सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ६६ तहमा कोराेना संक्रमण पाइएको छ।
सोमबारसम्म तथ्यांक हेर्दा प्रदेशका स्थानीय तहमध्ये ६६ तहमा संक्रमण देखिएको सम्वन्धित जिल्ला प्रशाशन कार्यालयले जानकारी दिएका छन्।
प्रदेशको जनसंख्या बढी रहेको कैलाली जिल्लाका १३ वटा स्थानीय तहमध्ये १२ मा संक्रमण देखिएको छ भने जिल्लाको जोशीपुर गाउँपालिकामा मात्रै अहिलेसम्म संक्रमित नदेखिएको जिल्ला प्रशाशन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
यस्तै भूगोलका हिसावले प्रदेशको सवैभन्दा ठूलो जिल्ला बझाङका १२ स्थानीय तहमध्ये हालसम्म ५ तहमा संक्रमण देखिएको छ। बाँकी ७ तहमा कोराना संक्रमण नदेखिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए।
यस्तै अछामका १० स्थानीय तहमध्ये ९ मा संक्रमण देखिएको छ भने जिल्लाको पञ्चदेवलविनायक नगरपालिकामा मात्रै कोराना संक्रमण नदेखिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।
बाजुराका ९ स्थानीय तहमध्ये ४ स्थानीय तहमा कोराना संक्रमण फैलिएको छ। बाँकी ५ स्थानीय तहमा भने अझै संक्रमण नदेखिएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।
कञ्चनपुरको ९ स्थानीय तहमध्ये ८ मा संक्रमण देखिएको छ। एक स्थानीय तहमा मात्रै कोराना संक्रमण नदेखिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।
यस्तै, दार्चुलाका ९ स्थानीय तहमध्ये ३ तहमा कोराना संक्रमण फैलिएको छ। बाँकी ६ स्थानीय तहमा भने अहिलेसम्म नदेखिएको सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले जानकारी दिए।
डोटीका ९ तहमध्ये बोगटान फुड्सिल गाउँपालिका वाहेक सबैमा संक्रमण फैलिसकेको प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताए।
यसैगरी, बैतडीका १० स्थानीय तहमध्ये ९ मा संक्रमित छन् भने पुर्चौडी नगरपालिकामा मात्रै संक्रमण अहिलेसम्म नदेखिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
डडेल्धुराका भने सातै स्थानीय तहमा कोराना संक्रमण देखिइसकेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। अहिलेसम्म संक्रमण नफैलिएका २२ स्थानीय तहमा थप सतर्कता अपनाइएको सम्वन्धित स्थानीय तहले जानकारी दिएका छन्।
कोराना नभित्रियोस् भन्नका लागि स्थानीय तहले स्रोत साधनले भ्याएअनुसार काम गरिरहेको डोटीको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती देवि बमले बताइन्।
उनले अहिलेसम्म आफ्नो स्थानीय तहमा कोराना संक्रमण नदेखिनु खुसीको कुरा भएको सुनाइन् ।क्वारेटिन्नमा रहेकाहरुको परीक्षणमा जोड दिँदै सर्वसाधारणमा सचेतना फैलाएर कोराना संक्रमण फैलिन नदिनका लागि जनप्रतनिधिहरु २४सैं घण्टा खटिरहेको उनले दावी गरिन्। साथै उनले लकडाउनमा थप कडाई गर्न पहल गर्ने बताइन्।
कोराना संक्रमण नफैलिएका स्थानीय तहमध्ये बझाङको दुर्गाथली गाउँपालिका पनि एक हो। संक्रमण फैलिन नदिन र भित्रिहाले भने पनि आवश्यक पुर्व तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताए।
उनले स्थानीय तहको पहलमा पिसिआर मेसिन खरिद गर्नका लागि आवश्यक रकम संकलन भइरहेको र चाँडै मेसिन खरिद गरेर संचालन गर्ने पनि जानकारी गराए।
यस्तै सोमबार मात्रै सुदूरपश्चिम प्रदेशमा थप ९६ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार १२० पुगेको छ।
पछिल्लो समय प्रदेशभर तीव्र रुपमा फैलिएको कोराना संक्रमण न्युनीकरणका लागि तिनै तहका सरकारले विशेष कदम चाल्नुपर्नेमा सर्वसाधारणहरुले दवाव दिएका छन्।