लकडाउनपछि पोखराको व्यापार
कोरोनाभाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गर्दा पोखरामा एक जना पनि संक्रमित थिएनन्।
लकडाउन सुरू भएको चैत ११ देखि नै पोखराका सडक शून्य भए। मानिसहरू घरबाहिर हेर्न पनि डराए।
लकडाउनका कारण विकास निर्माणमा असर परेको र मानिसको दैनिक जीवनमा समस्या चुलिएको भन्दै गण्डकी प्रदेशले वैशाख दोस्रो साता लकडाउन खुकुलो बनाउने निर्णय गर्यो।
साथै पोखरा महानगरले पनि विकास निर्माणका योजना कार्यान्वयनलाई निरन्तता दिने निर्णय गरेपछि पोखराका सडकमा त्यही बेलादेखि गाडी देखिन थाले।
लकडाउनमा दैनिक उपभोग्य वस्तुबाहेक अन्य पसल खुलेका थिएनन्। दैनिक उपभोग्य वस्तुका पसल पनि बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाएका थिए। लकडाउन खुकुलो भएपछि अहिले पनि साँझ ६ बजेपछि प्रहरीले पसल बन्द गराइरहेका हुन्छन्।
लकडाउनका सुरूआती दिनमा कोरोनाभाइरससँग डराएका मानिस अहिले भने त्यतिबेलाजस्तो डराउन छाडेका छन्।
‘कोरोना संक्रमित १ जना पनि नहुँदा जुन डर थियो, अहिले संक्रमित हुँदा त्यति डर देखिएको छैन,’ समाजशास्त्री विश्वकल्याण पराजुलीले भने।
अहिले कास्कीमा ९ जना कोरोना संक्रमित छन्। पोखरामै उपचाररत स्याङ्जाका १ संक्रमितको मृत्यु भइसकेको छ। लकडाउनका सुरूआती दिनमा जस्तो पोखरा अहिले सुनसान छैन, मानिसहरू निस्फिक्री हिँडिरहेका छन्।
‘मान्छेको स्वभाव नै नगर भनेको कुरा गर्ने हो, बस् भनेको ठाउँमा नबस्ने हो,’ पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र विभाग प्रमुखसमेत रहेका पराजुलीले सेतोपाटीलाई भने,‘अन्तर्क्रियामा रहन नपाउँदा मानिसलाई अप्ठ्यारो पर्यो, बाहिर निस्किए।’
कोरोना संक्रमणको फैलावटका कारण लकडाउनको सुरू हुने बेलाभन्दा अवस्था अहिले बढी खतरनाक छ। तर रोगले भन्दा भोकले मरिएला भन्ने डरले जोखिम मोलेर मानिसहरू बाहिर निस्किइरहेका छन्।
जुर्मुराउने जमर्को
पोखराको लेकसाइडस्थित ‘भेराइटी ट्रेकिङ सप’का सञ्चालक कृष्ण काफ्लेले जीवनमै पहिलो पटक यसपालि झन्डै ३ महिना लगातार पसल बन्द गरे। यसअघि २०६२/०६३ को जनआन्दोलनमा १९ दिनमात्र पसल बन्द गरेको काफ्लेले बताए।
सरकारले लकडाउन खुकुलो गरेसँगै काफ्लेले जेठ अन्तिम सातादेखि पसल खुलाएका छन्।
‘अहिले ग्राहक छैन, पसलमा हावा खेलोस् भनेर मात्र खोलेको हुँ,’ उनले सेतोपाटीलाई भने, ‘लामो समय बन्द हुँदा सामान नबिग्रियोस् भनेर पनि पसल खोल्न थालेको हुँ।’
स्याङ्जाबाट चितवन हुँदै पोखरामा व्यापार गर्न आइपुगेका काफ्ले विगत २५ वर्षदेखि लेकसाइडमा व्यापार गरिरहेका छन्। उनले पदयात्रामा लगाउने लुगालगायतका सामग्री विक्रीमा राखेका छन्।
कोरोनाभाइरसका कारण पदयात्री नभएको र पदयात्राको सिजन पनि सकिएकाले बजार सामान्य अवस्थामा आए पनि व्यापार नहुने उनको भनाइ छ।
पोखराका व्यस्त बजार महेन्द्रपुल, चिप्लेढुङ्गालगायतका स्थानका प्रायस् सबैजसो पसल खुलेका छन् भने सडकमा सवारीको चाप पनि सामान्य अवस्थामा जस्तै बढ्दो छ। सडकको किनारमा पार्किङमा राखिने निजी सवारी साधन र मोटरसाइकलले भरिएका छन्। सडकमा हिँड्ने मानिसको चाप पनि दिनहुँ बढिरहेको छ।
