केही दिनअघि म घरछेउको तरकारी पसल छाडेर मैतिदेवी चोकमा किनमेल गर्न गएको थिएँ। त्यहाँ दिनहुँ साँझतिर फुटपाथको एउटा कुनामा आमाछोरा तरकारी बेचिरहेको देख्थेँ। त्यस दिन पनि उनीहरू अलिकति साग, थोरै खुर्सानी र थोरै धनियाँ बेच्न बसेका थिए।
'सागको कति बाबु?' मेरो प्रश्न झर्न नपाउँदै आमाछेउ टाँस्सिएर बसेको सानो केटोले भन्यो, 'मुठाको ३० रूपैयाँ।'
मैले बिनामोलतोल सय रूपैयाँको नोट अघि सारेँ। उसले नोट हातमा लिएर दंग पर्दै आमालाई देखायो, 'आमा, हन्ड्रेड।'
ऊ सयको नोट देखेर यस्तरी खुसी भयो, मानौं धेरै समयपछि हरियो नोट देख्दैछ।
त्यस्तै घटना मलाई कालिमाटीको टंकेश्वर पुलमा भयो। फुटपाथमा आमा र दुई जना बच्चा कागती, खुर्सानी र थोरै तरकारी बेचिरहेको देखेँ।
दुई भाग कागती र अलिकति खुर्सानी किन्दा ४० रूपैयाँ पर्यो। मैले बीस रूपैयाँका दुइटा नोट दिएँ।
सानो छोराले मेरो हातबाट नोट लिएर खुसी हुँदै आमालाई दियो, 'आमा, यी हेर्नुस् त दुइटा बीस रूपैयाँ।'
त्यति बेला त्यो बच्चाको खुसी र आमाको उज्यालो अनुहार देखेर म भित्रैदेखि रमाएँ।
कालिमाटीकी आमैसँग मैले कुराकानी गर्ने समय पाइनँ, हतारमा थिएँ। तर, जसै मैतिदेवीको केटोले सय रूपैयाँको नोट देखेर उस्तै व्यवहार देखायो, म त्यहीँ फुटपाथमा टुसुक्क बसेर उसकी आमासँग कुरा गर्न थालेँ।
उनको नाउँ रहेछ, मनिषा नेपाली। लकडाउनअघि घरायसी काम गर्थिन्। दुई महिनादेखि रोजगारविहीन छिन्। कोरोना सर्ने र सार्ने डरले, घर-मालिकले केही महिना नआउनू भनेछन्। उनका श्रीमान् सिसा पसलमा काम गर्थे। महामारीपछि उनको पनि जागिर खोसियो।
उनले आम्दानीको नयाँ बाटो खोजिन्। घरबेटीसँग हजार रूपैयाँ ऋण लिएर मैतिदेवी चोकको फुटपाथमा तरकारी बेच्न थालिन्।
दुई साता तरकारी बेच्दा अहिलेसम्म एक दिन पनि पूरै नबिकेको मनिषाले सुनाइन्। साग ओइलाएर खेर गयो। कमाउनुपर्ने बेला उल्टै घाटा खाइन्।
'हरेक दिन आधाजसो उब्रिन्छ। कमाउनुभन्दा गुमाउनु धेरै,' उनले भनिन्, 'जसरी भए पनि बिहान-बेलुकीको छाक त टार्नैपर्यो। अचेल नबिकेको तरकारी आफैंले खान्छौं।'
'बुझ्नुभो बैनी, केही दिनदेखि हामी भातभन्दा तरकारी धेरै खाइरहेका छौं,' उनले भनिन्।
'भातभन्दा तरकारी धेरै खानु त राम्रो हो नि स्वास्थ्यलाई,' म पनि जान्ने टोपलेँ।
'उस्,' उनले जिब्रो लेप्र्याइन्, 'बरू यो कुरा मलाई भन्दा अरूलाई भन्दिनू नि, मेरो तरकारी सप्पै किन्दिन्थे कि! अनि हामी त्यो पैसाले भात खान्थेम्।'
उनको कुरा सुनेर मेरो मन सिरिंग भयो। कहिलेकाहीँ हुन्छ नि, कसैको कुराले भित्रैदेखि छोयो भने जीउमा काँडा उम्रन्छ, मलाई पनि त्यस्तै भयो।
मैले न हुन्छ भन्न सकेँ, न हुन्न भन्न। एकछिन चुपचाप बसेँ।
उनैले अगाडि भनिन्, 'आफूले ३० रुपैयाँमा किनेको साग १० मा लैजाऊ भन्दा पनि लाँदैनन्। किन्नेका आँखा पनि थुप्रोमा मात्र जान्छ क्यार, हामीकहाँ छान्ने सुविधा हुँदैन, अनि किन आउँथे र!'
