लकडाउन भएपछि नेपालमै अड्किएका आफ्ना नागरिकलाई अस्ट्रेलियाले तीन पटकसम्म विमान चार्टर गरेर स्वदेश फर्कायो। अस्ट्रेलियाका फिल्म निर्देशक कलानी गाकोन त्यही बेला आफ्नो जन्मभूमि फर्किन सक्थे। तर नेपालमै रहेर सामाजिक काममा उनी सक्रिय भए।
आर्थिक अभाव र समस्यामा परेका नेपालीलाई खाजा र सहयोग पुर्याउने काम गरे। लकडाउनका तिनै दृश्य क्यामरामा कैद गरिरहेका थिए।
करिब पाँच वर्षदेखि नेपाल बसेका कलानी नेपाली र तामाङ भाषा बुझ्छन्, बोल्छन्। नुवाकोटमा तामाङ परिवारसँग बस्ने उनलाई स्थानीयले 'रोहन लामा' नाम दिएका छन्।
'यो त मेरो दोस्रो घरजस्तै हो नि,' कलानीले सेतोपाटीसँग भने, 'यस्तो समस्याको समयमा कसरी भागेर जाऊँ? यहाँका दाजुभाइलाई सहयोग गर्नुपर्छ भन्ने लागेर पनि फर्किन चाहिनँ।'
तर अब उनले नचाहेर धर छैन। उनी नेपाल बस्न पाउने छैनन्। आफ्नै देश अस्ट्रेलिया जानुपर्नेछ। र, पाँच वर्षमा धेरैजसो समय नेपालमै बिताएका कलानी दुई वर्षसम्म नेपाल आउन पाउने छैनन्। उनलाई नेपाल सरकारले प्रतिबन्ध लगाएको छ।
गत हप्ता महामारी समयमा सरकारको भ्रष्टाचार र कोरोना परीक्षण लापरबाहीविरूद्ध युवाहरूले आन्दोलन गरेका थिए। कलानीका अनुसार उनी पनि माइतीघरमा भिडिओ खिच्न पुगेका थिए। उनीसहित छ विदेशीलाई प्रहरीले पक्राउ गर्यो। विदेशी भएर आन्दोलनमा सहभागी भएकोमा अध्यागमन विभागले दुई वर्षका लागि उनीहरूलाई नेपाल आउन रोक लगायो।
'विदेशीले नेपाल बस्दा यहाँको कानुन पालना गर्नुपर्छ। पर्यटक भिसामा आएको भए घुम्ने हो, वर्किङ भिसामा आएको भए काम गर्ने,' अध्यागमन विभागका सूचना अधिकारी राम चन्द्र तिवारीले भने, 'यो देशका नागरिकलाई पो आन्दोलनमा सहभागी हुने लोकतान्त्रिक अधिकार छ। विदेशीहरू सहभागी हुनुलाई राजनीतिक मानिन्छ।'
'यहाँको ऐनमै त्यो कुरा स्पष्ट लेखिएको छ। आन्दोलन त के हामीले आशंकाको भरमा एयरपोर्टबाटै विदेशीलाई फर्काएको धेरै उदाहरण छ,' उनले थपे।
कलानी यी सबै कुराबाट आफू अनभिज्ञ रहेको बताउँछन्। आन्दोलनमा सहभागी हुनुभन्दा पनि भिडिओ खिच्ने मनसायले पुगेको बताउने उनी भन्छन्, 'म त के भन्नु के भन्नु भयो। त्यसरी निकाला भएको थाहा पाउँदा साँच्चै एकदम नरमाइलो लागिरहेको छ। जे भयाे एकदमै नराम्रो भयो।'
आफूहरु तीन दिन जेल बसेको र २० हजार जरिवाना तिरेको उनले बताए।
कलानी पहिलो पटक नेपाल आएको २०७२ सालको भुइँचालोताका हो। त्यो बेलादेखि नै नेपाल ओहोरदोहोर गरिरहेका छन्।
'म खासमा यहाँ भुइँचालोको प्रभाव हेर्न आएको। सहयोगभन्दा पनि मलाई भुइँचालोको अनुभव बिल्कुलै नौलो लाग्यो,' उनले भने।
भुइँचालो महशुस गर्ने मनसायले आइपुगे पनि सहयोग नगरी उनी बस्न सकेनन्। नुवाकोटमा स्कुल, घरहरू बनाए। त्यहीक्रममा उनलाई त्यहाँका मान्छे र समुदाय मनपर्न थाल्यो।
'मलाई यो ठाउँ घरजस्तै लाग्यो। किनकी नेपालमा जे छ त्यो हामीसँग छैन,' उनले भने, 'यहाँ एकता छ, समाज छ। मानिसहरू एकअर्कासँग राम्ररी कुराकानी गर्छन्। मान्छेलाई मान्छेजस्तै व्यवहार गर्छन्। विदेशमा त्यस्तो छैन। तर यहाँका मान्छेले आफूसँग भएको विशेषता महशुस नै गरेका छैनन्।'
बाहिर राम्रो आम्दानी हुने र जीवन बन्ने भए पनि आत्मसन्तुष्टि नपाइने, परिवार–समाज केही नहुने उनको अनुभव छ। त्यही कुरा नेपालमा भेटेकाले त उनले नुवाकोटमा आफ्नै लागि सानो घर बनाए। त्यहाँ उनको नेपालमै बनेका परिवार बस्छन्। भावनाको नाता गाँसिएका हजुरआमा, आमा र भाइ।
भुइँचालोपछि उनले त्यहाँ 'भूकम्प प्रोजेक्ट' भनेर सानो संस्था खोले। सात केटाकेटीको पढाइ र भविष्यमा लगानी गरे। नेपाल आउँदा उनले भुइँचालोबारे पनि फिल्म बनाए। 'भूकम्प' नाम दिइएको उक्त फिल्ममा भुइँचालोको चित्रण र केटाकेटीले त्यसलाई कसरी बुझे भन्ने दृष्टिकोणबाट देखाइएको छ।
उनले बनाएको फिल्म 'जर्नी टु द सेन्टर अफ माई हार्ट' ले गत वर्ष आयोजित काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ) मा दोस्रो पुरस्कार पाएको थियो। नेपाल बस्दै आएका ९ विदेशीको कथा फिल्ममा समेटिएको छ। फिल्ममा खुसीको परिभाषा देखाउन खोजिएको छ। खुसी खोज्दै मान्छेहरु आफ्नो देश छाडेर बाहिरी मुलुक जाने कथा छ।
फिल्मका लागि उनले करिब दुई सय मान्छे भेटेछन्। त्यही कथाका निर्देशक कलानी पनि आफ्नो देशभन्दा नभेटिएको खुसी नेपालमै खोजिरहेका छन्।
उनले नेपाली फिल्महरू 'लिलिबिली', 'इन्टु मिन्टु लन्डनमा'मा समेत काम गरेका थिए। फिल्म क्षेत्रप्रतिको चाहना उनलाई सात वर्षको हुँदादेखि नै रहेछ। हजुरबुवाको क्यामरामा झुम्मिन्थे। पछि आफैंले सिके। मान्छेको मनसम्म पुग्ने सशक्त माध्यम उनलाई फिल्म नै हो जस्तो लाग्छ।
मान्छेका भावनासँग जोडिएका कथा खोज्दै विभिन्न देश घुम्न रूचाउने कलानीलाई नेपालको वातावरण र मायाले घरिघरि यहाँ फर्काइरह्यो। यहीँका जनजीवनका विभिन्न आयामका कथा भन्न प्रेरित गरिरह्यो।
पछिल्लो पटक उनी नेपालका लोपोन्मुख भाषा संरक्षणका लागि फिल्म खिच्दै थिए। नेपालको हिमालदेखि तराईसम्म पुगेर उनीहरूकै भाषामा उनीहरूका कथा समेट्न चाहन्थे। त्यसका लागि मानवशास्त्रीहरूसँग सहकार्य गरिरहेका थिए।
त्यसैबीच लकडाउन भएपछि लकडाउनकै कथा र पात्रहरू क्यामरामा कैद गर्न थालेका थिए।
'यहाँ बस्दाबस्दै यो ठाउँ र यहाँका मान्छे मलाई आफ्नै जस्तो लाग्न थालेको छ। यहाँका मान्छेहरूले पनि मलाई माया गर्छन्,' कलानीले भने, 'अब फर्किएर के गर्छु भन्ने कुरा मलाई थाहा छैन। भविष्यका बारेमा सोच्नै नसक्ने अवस्थामा छु।'