जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कार्यरत एक जना अहेव जेठ ७ गतेदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनामा रहेको एकीकृत क्वारेन्टिनमा खटिए। क्वारेन्टिनमै खटिएका उनमा त्यसको १२ दिनपछि कोरोना देखियो।
जेठ १९ गते गरिएको सामूहिक परीक्षणमा उनलाई पनि कोरोना आशंका गरियो। २१ गते गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भयो। सोही दिनदेखि उनीसहित सँगै कोरोना संक्रमण पुष्टि भएकाहरू आइसोलेसनमा बसे।
आइसोलेसनमा बसेको एक सातापछि उनी कोरोनामुक्त भएका छन्। जेठ २८ गते उनलाई अस्पतालले डिस्चार्ज गरिसक्यो। अस्पतालले डिस्चार्ज गरे पनि उनी घर भने जान सकेका छैनन्। अहिले एक होटलमा बसिरहेका छन्।
उनी आफूलाई कोरोनाले भन्दा पनि समाजले दु:ख दिएको बताउँछन्।
उनी भन्छन्, ‘अस्पतालबाट डिस्चार्ज भइसकेपछि गाउँ जान खोजियो तर हामीलाई समाजले जानै दिएन, समाज डराएर हामीलाई दु:ख भएको छ।’
गाउँ जान खोज्दा मोटरसाइकल समेत गाउँलेले तोडफोड गरेको उनले बताए।
‘अब डिस्चार्ज भइयो घरमै गएर होम क्वारेन्टिनमा बसौं न त भनेर गाउँ जान लागियो,’ उनले भने, ‘जान दिएनन्, बाइकै तोडफोड गरियो।’
डिस्चार्जपछि आफूलाई रुघाखोकी निको भएको जस्तो महशुस भएको उनले बताए। यसअघि पनि खोकी लाग्ने, टाउको दुख्ने, घाँटीतिरको भागमा खटिरा आउने, खकार बन्ने जस्ता लक्षण देखिएको उनले बताए ।
उनी कोरोना भाइरससम्बन्धी प्रचार नै गलत भएकाले समाज डराइरहेको बताउँछन्।
‘विभिन्न सोसियल मिडियाबाट कोरोनाको डरलाग्दो प्रचार भएको छ, यो संक्रमण हुनेवित्तिकै मृत्यु हुने खालको प्रचार भएकाले समाज डराएको हो,’ उनले भने, ‘सञ्चार माध्यम, नागरिक समाजबाट यो प्रचार गरेजस्तो भयानक होइन भन्ने सन्देश दिन पाएको भए केही सहज हुने थियो।’
कर्णालीका ६० जना कोरोनामुक्त
कोरोनाभाइरस (कोभिड–१९) संक्रमित कर्णाली प्रदेशका ६० जना कोरोनामुक्त भएका छन्।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार हालसम्म ६० जना उपचारपछि निको भएर घर फर्किएका छन्।
जसमध्ये कर्णाली प्रदेश अस्पतालबाट दुई चरणमा गरी ३८ जना डिस्चार्ज भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना, दैलेखको दुल्लुबाट ३ जना र नारायण नगरपालिकाबाट १ जना डिस्जार्च भएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
कर्णालीमा सबभन्दा पहिले भेटिएका कोरोना संक्रमित व्यक्ति भने अझसम्म पनि डिस्चार्ज हुन सकेका छैनन्।
दैलेखको आठविस नगरपालिका–१ का ती व्यक्ति हाल प्रदेश अस्पतालमा तयार पारिएको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा छन् ।
उनमा जेठ ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले पछिल्ला पिसिआर रिपोर्टहरूमा पनि उनमा कोरोना पोजेटिभ देखिने गरेको बताए ।