सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले एक किलो सलह किरा ल्याउनेलाई २५ रुपैयाँ दिने निर्णय गरेको छ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले आइतबार उक्त निर्णय गरेको हो।
मन्त्रालयले नेपालमा भित्रिएको सलह किराको प्रभाव कम गर्न यस्तो निर्णय गरेको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका बरिष्ठ बागवनी विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले बताए।
शर्माले किरा संकलन गरि वडा कार्यालयमा ल्याउनेलाई तत्काल नगद दिइने बताए।
लकडाउनमा घरमा बसेकालाई सलह किरा टिप्ने जाँगर चलोस्, हौसला बढोस् भन्ने उद्देश्यले प्रदेश नम्बर ५ भन्दा सुदूरपश्चिमले प्रतिकेजी ५ रुपैयाँ बढाएर २५ बनाएको शर्माले बताए।
‘यतिबेला विद्यार्थी सबैभन्दा बढी घरमै भएकाले उनीहरूलाई नास्ता खर्च निकाल्न जोस जाँगर बढाउन मूल्य निर्धारण गरेको हो,’ उनले भने।
सलह किरा माछाको लागि पौष्टिक आहार भएकाले किनेको सलह गेटास्थित माछा फर्मलाई दिने योजना छ।
बढी भइहाले प्राइभेट कुखुरा फर्मलाई बिक्री गर्ने योजना प्रदेश सरकारले बनाएको शर्माले जानकारी दिए।
सलह किरा सुदूरपश्चिम भित्रिन सक्ने भन्दै सचिवको नेतृत्वको टास्क फोर्स टिमसमेत बनाइने उनले बताए।
सुदूरपश्चिमका नौ जिल्लामा जिल्लास्तरको टिमसमेत बनाएर सलह र फौजीलगायतका किराको प्रकोपबारे व्यवस्थापनको तयारी भएको उनले बताए।