काठमाडौंमा मनिषाजस्ता सडक व्यापारी सयौं छन्। लकडाउनले बढी प्रभावित उनीहरू नै हुन्। अरू व्यापारीलाई कारोबार ठप्प भएर भाडा तिर्न धौ धौ होला, व्याज तिर्न गाह्रो होला, कतिले कर्मचारीलाई तलब खुवाउन सकेका छैनन् होला, तर सडक व्यापारीको त हातमुख जोर्ने बाटै बन्द छ।
उनीहरूले साँझ-बिहान तरकारी बेचेर कमाउने पैसाले नै हो गुजारा गर्ने, केटाकेटी पढाउने। जुन दिन व्यापार हुन्न, कि त त्यही तरकारी खानुपर्यो, नभए पानी उमालेर पिउनुपर्यो। अरू विकल्प छैन।
लगनखेलमा तरकारी बेच्ने पूर्णकुमारी खड्काको कुरा सुनुँ न, उनलाई लकडाउनपछि फुटपाथमा बसेर बेच्न सकस भइरहेको छ। पहिलेजस्तो धेरै मान्छे हिँडडुल नगर्ने हुँदा व्यापार कम छ। सँगसँगै, पानी पर्दा वा प्रहरीले धपाउँदा रित्तो हात घर फर्कनुपर्छ।
'आनन्दले बसेर बेच्न नि पाइँदैन। हामीलाई नि कोरोनाको डर छ,' पूर्णकुमारीले भनिन्, 'बसेर खान पुग्ने भए किन सडकमा आउँथेँ र! यस्तो बेला त किन्नेले दुई-चार पैसा बढी दिए हुने नि, तर मान्छेहरू हामीले कत्ति न धेरै नाफा खान खोजेजस्तो मोलतोल गर्छन्।'
पछिल्लो समय लकडाउनले प्रभावित व्यापार-व्यवसायलाई राज्यले राहत दिनुपर्ने कुरा उठेको छ। सरकारले बजेट वक्तव्यमा सहुलियतपूर्ण ऋण, व्याज छुट, ऋणको भाका सार्ने लगायत कार्यक्रम घोषणा गरेको छ। तर, यी सडक व्यापारीलाई राज्यले घोषणा गरेका यस्ता राहतले छुँदैन। उनीहरूलाई बैंकको सहुलियतपूर्ण ऋण के काम, व्याज छुट के काम!
यस्तो परिस्थितिमा के हामी यी सडक व्यापारीका दु:ख बाँड्न सक्दैनौं? के राज्यले राहत दिन नसकेका यी साना व्यापारीलाई हामी नागरिक स्तरबाटै भरथेग गर्ने उपाय छैन?
काठमाडौंका तरकारी बिक्रेतासँगको कुराकानीपछि मेरो मनमा यस्तै प्रश्न उठेका थिए। त्यही बेला सामाजिक सञ्जालमा एउटा अभियान चलेको देखेँ, जसमा सडक व्यापारीलाई सहयोगको अपिल गर्दै भरसक फुटपाथमा किनमेल गर्न आह्वान गरिएको थियो।
राजनीतिक विश्लेषक राजेश अहिराजले ट्विटरमा लेखेका थिए- 'बिन्ती छ खरिद गरिदिनुस्, कतिपय सामान तपाईंका लागि तत्काल खाँचो नहोला, तर तपाईंले खरिद गरिदिँदा आज उनको परिवारमा अन्न किन्ने पैसाको जोहो हुन सक्छ। तपाईंको एक पाइलाले उनका लागि भोजनको व्यवस्था गर्न सक्छ। कोही भोकै बस्नु नपरोस्।'
मैले यो स्ट्याटस देखेपछि अहिराजसँग सम्पर्क गरेँ।
'यतिबेला हामी सबै आर्थिक संकटमा छौं, एकले अर्कोलाई सहयोग गरेनौं भने समस्याले विकराल रूप लिन्छ। किन्ने क्षमता छ र भोलिका दिनमा आवश्यक छ भने आजै किनौं,' उनले भने, 'दस-बीस रूपैयाँ बढी खर्च गर्नु हाम्रा लागि ठूलो कुरा होइन। तर, साँझ-बिहान व्यापार गरेर छाक टार्नुपर्नेलाई त्यही ठूलो कुरा हो। हामीले अलि धेरै पैसा तिर्दा वा धेरै सामान किन्दिँदा कसैको रोजीरोटी चल्छ भने किन हामी उदार नहुने?'
