कोरोना भाइरसको संक्रमण रोकथाम, जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत सेती प्रादेशिक अस्पतालमा ६४ जना कर्मचारी थपिएका छन्।
लकडाउनयता अस्पतालले माघ र वैशाख दुईपटक खोलेको विज्ञापनमा आवदेन परेकामध्ये अस्पतालले ६४ जना कर्मचारीलाई नियुक्ति दिएर काममा खटाएको हो।
माघ १२ गते जारी गरेको सूचना अनुसार ४३ र वैशाख महिनामा खोलेको विज्ञापनमा २३ जना गरी ६४ कर्मचारी छनोट भएर अस्पतालमा कार्यरत छन्।
जसमा १३ डाक्टर, ३८ जना स्टार्फ नर्स, एनएसथिसिया असिसटेन्ट १, ल्याब टेक्निसियन २, स्त्री रोग विशेषज्ञ २, बालरोग विशेषज्ञ १, हड्डी रोग विशेषज्ञ १ जना रहेका छन्।
यस्तै, फिजिसियन १, सर्जन १, फिजियोथिरापी १, ल्याब टेक्नलोजिष्ट २ र अस्पताल व्यवस्थापक १ जना रहेको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालका रूपमा प्रादेशिक अस्पताल रहेको छ।
अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न हुने गरेको अवस्थामा कोरोना महामारी बढ्दै गएपछि उक्त कर्मचारीलाई काममा राखेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।
उनले भने, ‘सुरूमा कोरोनाको डरले नियुक्ति बुझ्न नमानेको अवस्था थियो। तर अहिले त आवश्यकताअनुसार नै कर्मचारी थपिएका छन्।’
उनीहरू सबै नियुक्ति पाएर काममा खटिरहेको श्रेष्ठले बताए।
थप भएका नयाँ कर्मचारीमध्ये ४ जना डाक्टर, १५ जना स्टाफ नर्स र २ जना ल्याब टेक्नलोजिष्ट गरी २१ जना कर्मचारी कोरोनाका बिरामीको उपचारमा संलग्न छन्।
अस्पतालको कोरोना उपचार भवनमा ११ जना कोरोना संक्रमित छन्।
सेती प्रादेशिक अस्पतालमा नेपाल सरकारबाट ५० शैय्याको अस्पतालको दरबन्दी र सुविधा छ। वि.सं १९९७ सालमा जिल्ला अस्पतालका रूपमा स्थापना भएको यो अस्पताल अहिले प्रादेशिक अस्पताल भएको छ। २०४० सालपछि स्तरोन्नतिको पर्खाइमै छ।
यहाँ ५० शैय्या नेपाल सरकारको स्वीकृति र थप ७५ शैय्या अस्पतालबाटै सञ्चालित छन्।