धरान घर भएका पर्यटक गाइड एलन बिष्ट अहिले दिनहुँ पर्यटकलाई लिएर फेवाताल जान्छन्।
पर्यटकलाई फेवाताल देखाउन र घुमाउन भने उनी फेवाताल गएका होइनन्। फेवातालमा थुप्रिएका प्लास्टिक र फोहोर उठाउन उनी १५ दिनदेखि ताल वरिपरि घुमिरहेका छन्।
रसियन पर्यटक एलियाना सगरमाथा क्षेत्रको थ्री पास गर्न नेपाल आएकी थिइन्। लकडाउन घोषणा हुनुभन्दा २ दिनअघि मात्र नेपाल आएकी उनी यतै अड्किन्। लकडाउनका कारण पदयात्रा जान नपाएकी एलियानालाई स्वदेश फर्कन पनि मन लागेन। उनी अहिले फेवातालको प्लास्टिक टिप्न व्यस्त छन्।
एलियाना लकडाउन भएपछि काठमाडौंमा ५० दिन बसिन्। त्यसपछि लकडाउनकै बीचमा पोखरा आइन्।
‘मानिस र प्रकृतिबीच घनिष्ट सम्बन्ध हुन्छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘प्रकृतिले हाम्रो ख्याल गर्ने भएकाले हामीले पनि प्रकृतिको ख्याल गर्नुपछ।’
लकडाउन नभएको भए उनी अहिले आफ्नो पदयात्रा सकेर स्वदेश फर्की सकेकी हुन्थिन्। उनका गाइड बिष्ट पनि एलियानालाई सगरमाथा क्षेत्रको थ्री पास सकेर अन्य पर्यटकलाई कुनै हिमालको फेदतिर घुमाइराखेका हुन्थे।
पदयात्राका लागि पहिलो पटक नेपाल आएको वर्ष दिनमै एलियाना तेस्रो पटक नेपाल आएकी थिइन्। यसअघि उनी गत अप्रिलमा पहिलो पटक अन्नपूर्ण फेरो र गत नोभेम्बरमा सगरमाथा आधार शिविर पदयात्रा गएकी थिइन्।
एलियानासँगै स्पेनका एरिक र जर्मनीका क्रिष्टिना पनि फेवातालको सरसफाइमा लागेका छन्। उनीहरूका सरकारले उद्धारका लागि स्वदेश फर्कन भनेको थियो। तर उनीहरुले यहीँ सुरक्षित हुने भन्दै लकडाउनमा स्वदेश फर्कन चाहेनन्।
सरसफाइ अभियानमा पर्यटक गाइड बिष्ट, स्थानीय युवा विशालजंग थापा, प्रशान्त बुढाथोकीलगायत १२ जना युवा छन्। उनीहरूले यसअघि प्रकृतिको संरक्षण नारा दिएर देशव्यापी साइकल यात्रा गरेका थिए। मुस्ताङको कोरोला नाकाबाट सुरू गरेर झापा, जनकपुर, विराटनगर, महेन्द्रनगर पुगेर सकेसम्म त्यहाँका स्थानीय जनप्रतिनिधिसँग प्लास्टिक नियन्त्रणका लागि आग्रह गरेका थिए।
‘पोखरामा ताल भएर नै पर्यटक आउने हो,’ विशालजंगले भने, ‘हाम्रो अस्तित्व जोगाउन पनि फेवाताल त जोगाउनै पर्यो।’
ताल सफाइ अभियानमा स्थानीय व्यवसायीले पनि सघाएको उनले बताए। तालमा थुप्रिएको प्लास्टिक निकाल्न ताल वरिपरिका जलारी समुदायले डुङ्गा सहयोग गरेका छन् भने व्यवसायीले खाना र खाजा दिएका छन्।
‘प्रोजेक्ट फर नेचर’ समुह बनाएर फेवाताल संरक्षण अभियान थालेको विशालजंगले बताए। फोहोर टिप्ने क्रममा अहिलेसम्म ६० बोरा प्लास्टिकजन्य फोहोर उनीहरूले उठाइसकेका छन्। अहिले ४० बोरा संकलन भइसकेको छ। उक्त फोहोर पोखरा महानगरको फोहोर उठाउने गाडी बोलाएर पठाउने गरेको अर्का युवा प्रशान्त बुढाथोकीले बताए।
फेवाताल सफाइ अभियान २ महिनासम्म चलाउने उनीहरूको योजना छ। सरसफाइमात्र नभई स्थानीयलाई सचेत गाउने कार्यक्रम पनि रहेको उनीहरूले बताएका छन्।
‘विदेशीले भएको फोहोर पनि टिप्छ, नेपालीले नै हो फेवाताल फोहोर गर्ने,’ पर्यटक गाइड बिष्टले भने,‘स्थानीय व्यवसायी र अन्य मानिसलाई पनि ताल सफा राख्नुपर्छ भनेर भन्छौं।’
फेवातालमा प्लास्टिकलगायत फोहोर फाल्नेमा अधिकांश स्थानीयवासी र ताल घुम्न जाने नेपाली भएको उनीहरूको ठम्याइ छ।
वातावरण सरसफाइ आफ्नै घरको सफाइजस्तै भएको फेवाताल सफाइमा सक्रिय एलिसा लिम्बुले बताइन्।
‘पृथ्वी हाम्रो घर हो,’ उनले भनिन्,‘घर जस्तै पृथ्वी पनि सफा राख्नुपर्छ।’
अर्का युवा विजय तामाङ भने तालको फोहोर टिपेरमात्र सफा नहुने बताउँछन्।
‘ताल सधैं सफा राख्न मान्छेको व्यवहार नै परिवर्तन हुनुपर्छ,’ उनले भने, ‘आज प्लास्टिक टिपेर भोलि फेरि फाल्ने बानी सुधार्नुपर्छ।’
फेवाताल सफा गर्न लागेका युवाहरुको समूहलाई आफूले पनि सहयोग गरेको सराङकोट पदमार्ग टोल विकास संस्थाका अध्यक्ष शिव थापाले बताए।