बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर- ७ मजखोरी माविको क्वारेन्टिनमै पासो लगाएर आत्महत्या गरेका युवकको कोरोना परीक्षणमा समस्या भएको छ।
विकट ठाउँ भएकाले यातायातको साधान उपलब्ध नहुँदा उनको नमूना परीक्षणमा समस्या भइरहेको हो।
स्थानीयले उनको तत्काल कोरोना परीक्षण गरिनुपर्ने माग राखे पनि परीक्षण गर्न भने सम्भव नदेखिएको वडा अध्यक्ष पदम मण्डेलले बताए।
‘आजै नमुना धनगढी पठाउने भनेका थियौं, यातायात समयमै नपाउँदा भएन,’ उनले भने,‘उनको परीक्षण हुन समय लाग्ने देखिन्छ।’
अहिले साँझ परीक्षण विना नै शव गाड्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले जानकारी दिए।
जिल्ला प्रशासन, प्रहरी, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली आज २ घण्टा हिँडेर घटनास्थल पुगेको थियो।
घटना भएको झण्डै २४ घण्टापछि टोलीले अहिले शव खोलामा गाड्ने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष अक्कल धामीले बताए।
मृतकका श्रीमती र छोरालाई स्वदेश ल्याउनका लागि स्थानीय सरकारले सहयोग पनि गर्ने पनि अध्यक्ष धामीले बताए।
६ दिनअघि भारतको बैंगलरूबाट बझाङ आएका मृतक युवकले केही दिनदेखि पारिवारिक तनावले आत्महत्या गरेको आशंक गरिएको छ। तर उनले के कारण आत्महत्या गरे? भन्ने रहस्य बाहिर खुल्न नआएको प्रहरी जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।