गत असार ५ गतेदेखि दैनिक ६ हजार जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण हुँदै आएको छ।
यो अहिले उपलब्ध स्रोत साधनले गर्नसक्ने दैनिक परीक्षण क्षमता होइन।
एक प्रयोगशालाका स्वास्थ्यकर्मीका अनुसार देशभर रहेका २४ वटा प्रयोगशालाबाट दैनिक परीक्षण गर्नसक्ने भनेको ३ हजार जनाको हो।
तर सरकारले 'पुल टेस्टिङ' विधिबाट दैनिक ३ हजार परीक्षण क्षमतालाई ६ हजारमा पुर्याएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा गत जेठ २१ गतेदेखि परीक्षणलाई दोब्बर बनाउने काम अघि बढेको देखिन्छ।
गत जेठ २० गते ३ हजार ४ सय ४० जनाको पिसिआर परीक्षण भएकोमा २१ गते ४ हजार ९ सय २४ जनाको परीक्षण भएको छ।
अर्थात एकैदिनमा झन्डै १५ सय बढी परीक्षण भएको देखिन्छ।
'पुल टेस्टिङ' कै कारण जेठ २१ गतेदेखि परीक्षण संख्या दैनिक उकालो लाग्दै आएको छ।
गत असार ५ गतेबाट भने दैनिक ६ हजार जनाको परीक्षण हुँदै आएको छ।
२४ वटा प्रयोगशालामध्ये टेकु अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा नियमित 'पुल टेस्टिङ' विधिबाट परीक्षण गरिँदै आएको छ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक मंगल रावलले दैनिक २ सयदेखि ९ सयसम्मको पुल टेस्टबाट परीक्षण हुँदै आएको जानकारी दिए।
'हामीले जोखिम भएको ठाउँहरूबाट आएको नमूनालाई छुट्टाछुट्टै र जोखिम कम भएको ठाउँबाट आएको नमूनालाई पुल टेस्ट गर्ने गरेका छौं,' उनले भने।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि दैनिक ६ जनासम्मको पुल टेस्ट विधिबाट परीक्षण गर्दै आएको छ।
पुल टेस्ट गर्दा १० वटा नमूनालाई एउटै भाडोमा हालेर परीक्षण गरिन्छ।
त्यसरी परीक्षण गर्दा नतिजा नेगेटिभ आए १० वटै नमूना नेगेटिभ भएको मानिन्छ। तर एउटा मात्र पोजेटिभ देखिए फेरि १० वटामा कुन-कुन पोजेटिभ हो भनेर छुट्याउन सबै नमूनाको छुट्टाछुट्टै परीक्षण गर्नुपर्छ।
पुल टेस्ट गर्दा परीक्षण किटको पनि जोहो हुन्छ। एउटै किटबाट १० वटा नमूनाको परीक्षण गर्न सकिन्छ। तर छुट्टाछुट्टै परीक्षण गर्ने हो भने एउटा नमूनाको परीक्षण गर्न एउटा किट खर्च हुन्छ। गत वैशाखमा परीक्षण किट अभाव भएपछि सरकारले 'पुल टेस्टिङ' विधिबाट परीक्षण गर्ने नीति अघि सारेको हो।
त्यसअघि विज्ञहरूले समेत पुल टेस्टिङ गर्न सुझाउँदा मन्त्रालयले कुनै चासो देखाएको थिएन। तर पछि परीक्षण किट अभावका कारण प्रयोगशालाहरू नै बन्द हुने स्थिति आएपछि स्वास्थ्य मन्त्रालयले पुल टेस्टिङ विधिबाट परीक्षण गर्ने निर्णय गर्यो।
त्यसअघि दैनिक ३ हजार व्यक्तिको परीक्षण गर्ने क्षमता भए पनि ३ सय जनाको मात्र परीक्षण गरिँदै आएको थियो। पछि एउटै कीटको खर्चमा १० वटा नमूनाको परीक्षण गर्न सकिने भएपछि मन्त्रालयले 'पुल टेस्टिङ' लाई मान्यता दिएको हो।
'पुल टेस्टिङ' कस्को गर्ने र कसरी गर्ने भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड जारी गर्यो।
