दैनिक ३ सय जनाको पिसिआर विधिबाट कोरोनाभाइरसको परीक्षण गर्नसक्ने भन्दै ९ वटा निजी प्रयोगशालाहरूले निवेदन दिएका छन्।
बिहीबारसम्म समयावधि रहेकोमा ९ वटा निजी प्रयोगशालाको निवेदन परेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूना झाले जानकारी दिइन्।
गत साता प्रयोगशालाले निजी क्षेत्रसँग पनि परीक्षणमा सहकार्य गर्न सकिने भन्दै इच्छुक निजी प्रयोगशालाहरूलाई आफ्नो विवरण पेश गर्न भनेको थियो।
निवेदन परेका ९ वटा प्रयोगशालामध्ये ३ वटा 'ग्रेड ए' र बाँकी 'ग्रेड बी' रहेको डा. झाले बताइन्।
'स्वास्थ्य प्रयोगशाला स्थापना तथा कारबाही निर्देशिका-२०७३' का अनुसार 'ग्रेड ए' मा सूचीकृत प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्न सक्ने भनिएको छ।
साथै स्वाइन फ्लू, कोभिड-१९ जस्ता सरूवा रोगको परीक्षण गर्न सकिने निर्देशिकामा उल्लेख छ।
डा. झाले भने यस्तो आपतकालीन अवस्थामा 'ग्रेड बी' का प्रयोगशालाहरूलाई पनि परीक्षणको अनुमति दिन सकिने बताइन्।
नेपालमा कोरोनाभाइरसको पिसिआर परीक्षण गर्ने निजी क्षेत्रका ६ वटा प्रयोगशाला छन्। जसमा तीन वटाले निवेदन दिएका हुन्।
निजी प्रयोगशालाहरूको निवेदन परेपछि अहिले प्रयोगशालाले त्यसलाई सूचीकृत गर्ने काम गरिरहेको छ। जम्मा २० वटा निजी प्रयोगशालाहरूको निवेदन परे पनि ९ वटासँग मात्र मेसिन र जनशक्ति रहेको भन्दै प्रयोगशालाले बाँकीलाई अहिले सूचीकृत गरेको छैन।
'उहाँहरूमध्ये कतिले दुई महिनापछि मेसिन ल्याएर सुरू गर्छौं भन्नुभएको छ। त्यसैले त्यस्तालाई तत्काल सूचीकृत नगर्ने भन्ने हो,' प्रयोगशालाका एक सदस्यले भने।
अब निवेदन परेका ९ वटा प्रयोगशालालाई परीक्षण अनुमति दिन प्रयोगशालाले निर्देशिका तय गर्नुपर्छ। डा. झाले निर्देशिका मन्त्रालयले स्वीकृत गरेपछि निजी प्रयोगशालाहरूले परीक्षण सुरू गर्नसक्ने बताइन्।
निर्देशिकामा मूल्य निर्धारण र बाँकी मापदण्डको कुरा उल्लेख गरिनेछ। कतिपयले निजी प्रयोगशालाहरूले परीक्षणको शुल्क व्यक्तिबाटै उठाउन सक्ने बताएका छन्।
तर निवेदन दिएकामध्ये एक निजी प्रयोगशालाका सञ्चालक रहेका डा. समिरमणि दीक्षितले भने,'यहाँ शुल्कको कुरा हैन। सरकारले निःशुल्क परीक्षण गरेर पछि सरकारसँग शुल्क दाबी गर्न भन्छ भने हामी त्यहीँ अनुसार गर्छौं।'
उनले सरकारले अनुमति दिएसँगै तत्काल परीक्षण सुरू गर्ने बताए।
उनले यसअघि पनि पटक-पटक सरकारसँग परीक्षणको अनुमति माग्दा पनि अनुमति नपाएको बताए।
पछिल्लो समय भने सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसक्ने स्थिति देखिएपछि सरकारले निजी प्रयोगशालाहरूलाई पनि अनुमति दिने कदम चालेको हो।
अहिले पनि देशभर रहेका २१ वटा प्रयोगशालाहरूमा हजारौं नमूना परीक्षणको पर्खाइमा छन्।
ती प्रयोगशालाहरूमा क्षमताभन्दा पाँच गुणा नमूना संकलन भएका छन्। जसका कारण सुदूरपश्चिममा अहिले पनि नयाँ स्वाब संकलन कार्य हुन सकेको छैन।
प्रदेश स्वास्थ्य निर्देशनालयले गत साता प्रयोगशालामा नमूनाको चाङ लागेको भन्दै नयाँ नमूना संकलन कार्य बन्द गर्ने निर्णय गरेको थियो।
सरकारले अनुमति दिए निजी प्रयोगशालाहरूबाट दैनिक १५ सय सम्म परीक्षण गर्न सकिने देखिएको छ। अहिले दैनिक ३ देखि ४ हजार जनाको परीक्षण भइरहेको छ।