकपटक मात्र भिडिओ अपलोड गर्ने उनले नेपाल आएपछि लकडाउनका कारण भिडिओमा बढी समय दिन पाएका छन्। त्यो बेला अनुपका करिब नौ सय सब्स्क्राइबर थिए। अहिले यो संख्या चार हजारभन्दा बढी छ।
'काठमाडौंमा भएको भए कोठामा थुनिएर बस्नुपर्थ्यो, यी जंगल र खोलानिर बस्न पाउँदा खुल्ला चराजस्तो महशुस भएको छ,' उनले भने।
यसबीच उनलाई बत्ती र इन्टरनेटको समस्या भयो। उनी टन्न ब्याट्री बोकेर हिँड्छन्। इन्टरनेट राम्रो भएको ठाउँ भेटे अपलोड गर्छन्। कहिले इन्टरनेट टिप्ने ठाउँ पुग्न ४० मिनेटजति हिँड्नपर्ने उनी बताउँछन्।
पश्चिम जाँदा कोरोना त्रासले अनुप र उनका साथीलाई स्थानीयले क्वारेन्टिनमा समेत राखेका थिए। केही रकम बोकेर गएका उनीहरूको विस्तारै पैसा सकिन थाल्यो। सबै पसल बन्द भएकाले खाना थिएन। काठमाडौं फर्किन गाडी थिएन। कयौं दिन चाउचाउका भरमा जंगलमा बसेको उनी सम्झन्छन्।
'त्यस्तो बेला बाहिरी मान्छे भनेर केही गाउँबाट हामीलाई निकालियो, कहीँ भने एक-दुईजना स्थानीयले पैसा सापटी दिएर सहयोग गरे,' उनले भने, 'अर्कोपटक नेपाल आउँदा यी सबैको ऋण तिर्न जानुछ।'
सबै तस्बिर स्रोतः अनुपको फेसबुक