सोही अनुसार पुल टेस्ट गर्न मातहतका सबै प्रयोगशालाहरूलाई जानकारी गराइयो। अहिले 'पुल टेस्टिङ' को प्रभावकारिता हेरेर कति प्रयोगशालाले सो विधिबाट परीक्षण गर्दै आएका छन् भने कतिले बन्द गरेका छन्।
भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भने एक महिनाअघि नै पुल टेस्टिङ बन्द भएको छ।
प्रयोगशालाका निर्देशक गिरीले भने, '३० प्रतिशत नमूना पोजेटिभ देखिएपछि हामीले पुल टेस्टिङ बन्द गरेर पहिल्यैकै जसरी प्रत्येक नमूनालाई छुट्टाछुट्टै परीक्षण गर्दै आएक छौं।'
विज्ञहरूका अनुसार पुल टेस्टिङ संक्रमण दर कम भएका ठाउँमा प्रभावकारी मानिन्छ। किनभने पुल टेस्ट गर्दा १० मध्ये एउटा नमूना मात्र पनि पोजेटिभ छ भने फेरि कुन-कुन पोजेटिभ हो भनेर छुट्याउन प्रत्येक नमूनालाई छुट्टाछुट्टै परीक्षण गर्नुपर्छ। त्यसो थप समय र किट पनि बढी खर्च हुन्छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि कुल परीक्षणमध्ये १० प्रतिशतको पनि 'पुल टेस्टिङ' गर्न नसकेको जनाएको छ।
५० हजार बढी पिसिआर परीक्षण गरिएको सो प्रयोगशालामा ५ हजारको पनि पुल टेस्टिङ गर्न सकिएन।
प्रयोगशालाकी निर्देशक रूना झाले भनिन्, 'अहिले पुल गर्दा धेरै पोजेटिभ केसहरू देखिने गरेको छ। जसले गर्दा फेरि दोहोर्याएर परीक्षण गर्दा समय र किट दुबैको बढी खर्च हुन्छ।'
त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट प्राध्यापक डा. प्रकाश घिमिरेले एउटै ठाउँबाट एकै समयमा आएका र एउटै ठाउँमा रहेका व्यक्तिहरूको पुल टेस्टिङ गर्दा प्रभावकारिता हुने बताए।
'दिल्लीबाट एउटै बसमा आएर भैरहवाको क्वारेन्टिनमा बसेकाहरूको पुल टेस्टिङ गर्न सकिन्छ', उनले भने, 'तर हाम्रो क्वारेन्टिनमा पहिले र पछि आएर र विभिन्न ठाउँबाट आएकाहरू एकै ठाउँ बस्नुभएको छ। त्यस्ता व्यक्तिहरूमा पुल टेस्टिङ गर्न अलिक समस्या हुन्छ।'
त्यसरी पहिले र पछि आएका व्यक्तिहरूमा कसलाई कतिबेला संक्रमण भएको भन्ने थाहा हुन्छ। त्यसो हुँदा ती व्यक्तिहरूको नमूना एउटै पुलमा राखेर परीक्षण गर्दा एउटा मात्र पोजेटिभ देखिए फेरि दोहोर्याएर सबैको छुट्टाछुट्टै परीक्षण गर्नुपर्छ।
स्वास्थ्य मन्त्रालयले आगामी असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको पिसिआर परीक्षण गर्ने गरी गृहकार्य अघि बढाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भएका प्रयोगशालाहरूलाई तीन सिफ्टमा सञ्चालन गर्ने र निजी प्रयोगशालाहरूसँग समेत सहकार्य गरेर दैनिक १० हजार जनाको परीक्षण गरिने बताए।
सोमबारसम्म १ लाख ८१ हजार जनको पिसिआर परीक्षण भएको छ। मन्त्रालयले भदौसम्म ४० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण गरेको छ।
अहिले संक्रमितको संख्या ९ हजार ५ सय ६१ जना छन् जसमध्ये २३ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ४८ जना निको भएका छन्।