धनगढी उप–महानगरपालिकाले २८ बेडको आइसोलेशन संचालनमा ल्याएको छ ।
उप–महानगरपालिकामा कोरोना संक्रमितहरु संख्या बढेपछि उपचारका लागि आइसाेलेसन संचालनमा ल्याएको नगरप्रमुख नृपबहादुर वडले बताए।
वडा नं १५ जडिबुटी प्रशोधन केन्द्रमा निर्माण भएको आइसोलेसनमा संक्रमित बिरामीहरु राख्न सुरु भैसकेको मेयर वडले जानकारी दिए।
'एक सय ५० बेड क्षमताको आइसोलेशन बनाउने लक्ष्य छ,' उनले भने 'आवश्यक परे थप बेड राखिनेछ' उनले भने।
उप–महानगरपालिकामा ६५ जना कोरोना संक्रमित पुष्टि भएकोमा एक जनाको मृत्यु भएको छ भने ७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
धनगढी उपमहानगरपालिकाका ३९ जना सेती प्रादेशिक अस्पतालको आइसोलसनमा उपचाररत छन्। कोरोना विशेष सेती प्रादेशिक अस्पताल पनि धनगढीमै रहेपनि प्रदेशमा आइसोलेसन कक्षको अभाव रहेको छ।
सुदूरपश्चिममा जम्मा आइसोलेसन बेड संख्या तीन सय ६४ रहेको छ भने एक सय ३४ जना आइसोलेसनमा छन्। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ३२ पुगिसकेको छ।