सरकारले सोमबार (भोलि) देखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्दैछ।
शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरका अनुसार टिभी, रेडियो, इन्टरनेट, एफएमलगायतबाट पठनपाठन सुरू गर्न लागिएको हो।
कोरोनाभाइरस महामारी रहेको, दिनहुँ संक्रमित संख्या वृद्धि भइरहेको र विद्यालयमा क्वारेन्टिन रहेकोले तत्कालका लागि वैकल्पिक विधिबाट विद्यार्थीलाई पठनपाठन गर्न लागिएको हो।
विद्यार्थीलाई विभिन्न टिभी च्यानल, रेडियो नेपाल, कान्तिपुर एफएमलगायतबाट विषयगत रूपमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ।
इन्टरनेट पहुँच हुने विद्यार्थीले युट्युबबाट पनि पठनपाठनका सामग्री हेर्न, पढ्न र सुन्न सक्छन्।
केन्द्रका निर्देशक माधवप्रसाद दाहालका अनुसार समय निर्धारण गरेर टिभी, रेडियोबाट पठनपाठनको व्यवस्था मिलाइएको छ।
कुन टिभीबाट कुन बेला कुन विषयको पठनपाठन हुन्छ भन्ने जानकारी प्रदेश, जिल्ला र स्थानीय तहमा पठाइसकिएको छ।
वैकल्पिक सिकाइ कार्यलाई निरन्तरता दिन श्रव्यदृश्य पाठ प्रसारण समय तालिका बनाइएको हो। असार १ देखि ३१ गतेसम्म एक महिनाका लागि वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाइन्छ।
कक्षा १ देखि ८ सम्म आधारभूत तहका विद्यार्थीलाई विषयगत रूपमा सोमबारदेखि एनटिभी प्लस च्यानलबाट पढाइ सुरू हुन्छ।
माध्यमिक तह कक्षा ९ र १० का लागि डिसहोम टिभीमार्फत् विषयगत पठनपाठनको व्यवस्था मिलाइएको केन्द्रको भनाइ छ।
विद्यार्थीले यीबाहेक नेटटिभी र म्याक्स टिभीको विद्यालय शिक्षा च्यानलबाट पनि पढ्न सक्ने केन्द्रले जनाएको छ।
आधारभूत तहका विद्यार्थीलाई विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म विषयगत रूपमा पठनपाठन हुन्छ। कक्षा ९ र १० को हकमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म पठनपाठनको समय तोकिएको छ। एक कक्षाको समयावधि करिब ३५ मिनेटको हुन्छ।
केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले सम्भव भएसम्म विद्यार्थीलाई सबै विषय पठनपाठन गराइने बताए।
‘टिभी, रेडियो, इन्टरनेट, एफएमबाट विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ,’ उनले सेतोपाटीसँग भने, ‘कक्षा ९ र १० लाई दिनमा तीनपटक रेडियो नेपालबाट पढाउँछौं। करिब डेढ घण्टाको कक्षा हुन्छ।’
सोमबारदेखि कान्तिपुर एफएमबाट पनि पठनपाठनको काम सुरू गर्ने उनले बताए।
‘कक्षा १ देखि ८ सम्मका पाठ अहिले रेकर्ड भइरहेको छ,’ थपलियाले भने, ‘सिकाइ सामग्री तयार छ। आवश्यक पर्ने स्थानीय तहले छपाइ गर्न सक्छ।’
कक्षा ९ र १० का पाठ्य सामग्री पनि रेकर्ड गर्ने काम भइरहेको र सरकारीबाहेक अरू संघसंस्थाले तयार पारेका सामग्री पनि उपयोग गर्न सकिने उनले बताए।
‘अहिले सबै विषय पढाइ नहुन सक्छ। लकडाउनमा घरमा रहेका विद्यार्थीलाई सिकाइ निरन्तर राख्न केही विषय भने पनि पढाउन लागेका हौं,’ उनले थपे।
टिभी/रेडियो नहुनेले के गर्ने?
घरमा टिभी/रेडियो नहुने विद्यार्थी कसरी पठनपाठन क्रियाकलापमा सहभागी हुन्छन् त? यो प्रश्नमा महानिर्देशक थपलियाले भने, ‘सिकाइ सामग्री छापेर विद्यार्थीलाई बाँडिन्छ।’
प्राय: उच्च पहाडी र हिमाली भेगमा इन्टरनेट, टिभी वा रेडियोको पहुँच कम छ। यी भेगका विद्यार्थीलाई पनि वैकल्पिक विधिबाट पठनपाठन गराउन केन्द्रले उपाय सोचेको उनले बताए।
‘वैकल्पिक विधि टिभी, रेडियो पहुँच नभएका विद्यार्थीलाई सिकाइ केन्द्र गठन गरेर स्वयमसेवी वा शिक्षक परिचालन गरी पाठ्यपुस्तक/सिकाइ सामग्री छापेर वितरण गर्ने व्यवस्था मिलाइन्छ,’ थपलियाले भने।