नेपालमा कोरोनाभाइरस नियन्त्रण हुन नसके १ लाखभन्दा बढी संक्रमित हुने अनुमान गरिएको छ।
विभिन्न अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालिएको संक्रमण रोग विशेषज्ञ डा. प्रभात अधिकारीले सेतोपाटीलाई बताए।
संक्रमण रोग तथा आई.सि.यू विशेषज्ञ डा. अधिकारी ग्राण्डी अस्पतालमा कार्यरत छन्।
'अहिले जुन तरिकाले केस देखिएको छ। अबको एक देखि दुई महिनाभित्र कोरोना भाइरसको संक्रमण ‘पिक’मा पुग्छ, 'उनले भने,'नियन्त्रण गर्न सकियो भने ४० देखि ५० हजार र नियन्त्रण गर्न नसकेमा संक्रमितको संख्या १ लाख कट्न सक्छ।'
नेपालमा यसको संक्रमणको अवस्था आगामी दिनमा आउन सक्ने चुनौतीमा केन्द्रित रहेर सेतोपाटीका सन्जिब बगालेले संक्रमण रोग विशेषज्ञ डा. अधिकारीसँग भिडिओ कुराकानी गरेका छन्।
यो कुराकानीका मुख्य बुँदाः
-वृद्धको जनसंख्या धेरै भएको ठाउँमा मृत्युदर धेरै हुन्छ। नेपालमा मृत्युदर कम हुनुको कारण यहाँको संक्रमण समुदायमा फैलिएको छैन। नेपालमा अहिलेसम्म बाहिरबाट आएकाहरूमा मात्रै धेरै संक्रमण देखिएको छ।
- जब आउटब्रेक हुन्छ त्यसपछि यो चौथो चरणमा जान्छ। त्यसपछि बुढेसकाल र रोग प्रतिरोधी क्षमता भएका व्यक्तिहरूमा पुग्न सक्छ। त्यो अवस्थामा भने धेरै खतरा हुन्छ।
- आरडिटीमा विश्वसनीयता छैन। आरडिटी परीक्षण गर्दा नेगेटिभ आएमा पिसिआर पोजेटिभ र आरडिटी पोजेटिभ आउँदा पिसिआर नेगेटिभ आउन सक्छ। त्यसैले अब हामी इलाइजा परीक्षणमा जानुपर्छ। आरडिटीभन्दा धेरै विश्वसनीय र सर्वसुलभ इलाइजा हो। नेपालभरि यसको ल्याब पनि उपलब्ध छ। यद्यपी यो भन्दा विश्वसनीय पिसिआर नै हो।
-लकडाउन खोल्नुभन्दा पहिला कुनै पनि समुदायमा इलाइजा परीक्षण गर्न सकिन्छ। कुनै पनि संक्रमणबाट निको भइसकेको व्यक्तिमा एन्टिबडी छ भने त्यो एन्टिबडी झिकेर अरु संक्रमित व्यक्तिलाई प्रयोग गर्न सकिन्छ। त्यसलाई एन्टिसेरम थेरापी भनिन्छ। यो सुरूआत गर्दा एन्टिबडी परीक्षण गर्नुपर्छ। त्यसको लागि इलाइजा परीक्षण गर्नुपर्छ।
- कन्ट्याक्ट ट्रेसिङको अहिलेको मोडल ठीक छैन। पुरानो विधि काम लाग्दैन। सिसिएमसीले निर्माण गरेको एपको सहयोग लिनुपर्छ। यसको प्रचारप्रसार हुन सकेको छैन। कोभिड एनपी भन्ने एप हो। यो एपको सहयोगले शंकास्पद मान्छे कता हिँडिरहेको छ भनेर समेत चेतावनी दिन्छ।
-एनटिसी एनसेलसँग मिलेर पनि निगरानी राख्न सकिन्छ।
- महामारी आज होइन भोलि हुनसक्छ। त्यसैले अक्सिजनको व्यवस्थापन गर्नुपर्छ। जुन ठाउँमा आउट ब्रेक हुनसक्छ, त्यहाँ पुर्याउनुपर्छ। आवश्यक औषधी र त्यसका कच्चा पदार्थ अहिले नै ल्याउनपर्छ। डाइभिटिज हाइपर टेन्सको औषधी पनि ल्याउनुपर्छ।
- एन-९५ मास्क फेरि प्रयोग गर्न सकिन्छ। बाहिरबाट महँगोमा किन्नभन्दा एन-९५ मास्कमा प्रयोग हुने फिल्टर मगाउन सकिन्छ। एक किलोमिटर एन-९५ फिल्टरले १० हजार वटा एन-९५ मास्क बनाउन मिल्छ। नेपालकै कम्पनीहरूले बनाउन सक्छन्। मास्क बनाउनभन्दा यसको फिल्टर मगाउन सकिन्छ। यसलाई फेरि प्रयोग गर्न सकिन्छ। यसको लागि स्टेराइज गर्ने मेसिन ल्याउनुपर्छ।
-अहिले मानसिक समस्या झनै बढेको छ। आत्महत्या बढेको छ। मानसिक चिकित्सकहरूको टिम बनाएर काउन्सिलिङ गरेर यसलाई कम गर्न सकिन्छ।