तर व्यापार भने पहिलाजस्तो हुने छाँटकाँट देखिन्न।
पसल खोलेपनि व्यापार नभएको अनुभव सुनाउँछिन्, पोखराको न्युरोड स्थित ‘समालोचना फेन्सी हब’का सञ्चालक समालोचना आचार्य।
उनले जेठ ३२ गतेदेखि पसल खोलेकी थिइन्। गत मंसिरमा मात्र २५ लाख रुपैयाँ लगानी गरेर फेन्सी पसल सुरू गरेकी आचार्यले पसल खोलेको तीन महिनामै सटर लगाउनु पर्यो।
लकडाउनका कारण पसल बन्द गरेर तीन महिना घरमै बसेकी आचार्यले अब लगानी उठाउनै मुस्किल पर्ने बताइन्।
‘घरमा हुँदा पसल खोल्न पाए हुन्थ्योझैं लाग्थ्यो,’ उनले भनिन्,‘ पसल खोल्यो कहिलेकाहीँ त दिनभरमा बौनी पनि हुँदैन।’
फेन्सी पसलमा लगानी नउठ्दै लकडाउनले भएको क्षति रोक्न उनले कुनै उपाय भेटेकी छैनन्। पसल छोड्नलाई तत्काल पसल किन्न अर्को ग्राहक पाउँदिनन्, भने छोड्दा घरबेटीसँग ६ महिनाअगाडि नै जानकारी दिनुपर्ने सर्त स्वीकारेकी छन्।
‘आजै बन्द गरौं भने पनि ६ महिनाको भाडा दिनुपर्छ,’ उनले सेतोपाटीलाई भनिन्, ‘महिनाको ४० हजार भाडा पसलै नगरी तिर्न पनि सकिँदैन नि।’ घरबेटीसँग बैठक बसेर भाडा छुटका लागि आग्रह गर्ने तयारी गरेको उनले बताइन्।
पोखरा नयाँ बजारका ‘सुमिना खाजा घर’का रेष्टुरेण्ट सञ्चालक संगम श्रेष्ठले पनि जेठ अन्तिम सातादेखि रेष्टुरेण्ट खुलाएका छन्। तर पहिलाजस्तो व्यापार नै नभएको उनले बताए।
पर्यटकीय केन्द्र लेकसाइडका रेष्टुरेण्टहरू भने अझै खुलेका छैनन्। लकडाउनकै बीच पर्यटक खाना नपाएर अलपत्र पर्ने अवस्था आएपछि प्रशासनले खुलाउन अनुमति दिएका केही रेष्टुरेण्ट खुला रहे पनि अरू भने बन्द छ।
लेकसाइडस्थित ’पोखरा पिज्जा हाउस’का सञ्चालक विजय गुरूङले रेष्टुरेण्ट खोल्ने तयारी गरिरहेको बताए।
‘पर्यटक छैन, खुलाए पनि व्यापार हुने त होइन,’ उनले भने, ‘सरकारले अनुमति दिएकाले पिज्जा हाउस खोल्छु।’
उनले पोखरा भ्यालीभित्र होम डेलिभरीको सुविधा दिने तयारी गरेको बताए।
लेकसाइड खपौंदीकी रेष्टुरेण्ट व्यवसायी हरिकला थापा भने लकडाउनको समय उपयोग गरेको भन्दै धान रोपेकी छिन्। आफ्नो जग्गामा अर्कैलाई खेती गर्न दिएकी हरिकलाले खपौंद्यस्थित प्याराग्लाइडिङ झर्ने मैदाननजिकै धान रोपेकी हुन्।
‘काम नगरी बस्न भन्दा धान रोपम् भनेर हो,’ उनले भनिन्, ‘लकडाउनदेखि काम छैन, के गरेर बस्ने।’
पोखराकै अर्को केन्द्र सभागृहचोक स्थित मिडटाउन ग्लालेरियामा ‘कफी एक्सप्रेस’ सञ्चालन गरेका अर्जुन गुरूङले पनि अहिले कफी पसल खोलेका छन्। लकडाउन अघिसम्म औसतमा दैनिक ८ हजार रुपैयाँको कफी बेच्ने गुरूङले यो तीन महिना पर्वतस्थित घरमा बिताए।
‘लकडाउन खुकुलो भएपछि पसल खोल्न आएको हुँ,’ उनले भने, ‘केही दिन हेर्छु, व्यापार कस्तो हुन्छ।’
लकडाउनमा बन्द भएका बजार सञ्चालकले पसल खुले पनि व्यापार नभएकाले लकडाउनकै अवस्था रहेको बताएका छन्। व्यापार नभएका कारण खुलाउनु र नखुलाउनुमा कुनै फरक नभएको उनीहरूको भनाइ छ।
पुनर्कर्जामाथि शंका
सरकारले रेष्टुरेण्टमा बसेर खान नपाउने तर रेष्टुरेण्टबाट खानेकुरा बोकेर लैजान वा होम डेलिभरी दिन सक्ने गरी सञ्चालन गर्न अनुमति दिएको छ। रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान)का पूर्वअध्यक्ष गोपी भट्टराईले ग्राहकले बोकेर लैजाने र होम डेलिभरीका लागि संस्थागत रूपमै व्यवस्था मिलाउने तयारी गरेको बताए।
