जिल्ला अस्पताल पर्वतले आफु मातहत छुट्टै कोरोना विशेष अस्पताल बनाएको छ । अस्पतालमा अहिले ३० जना कोरोना संक्रमित उपचाररत छन्। उनीहरूकै उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूलाई अस्पतालकै आइसोलेसनमा राख्ने तयारी भएको अस्पतालले जनाएको छ।
कोरोना अस्पतालमा ७ दिन काम गरेपछि उनीहरू क्वारेन्टिनमा बसेका थिए। पोखरास्थित प्रयोगशालामा कोरोना परीक्षण थुप्रिएर बसेको कारण क्वारेन्टिनमा बसेका स्वास्थ्यकर्मीको स्वाब चार दिनअघि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाएको थियो ।
प्रयोगशालाले शुक्रबार बिहानै पोजेटिभ नतिजा दिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिशिर देवकोटाले बताए।
‘पोखरामा यसअघि पठाएको स्वाबको रिजल्ट अझै आएको छैन,’ देवकोटाले भने, ‘पोखरामा भीड भएर काठमाडौंमा स्वाब परिक्षण गर्न पठाएका थियौं।’
कोरोना पुष्टि हुनेमा २ जना डाक्टर, १ जना ल्याब टेक्निसियन, १ जना नर्स र १ जना कार्यालय सहयोगी रहेको उनले बताए। कोरोना अस्पतालमा कार्यरत रहेकाले बाहिरी मानिससँग उनीहरूको सम्पर्क नभएको उनको भनाइ छ।
अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएसँगै पर्वत जिल्ला अस्पतालले आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ। अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मका लागि भन्दै ओपिडी सेवा बन्द गरेको हो।