करार अवधि थप नगर्ने निर्णय गरेपछि आत्मदाह गरेका सिद्धार्थ आउजीको परिवारलाई न्याय हेल्थ नेपालले पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
शुक्रबार बिहान मृतक आउजीका श्रीमतीका नाममा तीन लाख रुपैयाँ र छोराछोरीका नाममा एक/एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको बयलपाटा अस्पतालका वित्त अधिकृत रामराज खकुरेलले बताए।
उनले अस्पताल प्रशासनले मृतक आउजीकी श्रीमती गौरीलाई रोजगारी दिने भएको समेत जानकारी दिए।
‘गौरी आउजीलाई अस्पतालमा रोजगारी दिने सहमति भएको छ। उहाँलाई उपयुक्त समय लागेको बेला नियुक्ति पत्र बुझ्न आउनुहुनेछ’, उनले भने।
मृतक आउजीको परिवारलाई स्थानीय तहले पनि दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको साँफेबगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेमराज शर्माले बताए।
गौरी आउजीले अस्पतालबाट चेक प्राप्त भएको बताइन्।उनले नगरपालिकाबाट हुने सहयोगबारे भने जानकारी नभएको बताइन्।
‘अस्पतालमा काम गर्न साउन १७ गतेदेखि जान्छु’, उनले भनिन्।
गर्दै आएको रोजगारी गुमेपछि जेठ २६ गते अछामको बयलपाटा अस्पताल परिसरमा सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएपछि मृत्यु भएको थियो।
उनको बयलपाटामा प्राथमिक उपचारपछि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो।
बढेको आर्थिक भार कम गर्न अस्पतालले आउजीसहित ३५ जना कर्मचारीलाई सेवा अवधि नथप्ने निर्णय गरेपछि उनले आत्मदाह गरेका थिए।
गौरीले सिद्धार्थलाई आत्मदाह गर्न प्रोत्साहन गर्नेलाई कारबाही हुनुपर्ने माग गरेकी छन्।
‘श्रीमान जिउँदै जल्दै गर्दा भिडिओ बनाए तर बचाइदिएनन्’, उनले भावुक हुँदै सेतोपाटीसँग भनिन्’,‘सिद्धार्थ आफैं मर्ने थिएनन्, उनलाई कसले उस्कायो छानबिन हुनुपर्छ।’
श्रीमानले छोडेर गएपछि गौरीको मनमा पीडा छ।
‘अस्पतालले जागिरबाट ननिकालेको भए आज सिद्धार्थ मर्ने थिएन होला’, उनले भनिन्।
उनलाई परिवारको जिम्मेवारीले थप घेरेको छ।
छोराछोरीको पालनपोषण, शिक्षादिक्षा र घर चलाउनुपर्ने जिम्मेवारी उनमा छ। सात पास गरेकी गौरीले पढाइ छोडेको एक वर्षपछि सिद्धार्थसँग बिहे गरेकी थिइन्।
सिद्धार्थको बडाकोटमा किराना पसल थियो। दाजुहरू बम्बै गएपछि उनले एक्लै पसल चलाउन सकेनन् र पसल छाडेर बयलपाटा अस्पतालमा काम गर्न थालेका थिए।
७ वर्षीय छोरा र १० महिनाकी छोरीलाई हुर्काउनु छ गौरीलाई।
‘छोरीलाई धेरै पढाउने मन छ। छोरोलाई त्यही अस्पतालको डाक्टर बनोस् सोचेकी छु,’ गौरीले भनिन्,‘अस्पतालले दिएको पैसाले छोराछोरी पढाउने छु।’