व्यवसायीको चिन्ता भने अर्कै रहेको उनले बताए।
‘व्यवसाय खुलाए पनि पर्यटक छैन,’ उनले भने, ‘हामीलाई व्यवसाय कसरी टिकाउने भन्ने नै चिन्ता छ।’
लकडाउन भएपछि धेरै जसो होटल र रेष्टुरेण्टका कर्मचारी घर गएका छन्। उनीहरूलाई ल्याउन, तलब दिन र व्यवसायको भाडा तिर्न नै नसक्ने अवस्थामा व्यवसायी पुगेको भट्टराईले बताए।
सरकारले लकडाउनका कारण मारमा परेका व्यवसायीलाई सहुलियत दरमा ऋण दिन १ खर्बको पुनकर्जा कार्यक्रम ल्याएको छ। उक्त ऋण छिटो पाउनु पर्ने व्यवसायीले माग गरेका छन्।
‘अहिले व्यवसाय खुलाउन पनि त्यो ‘फण्ड’ हामीलाई चाहिन्छ,’ भट्टराईले भने।
सरकारले सहुलियत ऋणमा दिने भनेको कर्जा आफूहरूकहाँ आइपुग्नेमा व्यवसायीले शंका व्यक्त गरेका छन्।
‘सरकारले दिने भने कर्जा हामीकहाँ आइपुग्नेमै हामीलाई शंका छ,’ रेवानका पूर्वअध्यक्ष भट्टराईले भने, ‘आइपुगेन भने धेरै व्यवसायी पलायन हुनेछन्।’
सरकारले दिने सहुलियत ऋण काठमाडौंतिरै ठूला व्यवसायीले लिएर सकिने व्यवसायीको आशंका रहेको उनले बताए। उक्त ऋण लिनका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु पर्ने र त्यो नल्याउँदा ढिलाइ हुन सक्ने उनको भनाई छ।
व्यवसाय जोगाउनका लागि पदयात्रा र घुमफिर जोगाउनु पर्ने र त्यस क्षेत्रका साना व्यवसायीलाई राहत दिनु पर्ने पोखराका अर्का व्यवसायी नरेश भट्टराईले बताए।
‘सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० बाट उत्साही भएर लगानी थपेका र नयाँ लगानी गरेका पदमार्ग र पर्यटकीय क्षेत्रका व्यवसायी लकडाउनले सबैभन्दा धेरै मर्कामा परेका छन्,’ उनले भने, ‘सरकारको राहत शहर बजारका ठूला व्यवसायीलाई मात्र होइन, पदमार्गका साना व्यवसायीलाई पनि पुग्नुपर्छ।’
यता, होटल व्यवसायीको पनि रेष्टुरेण्ट व्यवसायीको जस्तै चिन्ता छ। उनीहरुलाई पनि व्यवसाय टिकाउनमै चिन्ता परेको होटल एसोसिएसन अफ नेपाल ९हान०का पश्चिमाञ्चल प्रमुख बिकल तुलाचनले बताए।
‘होटल त सबै भन्दा अन्तिममा खुल्ला,’ तुलाचनले भने, ‘सरकारले सम्बोधन नगर्दासम्म खुलाउन सक्ने अवस्था नै छैन।’
होटल खुलाउन तत्काल आवश्यक वित्तीय व्यवस्था मिलाउन सरकारले दिने भनेको पुनर्कर्जा पाउँछ कि पाउँदैन भन्ने दुविधा रहेको उनले बताए। होटलको भाडा, बैंकको किस्ता, स्टाफलाई तलबलगायतका खर्च तिर्न पनि नसक्ने अवस्थामा आइपुगेको उनले भने, ‘सरकारले दिने भनेको सहुलियत ऋण पाइयो भने होटल खुलाउन सकिन्छ।’
होटल खुल्न थालेपछि हानको तर्फबाट आन्तरिक पर्यटक र सहज अवस्था भए बाह्य पर्यटक आकिर्षत गर्ने गरी प्याकेज बनाउने तयारी गरेको समेत तुलाचनले बताएका छन्।
‘अब आउने दशैं, तिहार र पर्यटकीय सिजनलाई फोकस गरेर प्याकेज बनाउँछौं,’ उनले भने, ‘कोरोना भाइरस रोकथाम भए हानले पर्यटक आकर्षित गर्ने योजना ल्याउँछ।’
कोरोना भाइरसको संक्रमण बढिरहे के गर्ने भन्ने कुरा सरकारले ल्याउन लागेको गाइडलाइनले स्पष्ट पार्नु पर्ने उनको भनाइ छ।