कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएका एक पुरूषको शव व्यवस्थापनका क्रममा पोखरामा फेरि झडप भएको छ।
पोखरा ३२ कोत्रेस्थित सेती नदी किनारको घाटमा शव व्यवस्थापन गर्न जाँदा बिहीबार प्रहरी र स्थानीयबीच ढुंगा हानाहान भएको हो।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरूषको बुधबार राति निधन भएको थियो। उनको शव व्यवस्थापन गर्न लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि झडप भएको प्रहरीले जनाएको छ।
कोरोना संक्रमित पुरूषलाई मधुमेह, स्वासप्रस्वास लगायतका समस्या देखिएका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा असार ८ गते ल्याइएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै निधन भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।
प्रहरी र स्थानीयबीच झडप हुँदा केही स्थानीय युवा र प्रहरी घाइते भएका छन्। घाट प्रयोग गर्न दिने विषयमा छलफल हुँदै गर्दा शव व्यवस्थापन गर्न प्रहरी र नेपाली सेनाको टोली आएको र त्यसपछि स्थानीय युवाले प्रतिकार गरेको पोखरा महानगरका नगरसभा सदस्य धर्मबहादुर बस्नेतले बताए।
‘बिहानैदेखि उहाँहरू आउनुभएको रहेछ, घाटमा खाल्डा खनेर बस्नुभएको रहेछ, बस्नेतले भने, ‘गाउँलेले थाहा पाएपछि विरोध जनाएका हुन्।’
प्रहरीले पोखरा महानगरको एक्साभेटर लगेर घाटमा शव व्यवस्थापन गर्न खाल्डो खनेको थियो।
झडपमा ५ जना स्थानीयलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए। ८ राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
झडपका क्रममा स्थानीयले ५ वटा मोटरसाइकल तोडफोड गरेको उनले जानकारी दिए।
स्थानीयले सडकमा टायर बालेर विरोध जनाएको र शव बोकेको गाडीलाई अवरोध गर्न खोजेपछि सामान्य बल प्रयोग गरेर अवरोध हटाएको हमालले बताए।
कोरोना संक्रमितको मृत्यु भएमा पोखरा महानगरले घाटको व्यवस्था गरिदिने र नेपाली सेनाले शव व्यवस्थापन गर्ने कार्यविधि छ।
सोही कार्यविधि अनुसार महानगरले घाट सिफारिस गरेको थियो।
यसअघि जेठ २६ गते स्याङ्जा वालिङका ६० वर्षीय वृद्धको शव पोखरा ११ स्थित रिठ्ठाघाटमा व्यवस्थापन गर्न लाग्दा पोखरा वडा नं. ११ र वडा नं. २० स्थानीयले विरोध जनाएका थिए।
त्यतिबेला प्रदेश सांसद र वडाध्यक्षसहित जनप्रतिनिधि प्रदर्शनमा उत्रिएका थिए।
गण्डकी प्रदेशमा हालसम्म कोरोना स्रंक्रमितको संख्या ७ सय ५३ पुगेको छ। जसमा ९१ जना निको भएर घर फर्किएका छन्।