बैतडीमा क्वारेन्टिनमा खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय पुरूषको आज बिहान ७ बजेतिर घरमै मृत्यु भएको हो।
सामान्य स्वास्थ्य समस्या देखिएछि बिहान उनको मृत्यु भएको खबर परिवारले आफूलाई दिएको नगर उपप्रमुख मिना चन्दले बताइन्।
उनले वैशाखदेखि जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेकाहरूलाई खाना पकाउने काम गरिरहेको थिए।
नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टिन बनाएपछि भने बहुमुखी क्याम्पसमा आइसोलेसन वार्ड बनाएको थियो।
उनले त्यही आइसोलेसन वार्डमा बसेका बिरामीहरूलाई खाना पकाएर दिने काम पनि गरे।
१० दिनअघि मात्रै उनी त्यहाँबाट बिदामा घर गएका थिए।
उनीसँगै खाना पकाउने अर्का एक जना भने उक्त आइसोलेसन वार्डमै काम गरिरहेका छन्।
उनको दुई पटक आरडिटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो।
उनको स्वाब संकलन गर्ने कार्य भइरहेको र आजै धनगढी परीक्षणको लागि पठाउने उपमेयर चन्दले जानकारी दिइन्।
‘मृतक पुरूषमा कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण नदेखिएकोले परिवारको सल्लाह अनुसार रिपोर्ट पर्खिने कि शव व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’, उनले भनिन्।