उनले अगाडि भने, 'नोक्सान हुँदैन भने अत्यावश्क बाहेकका सामान पनि किनिदिए भयो। हाम्रो सानो सहयोगले कसैको परिवार पालिन्छ। कसैका केटाकेटीले पढ्न पाउँछन्। कोही पलायन हुनबाट बच्छन्।'
यो अभियानलाई हामी सबैले साथ दिन सक्छौं।
हामी धेरैलाई सबथोक एकैठाउँ पाइने डिपार्टमेन्ट स्टोरमा किन्ने बानी परेको छ। बिस्कुट, चाउचाउदेखि तरकारी, फलफूल किन्नधरि डिपार्टमेन्ट स्टोर छिर्छौं। मेरै केही साथीहरू आधा किलो गोलभेँडा, आधा किलो कांक्रो किन्न पनि ठूल्ठूला स्टोर चहार्छन्। यसले सजिलो त पक्कै होला, तर सडक व्यापारीहरूको रोजीरोटी गुम्ने खतरा बढाएको छ।
हामीले ती स्टोरबाट तरकारी नकिन्दा उनीहरूलाई केही फरक पर्दैन। उनीहरूकहाँ अरू धेरै थोक छ, जसले व्यापार मज्जाले चल्छ।
हामीले के बिर्सनु हुन्न भने, लकडाउन बेला सारा बन्दबेपार ठप्प हुँदा पनि काठमाडौंका कतिपय डिपार्टमेन्ट स्टोर मज्जाले चलेका थिए। तर, टोलका साना पसल र सडक व्यापारीहरूको त आम्दानी नै शून्य थियो। कसरी धाने होलान् उनीहरूले तीन महिनाको लकडाउन?
अब समय आएको छ, उनीहरूले झेलेको दु:खमा साथी बन्ने। यो साथ हामी दिन सक्छौं, अहिराजले भनेजस्तै उनीहरूसँग सामान किनेर।
स्याङ्जाकी सीता कार्कीले १६ वर्षदेखि काठमाडौंका सडकपेटीमा तरकारी बेच्दै आएकी थिइन्। यही पेसाबाट उनले छोराछोरी हुर्काइन्।
'श्रीमानले छाडेपछि साग बेचेरै छोराछोरी पालेँ,' लाजिम्पाटमा तरकारी बेचिरहेकी सीताले भनिन्, 'अहिले छोराहरूको पनि काम रोकियो, घर धान्न फेरि साग बेच्नुपरेको छ।'
उनले घरबेटीको थोरै जग्गा भाडामा लिएर तरकारी खेती गरेकी छन्। 'आफैंले दुःख गरेर उब्जाएकाले धेरै माया लाग्ने रैछ,' उनले भनिन्, 'कहिलेकाहीँ ओइलाएर जाँदा, नबिकेर फाल्नुपर्दा दुःख लाग्छ।'
'मान्छेहरूले हाम्रो दु:ख बुझेर किनमेल गरिदिए हुने नि,' उनले भनिन्, 'अरू बेलाजस्तै मोलतोल गर्छन्, दिक्क लाग्छ।'
के यो संकटको घडीमा हामी मनिषा, पूर्णकुमारी र सीताजस्ता सडक बिक्रेताहरूको जीवन धान्न थोरै योगदान गर्न सक्दैनौं?
बरू आफूलाई चाहिनेभन्दा धेरै साग किनेर गुन्द्रुक बनाऊँ न- उनीहरूको गुजारा हुने, आफूले पनि नयाँ तरकारीको स्वाद पाइने!