लम्कीचुहा नगरपालिका १ थपालीपुरकी ३१ बर्षिया महिलाले आफुमाथि सामुहिक बलात्कार भएको भन्दै तीन जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन्।
उनले क्वारेन्टिनमा बसेका बेला स्वयंसेवक र स्वास्थ्यकर्मी गरी तीन जनाले बलात्कार गरी भिडिओसमेत बनाएको भन्दै उनीहरू विरूद्ध जाहेरी दिएकी हुन्।
भारतको बैंग्लोरबाट फर्किएकी पीडित महिला १२ दिनदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन्। उनीसँगै क्वारेन्टिनमा बस्ने साथीहरू १४ दिन पुगेपछि कोरोना परीक्षण गरेर घर गए।
उनको १४ दिन पुगेको थिएन।
'पहिले साथिहरूसँगै हुँदा बस्दै आएको कोठामा चुकुल थिएन। त्यसैले शनिबार नयाँ कोठामा सरेकी थिएँ। तर चुकुल भएको कोठामै ममाथि जबरजस्ती भयो,' उनले सेतोपाटीसँग भनिन्।
शनिबार मध्यराततिर उनी सुतेको कोठामा झ्यालबाट कसैले बाहिर निस्क भनेको सुनिन्। ढुंगाले झ्यालमा हाने, ढोको खोल भने। तर उनले खोलिनन्।
पुलिस बोलाउँछु भन्दा झ्यालबाट जिस्काउनेले मानेन।
'हल्ला गरौं भने क्वारेन्टिनका अरू कोठामा बस्नेले कस्तो महिला रहेछ भन्लान् जस्तो लाग्यो,' उनले भनिन्।
निकै तनाव दिएपछि उनी रिसाएर बाहिर आइन्। उनले उनीहरूलाई खासै चिनिनन्।
लम्कीचुहाका मेयर महादेव बजगाईंका अनुसार उक्त क्वारेन्टिनमा त्यो रात २ जना स्वयंसेवक र २ जना स्वास्थ्यकर्मी खटिएका थिए। क्वारेन्टिनमा सुरक्षा तथा अरू सेवा गर्न चाहनेले स्वयं सेवकको रूपमा जान पाउँछन्। त्यही राति उनीहरू त्यहाँ गएका थिए।
स्वयंसेवक भएर गएका ती अन्जान मानिस गाउँका चिनेजानेकै मानिसका छोराहरू रहेछन् भनेर भोलिपल्टमात्र थाहा भएको ती महिलाले बताइन्।
त्यो रात जब उनी ढोका खोलेर बाहिर आइन् नचिनेका मानिस देखेर झन् डर लाग्यो। तर उनले आफू नडराएको देखाइरहिन्। हप्काउन थालिन्, पुलिस बोलाइदिन्छु भनेपछि उनीनजिक आएको मानिस पछि सर्दै गयो। उनी पनि हप्काउँदै एक-दुई पाइला अघि सरिन्। छेउको अर्को कोठानेर पुगेपछि उनलाई अकस्मात भित्र धकेलिदियो।
'त्यही कोठामा उसले जबरजस्ती गर्यो,' उनले भनिन्।
पहिला एक जनालाई देखेकी उनले पछि अर्को मान्छे पनि देखिन्। ती थिए क्वारेन्टिनमै खटिएका स्वास्थ्यकर्मी। डाक्टर हो उसले त बचाउला भन्ने ठानिन्।
मलाई बचाउनु भन्दै हात जोडेर ६/७ पटक आग्रह गरिन्। तर उनले पनि छोडेनन्। डरले चिच्याउन पनि नसकेको उनको भनाइ छ।
अर्कोले बाहिरबाट भिडिओ खिचेको रहेछ। त्यो थाहा पाएर उनलाई झन् डर लाग्यो। उनले उत्तिखेरै ऊसँग भिडिओ डिलिट गर्न अनुरोध गरिन्।
'मेरो बेइज्जत हुन्छ। बच्चाको मुख देख्न पाएको छैन। एक्लो छु,' उनले भनिन्, 'मेरो बेइज्जत हुन्छ भनेर डिलिट गर्न भनें।'
उनी डराएको थाहा पाएर भिडिओ बनाउनेले उनलाई तर्साउन थाल्यो।
'भिडिओ बनाउनेले भाइरल बनाउँछु नत्र पैसा देऊ भन्न थाल्यो,' उनले भनिन्।
अर्को दिन बिहान भएपछि उनले भाइलाई फोन गरिन्।
भाइ र आमा आए। घटनाबारे उनले आमालाई सबै कुरा भनिन्। भाइले पनि थाहा पाए। प्रहरीलाई खबर गरे।
खबरपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतीक बिष्टले पीडितका तर्फबाट आज किटानी जाहेरी आएको बताए।
तीनै जनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने छ।
'पीडितको स्वास्थ्य जाँचको हुँदैछ,' उनले भने।
लम्किचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले अपराधीहरूलाई कारबाही हुनुपर्ने बताए।
'क्वारेन्टिनको सुरक्षा गर्न भनेर खटिएका स्वयंसेवक र स्वास्थ्यकर्मीबाटै यस्तो घटना हुनु दु:खद हो,' उनले भने।
उनले नगरपालिकाको तर्फबाट गर्नुपर्न सहयोग गर्ने बतए।
'हामीले पीडित महिलालाई स्थानीय सरकारबाट हुने सहयोग दिन्छौं। आवश्यक कारबाही प्रहरी र अदालतले गर्छ,' उनले भने।
क्वारेन्टिनमा महिलामाथि सामुहिक बलात्कार भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीयहरुले लम्कीमा आन्दोलन गरिरहेका छन्।
क्वारेन्टिनमा पनि महिलामाथि बलात्कार हुँदासम्म घटनालाई गम्भीरताका रूपमा लिन नसकेको र अपराधीलाई लुकाउन खोजिएको भन्दै स्थानीयहरूले आन्दोलन गरेका हुन्।