कालिकोटमा बुधबार भएको टिपर दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ।
नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौं लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कालिकोटबाट उपचारका लागि भनेर हेलिकप्टरमार्फत् सुर्खेत ल्याइएको भए पनि अवस्था गाह्रो भएका कारण काठठमाडौं नै लगिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिए।
उनका अनुसार टिपर खस्दा बेपत्ता भएका भनिएकामध्ये ३५ जना सम्पर्कमा छन्। जसमध्येका घाइते ८ जनामध्ये २ जनालाई काठमाडौं लगिएको छ। रास्कोट नगरपालिका–२ का २० वर्षीय निस्पता सार्की र २८ वर्षीय मिम सार्की रहेका छन्।
दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।
मृत्यु हुनेमा रास्कोट नगरपालिका–२ का २१ वर्षीया शर्मिला सार्की र २१ वर्षीया ठम्की साार्की रहेको एसपी पन्तले जानकारी दिए।
बेपत्ता दुई जनाको खोजी भइरहेको उनले बताए।
बुधबार बिहान नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो।
भारतबाट आएका रास्कोटका नागरिकलाई क्वारेन्टिनमा पुर्याउन कर्णाली करिडोर हुँदै टिपर गएको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए।
मंगलबार राति कालिकोट पुगेका थिए सबै
दुर्घटनामा मृत्यु भएका तथा बेपत्ता भएकासहित ३९ जना भारतबाट आएका थिए। सीमावर्ती क्षेत्रबाट उनीहरूलाई मंगलबार राति कालिकोट पुर्याइएको थियो। उनीहरू सबै रास्कोट नगरपालिकाकै हुन्।
रास्कोट नगरपालिकाका मेयर काशिचन्द्र बरालका अनुसार उनीहरूमध्ये केही मंगलबार राति पुगेका थिए भने केही बुधबार बिहान कालिकोट पुगेका थिए। क्वारेन्टिनमा राख्नका लागि नगरपालिकातर्फ लैजान उनीहरूका लगि टिपरको व्यवस्था गरिएको थियो।
कर्णाली करिडोरमा हाल साना सवारीसाधन मात्र चल्छन्। धेरै जनालाई एकैसाथ लैजान ठूलो साधन आवश्यक भएकाले उनीहरूलाई टिपरमा रास्कोट लैजाने व्यवस्था गरिएको मेयर बरालले जानकारी दिए।
मेयर बरालका अनुसार काठमाडौं पठाइएका बाहेक अरु घाइतेहरूको अवस्था सामान्य रहेको छ।