भारतको विभिन्न ठाउँमा काम गर्ने बाग्लुङ, पर्वत र म्याग्दीका युवाहरूले सुनौली नाकाबाट नेपाल प्रवेश गरेपछि आफैं बस रिजर्भ गरे।
गाउँ फर्कंदै गर्दा केही युवा पर्वतको डिमुवामा झरे। गाडी पर्वत, म्याग्दी र बाग्लुङ जान अघि बढ्दै गर्दा कुश्मा ८ चुवामा माथिबाट ढुंगा खसेर सडक अवरूद्ध भयो। गाडी अगाडि बढ्न सकेन।
त्यही मौकामा बाग्लुङका एक युवक बसबाट ओर्लिए। नजिकै रहेको भीरमा गएर हामफाले।
उक्त घटनालगत्तै प्रहरी गएर ती युवाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीले बताए।
‘हामी तत्काल गएर उद्धार गरेर जिल्ला अस्पताल बाग्लुङमा लग्यौं’, उनले सेतोपाटीलाई भने, ‘अस्पतालले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरिदियो।’
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएपछि उनलाई मृत घोषणा गरेको डिएसपी अधिकारीले बताए।
उनको शव अस्पतालले पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी गरेको जनाएको छ।
उनीसँगै आएका अन्य युवालाई भने आ-आफ्नै गाउँमा बनाएको क्वारेन्टिनमा लगेको कुश्मा ८ का वडाध्यक्ष राजकुमार क्षेत्रीले बताए।