ह्युमानिटी फाउण्डेशनले कोरोना परीक्षणका लागि पिसिआर मेसिन खरिद गरी डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरेको छ।
फाउण्डेशनले खरिद गरेको मेसिन काठमाडौंबाट ट्रकमा हालेर कैलाली ल्याइएको थियो।
आइतबार फाउण्डेशनका अध्यक्ष श्याम तायलले डडेल्धुरा उप–क्षेत्रीय अस्पतालका अध्यक्ष करुणाकर ओझालाई मेसिन हस्तान्तरण गरे। आजै मेसिन डडेल्धुरा लगिने छ।
प्रदेशमा एक मात्र पिसिआर मेसिन भएकाले संकलन भएको स्वाव नमूना समेत परीक्षण हुन नसक्दा काठमाडौं पठाइँदै आएको छ।
भारतबाट सबैभन्दा धेरै नागरिक प्रदेशमा आएको, केहीले ज्यान समेत गुमाएकाले थप जटिलता बढ्न सक्ने भएकाले परीक्षण बढाउन सामाजिक क्षेत्रबाट मेसिन खरिद गरिएको तायलले बताए।
फाउण्डेशनलाई मेसिन खरिदका लागि समाजसेवी, बुद्धिजिवी तथा प्रवासी नेपालीबाट पनि सहयोग प्राप्त भएको उनले बताए। मेसिन खरिदका लागि अहिलेसम्म ६० लाख रुपैयाँ उठेको तायलले बताए।
हाललाई दुई हजार पाँच सय थान पिसिआर किट पनि प्राप्त भएको उनले बताए। मेसिन जडान गर्न एक हप्ता जति लाग्नसक्ने अस्पतालका अध्यक्ष ओझाले बताए।
अस्पतालमा ल्याव तयारी अवस्थामा रहेको र जनशक्ति पनि सम्पर्कमा रहेको ओझाले बताए। ‘मेसिन राख्न मात्र बाँकी छ। ल्याव बनाउने र कर्मचारीको व्यवस्था भैसक्यो।” उनले भने।
ल्यावमा आवश्यक ५ जना जनशक्ति अस्पतालकै प्रयोग गरिने र २ जना अन्य ठाउँबाट आउने पक्का भैसकेको उनको भनाइ छ ।