असार १ गते भित्र पिसिआर मेसीन खरिद गरिसक्ने निर्णय गरेको भए पनि बझाङका स्थानीय तहले अझै मेसिन खरिदको काम अगाडि बढाउन सकेका छैनन्।
मेसिन किन्न चाहिने पैसा संकलन नहुँदा काम अगाडि बढ्न नसकेको हो।
जेठ २६ गते बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मेसिन किन्ने निर्णय भएको थियो।
सोही निर्णयअनुसार असार १ गतेभित्र मेसिन ल्याएर परीक्षण थाल्ने तयारी गरेको भए पनि ९ गतेसम्म पनि मेसिन किन्ने टुंगो भइसकेको छैन।
जिल्ला अस्पताल बझाङका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सन्दीव ओखेडाका अनुसार १२ स्थानीय तहमध्ये अहिलेसम्म मष्टा र सुर्मा गाउँपालिकाले मात्रै अस्पतालको खातामा रकम जम्मा गरेका छन्।
‘छविस पाथिभेरा र बिथ्डचिर गाउँपालिकाले चेक तयार गरेको छ भन्ने छ। तर, खातामा आएको छैन,’ डाक्टर ओखेडाले भने।
अस्पतालको खातामा सबै रकम जम्मा भएपछि मेसिन खरिद, जडान सञ्चालनको जिम्मा अस्पतालले लिएको छ।
अस्पतालले आफूले गर्ने कामको तयारी गरिसकेको भए पनि रकम संकलन हुन नसक्दा मेसिन खरिदमा अन्यौल भएको हो।
कतिपय स्थानीय तहमा लेखापाल नहुँदा पनि रकम संकलनमा ढिलाइ भएको बताइएको छ।
१५ लाख दिने गरी कार्यापालिकाबाट निर्णय भैसकेको जयपुथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले बताइन्। उनले भनिन्, ‘अस्पतालको खातामा एक-दुई दिनमै रकम जम्मा गर्ने तयारी भइरहेको छ।’
अन्य स्थानीय तहबाट पनि रकम हाल्ने काम भैरहेको र छिट्टै नै मेसिन किन्ने उनले बताइन्।
स्थानीय तहमध्ये १० गाउँपालिकाबाट १०-१० लाख, २ नगरपालिकावाट १५-१५ लाख र जिल्ला समन्वय समितिबाट १५ लाख गरी १ करोड ४५ लाख रकममा बझाङ जिल्ला अस्पतालमा उक्त मेसिन सञ्चालन गर्ने भनिएको हो।
पीसीआर मेसिनको अभावमा कोराना परिक्षणमा समस्या भएको भन्दै स्थानीय तह र जिल्ला समन्वय समितिले मेसिन खरिद गर्ने निर्णय गरेका थिए।
यस्तै कञ्चनपुर र बाजुरा जिल्लाका स्थानीय तहले पनि मेसिन खरिद गर्ने निर्णय गरिसकेका छन्।
सुदूरपश्चिममा अहिले धनगढीको एउटा प्रयोगशालामामात्र पिसिआर मेसिनबाट कोरोनाभाइरसको परीक्षण भइरहेको छ। डडेल्धुरा अस्पतालमा पिसिआर मेसिन किनेर ल्याइएको छ तर व्यवस्थापकीय काम बाँकी रहेकाले मेसिन सञ्चालन हुन सकेको छैन। पछिल्लो समय सुदूर पश्चिममा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरूको संख्या बढेको छ तर उनीहरूको स्वाब परीक्षण गर्ने पिसिआर मेसिन पर्याप्त नहुँदा स्वाब काठमाडौंसम्म पठाउनु परिरहेको छ।