डोटीको बिपी नगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नृपबहादुर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर साउदबिरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
अवैध काठ तस्करी गरेर ट्याक्टरमा लोड गरिरहेको समयमा स्थानीयले काठ पक्राउ गरी नियन्त्रणमा लिएको भनी उजुरी गरेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।
अनुसन्धानमा भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले उनीहरुलाई जनही बिगो ६१ हजार २० कायम गरी सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
प्रहरी निरीक्षक बोहराले सामुदायिक वनको सार्वजनिक सम्पत्ति बदनियतपूर्ण तवरले हानिनोक्सानी गरेको तथा सो कार्यलाई ढाकछोप गर्न सामुदायिक वन उपभोक्ता समितिलाई गैरकानूनी दबाब दिएको तथ्य पुष्टि हुन आएको अख्तियारको दावी छ।
यस्तै केदार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र बहादुर साउदले इलाका प्रहरी कार्यालय बिपी नगरलाई विना छुट पुर्जी दिने निर्णय गरी आफ्नो समुदाय मातहतको सरकारी सम्पत्तिको रुपमा रहेको सार्वजनिक वन हिनामिना गरेको आरोप लागेको छ।
प्रहरी निरीक्षक बोहराले सो कसुर लुकाउन भूमिका समेत खेलेको पुष्टि हुन आएको अख्तियारले दावी गरेको छ। उनीहरुबिरुद्ध विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ।