बाजुरामा पिसिआर मेसिन खरिद गर्ने काम स्थगित भएको छ।
प्रदेशमा एक मात्र पिसिआर मेसिन हुँदा कोराना परीक्षणमा समस्या भइरहेको भन्दै जिल्लाको बूढीगंगा नगरपालिकाले मेसिन खरिद गर्ने निर्णय गरेको थियो।
सोही अनुसार नगरपालिकाले मेसिन खरिद गर्ने भनेर ३० लाख बजेट छुट्याइसकेको थियो। उक्त बजेटले मात्रै पिसिआर मेसिन खरिद गर्न नसकिने अवस्था हुँदा अन्य स्थानीय तहले पनि आवश्यक रकम दिने निर्णय गरेका थिए।
तर, जिल्लामा मेसिन खरिद गरेपछि सञ्चालन गर्ने आवश्यक जनशक्ति नहुँदा खरिद गर्ने काम ठप्प भएको हो।
जिल्ला अस्पताल बाजुरासँग मेसिन संचालन गर्ने जनशक्ति नभएपछि तत्काल मेसिन खरिद गर्ने काम स्थगित भएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख दिपक विक्रम शाहले जानकारी दिए।
‘जिल्लामा मेसिन संचालन गर्न आवश्यक जनशक्ति छैन, कतैबाट व्यवस्थापन गर्न सक्ने अवस्था पनि रहेन’ उनले भने ‘सोही कारण पिसिआर मेसिन खरिद गर्ने काम हाललाई स्थगित भएको हो।’
मेसिन संचालन गर्न जिल्लामा कुनै विकल्प नभएपछि अछामस्थित बयालपाटा अस्पतालले संचालन गर्छ भने मात्रै पुन खरिदको काम गरिने मेयर शाहले बताए।
‘कुनै अस्पतालले सञ्चालन गर्छौँ भन्यो भने हामी मेसिन खरिद गर्ने काम अगाडि बढाउँछौ नत्र अहिले त स्थगित छ’ उनले भने।
परीक्षणको दायारा भने व्यापक बढाउनु पर्ने आवश्यकता रहेको उनले औंल्याए।
बुढीगंगा नगरपालिकामा मात्रै संकलन गरिएका ५ सय बढी नमूनाको परीक्षण अहिलेसम्म हुन सकेको छैन।
बुधबारसम्मको तथ्यांक हेर्दा प्रदेशको धनगढीस्थित पशु अन्नेवषण प्रयोगशालामा परीक्षणको लागि पठाइएका नमूना मध्ये ७ हजार ४ सय २१ को परीक्षण हुन सकेको छैन।