कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ पूर्वखैरीफाटा टोलका ३६ वर्षीय एक युवकको क्वारेन्टिनबाट घर फर्किएको १४ दिनपछि मृत्यु भएको छ।
१४ दिन क्वारेन्टिनमा बसेर आरडिटी चेक गर्दा नेगेटिभ आएपछि उनलाई २८ गते घर पठाइएको थियो।
उनीसँगै श्रीमती र छोरी पनि क्वारेन्टिनबाट घर फर्किएका थिए। उनीहरू जनता आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिन बसेका थिए।
आज बिहान १० उनको एक्कासि मृत्यु भएको वडाध्यक्ष खगेन्द्र भण्डारीले बताए।
उनले भने, ‘क्वारेन्टिनमा उनको बसाइ सुरक्षित थियो। उनी आफैं पनि धेरै अनुशासित थिए अरुभन्दा सुरक्षित भएर नै बस्थे, स्वास्थ्य अवस्था पनि राम्रै थियो।’
जेठ १५ गते भारतको गुजरातबाट गड्चौकी नाका हुँदै उनी नेपाल आएका थिए।
अहिले मृतक युवकको स्वाब परीक्षण धनगढी ल्याइएको गाउँपालिका अध्यक्ष प्रदीप चौधरीले बताए।
उनले भने, ‘आजै परीक्षण रिपोर्ट आउने अवस्था छैन। भोलिसम्म आउँछ भन्ने विश्वास गरेका छौं।’
मृतकका श्रीमती र छोरीहरूको कोरोना परीक्षणको लागि स्वाब संकलन भने गरिएको छैन।
रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले बताए।
यसअघि १३ दिन क्वारेन्टिनमा बसेर आइतबार घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका-७ का ३६ वर्षीय युवकको मृत्यु भएको थियो। आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई होम क्वारेन्टिनमा बस्न भनेर घर पठाइएको थियो।