बझाङमा क्वारेटिनमै आत्महत्या गरेका युवकको दाहसंस्कार भइसक्दा पनि पिसिआर परीक्षण रिपोर्ट आउन सकेको छैन।
जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ३० वर्षीय युवकले आइतबार राति कोठामा पासो लगाएर आत्महत्या गरेका थिए। उनको मृत्यु भएको पाँच दिन पुरा हुँदा पनि रिपोर्ट आउन सकेको छैन।
मृतक युवकको सोमबार बेलुकी स्वाथ्यकर्मी, सुरक्षाकर्मी र केही स्थानीयले दाहसंस्कार गरिसकेका छन्। उनीहरुले पूर्ण रुपमा सुरक्षा सतर्कता अपनाएर दाससंस्कार गरेको वडाध्यक्ष पदम मण्डेलले बताए।
उनले भने ‘दाहसंस्कारमा संलग्न भएका स्थानीय ४ जनालाई हामीले क्वारेटिन्नमा राखेका छौँ।’
मृतकको स्वाव पनि सोमबार नै संकलन गरिएको थियो। संकलनको दोस्रो दिन परीक्षणको लागि धनगढी पठाइएको थियो।
युवकको मृत्युपछि क्वारेटिनमा बसेकाहरुलाई पनि विशेष निगरानीमा राखिएको वडाध्यक्षले बताए।
‘मृतक युवकको कोराना परीक्षण रिपोर्ट छिटो आए अन्य कुराको व्यवस्थापन गर्न सहज हुन्थ्यो। ढिलाइ हुँदा समस्या भइरहेको छ’ उनले भने।
प्रयोगशालामा रिपोर्ट कहिले आउँछ भनेर सोध्दा काम हुँदैछ भनेर खवर आउने गरेको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।
हाल प्रदेशमा कोराना परीक्षण गर्ने पिसिआर मेसिन एउटा मात्र हुँदा इर्मेजन्सी परीक्षणको लागि आएका नमूना समेत त्यसै थन्किएका छन्। बिहीबारसम्मको तथ्यांक हेदा प्रदेशमा परीक्षणको पर्खाइमा ५ हजार ५६ नमूना छन्।
डडेल्धुरामा सञ्चालनका लागि ल्याइएको अर्को पिसिआर मेसिन जडानको काम हुँदैछ। सञ्चालन हुन भने अझै केही समय लाग्ने डडेल्धुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए।