यो आजभन्दा चौध सय वर्षअघिको कथा हो। गुरू गोरखनाथ आफूलाई कसैले भिक्षा नदिएको झोँकमा रिसले चूर भएछन्। उनले नागलाई वशमा पारेर त्यसैमाथि आसन जमाएछन्।
पानी पार्न सहयोग गर्ने नाग नै वशमा परेपछि बर्खा हुने कुरै भएन। यसले काठमाडौं उपत्यकामा अनिकाल लाग्यो।
यसको समाधान खोज्न राजा नरेन्द्रदेव, बौद्ध आचार्य बन्धुदत्त र ललितपुरका ज्यापू ललितले आसाम गएर गोरखनाथका गुरू मच्छिन्द्रनाथलाई ल्याए। उनको दर्शन गर्न गोरखनाथ आफ्नो आसनबाट उठेपछि बल्ल वशमा भएका नागहरू मुक्त भए। उपत्यकामा भारी वर्षा भयो, अनिकाल हरायो।
यो रातो मच्छिन्द्रनाथसँग जोडिएको किम्बदन्ती हो, जुुन 'सिनाज्या म्ये' अर्थात् रोपाइँ गीतमा वर्णन गरिएको पाइन्छ।
गीतमा भनिएको छ-
'गोरखनाथ भिक्षा थन वल
लोक न भिक्षा पुने मबिल
नगनाग तोक पुसे
आसन याना चोसे
तपस्या याना बिज्यात'
गीतको अर्को पंक्तिले भन्छ-
'मच्छिन्द्रनाथ न नेपालस बिज्याक
गोरखनाथ दर्शन बिल
नगनाग दनावसे जलधारा आएकुसे
सिनाज्या सिधाय कलः'
काठमाडौं उपत्यकामा धान रोप्दा गाइने यी र यस्ता गीतले यहाँको हजारौं वर्ष पुरानो इतिहास र त्यससँग जोडिएका किम्बदन्तीलाई आजसम्म जीवित राख्दै आएका छन्।
माथिकै गीतको उदाहरण लिने हो भने यो आठौं शताब्दीतिर लिच्छवि राजा नरेन्द्रदेवका पालामा रचिएको संगीत अध्येता रामकृष्ण दुवाल बताउँछन्। रोपाइँमा गाउने चलनले यो गीतसँगै रातो मच्छिन्द्रनाथको किम्बदन्ती पुस्तान्तर हुँदै आजसम्म सम्झनामा बसेको उनको भनाइ छ।
'मच्छिन्द्रनाथ रथारोहणको उत्सवका रूपमा गाइने यो गीतलाई प्राचीन काव्य भनेर नेपाल भाषाको स्नातकोत्तरमा समेत पढाइन्छ,' नेवार भाषाको उक्त गीत नेपालीमा अनुवाद गरेका दुवालले भने।
नागलाई गोरखनाथको वशबाट मुक्त पारेपछि पानी पर्न थालेको कथा भन्ने यो गीतले बर्खायाम सुरू भएको संकेत गर्छ। यसपटक चाहिँ लकडाउनले उल्टो भयो। दुई महिनाअघि वास्तविक तिथिमा रातो मच्छिन्द्रनाथको जात्रा हुन सकेन। अहिले बर्खा सुरू भइसक्यो, मच्छिन्द्रनाथको जात्रा गर्न बल्ल रथ बन्दै छ।
रोपाइँ बेला गाइने सबै गीतमा यस्ता ऐतिहासिक विषयवस्तु हुँदैनन्। प्राय: त हाम्रो दैनिक जीवन र रतिरागसँग सम्बन्धित हुन्छन्। यस्ता गीतमा ठट्टा बढी हुन्छ। जान्नेहरू सुरताल मिलाउँदै गाउँछन्, नजान्नेहरू आफ्नै तालमा स्वर मिलाउँछन्। दिनभर काम गरेर थाकेका बाउसे र रोपारहरू पनि गीतकै लयमा हिलो छ्यापाछ्याप गर्दै थकान बिर्सन्छन्।
दुवालका अनुसार नेवार समाजमा पाइने सबभन्दा बढी लोकगीत रोपाइँसँग सम्बन्धित छन्। नेवार सभ्यताको विकास कृषि क्षेत्रसँग जोडिएकाले उनीहरूले मनाउने जात्रापर्व र गीत-संगीतमा खेतीपातीको प्रभाव देखिने उनको भनाइ छ।
दुवालले एउटा गीत सुनाए-
'असारया सिनाज्या वापुवने मखुला
जितन बोनायनेला?'
'असारको बेला छ, मलाई पनि लिएर जाने होइन?' गीत अर्थ्याउँदै दुवालले भने, 'केटाकेटीबीचको दुईपक्षीय वार्ता गीतमा भनिएको छ।'
सिनाज्या म्ये, अर्थात् रोपाइँ गीत भन्नेबित्तिकै कृषिकर्म चित्रण हुनुपर्छ भन्ने केही छैन। केही गीत त्यसबाहेकका पनि छन्।
दुवालले 'जि वया ला लछि मदुनि' गीतको उदाहरण दिए। महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति 'मुनामदन' को प्रेरणास्रोत यही गीतलाई मानिन्छ। यो गीतमा छोराहरू व्यापारका लागि ल्हासा गएको, पत्नीले रोक्न खोजेको, उनलाई दुःस्वप्न आएको, ल्हासाबाट झूटो खबर प्राप्त भएको र पतिको वियोगमा पत्नीको मृत्यु भएको कथा छ।
रोपाइँ गीतहरू नेपाली भाषामा पनि प्रशस्तै छन्। त्यस्तै एउटा गीत सुनाउनुअघि दुवालले त्यसको पृष्ठभूमि बताए।
एकपटक एक जना सिपाही असार बेला विदा नलिई रोपाइँ गर्न घर गएछ। नसोधी गएको हुँदा उसलाई सजाय हुने भएछ। जागिर नै खोस्ने कुरा आयो। किन त्यसरी गएको भनेर सोध्दा उसले असारे भाकामा जवाफ फर्काएछ-
'असारको बेला थियो हिलोमैलो माटो भयो
वर्षभरी खाने अन्न रोपिदिनुपर्यो
सरकारको मर्यादामा हानि मैले गरेकै हुँ
तर वर्षभरि खाने अन्न जोड्नलाई जुटेकै हुँ
सजाय त जस्तो थियो, त्यस्तो त म भोगुँला
तर भोकै बस्न सबैलाई मन पर्दैन होला'
गीत सुनेपछि हाकिमले राम्रै काममा गएको रहेछ भनेर सिपाहीको गल्ती माफ गरिदियो।
'शाहकालतिरको यो गीतमा कर्ताको व्यथा लोकगाथाका रूपमा उनिएको छ। भन्दै-सुन्दै आएका कुरा अरूलाई सुनाउनु गाथा हो भने केही बढाइचढाइँ हुन सक्ने कथा हो,' दुवालले भने।
लकडाउन नहुँदो हो त दुवाल यतिबेला गोकर्णमा कुनै सिनाज्या गीत गाउँदै हुँदा हुन्। त्यहाँ हरेक वर्ष असार १५ मा विभिन्न संघ-संस्थाले रोपाइँ गर्दै, दही-चिउरा खाँदै, गीत गाउँदै ठूलो मेला गर्छन्।
'यसपटक त जान सकिनँ। उहाँहरूले पुरानै गीतको रेकर्ड बजाएर असार १५ मनाउनुभयो होला,' उनले भने।
दुवालका अनुसार आ–आफ्नो खेत रोपेपछि किसानहरूले अन्तिममा 'भौगोब्यु' भन्ने चलन छ। त्यो भनेको धान रोप्न जाँदा कहाँ बसेर खान्छ, के गर्छ भनेर हेर्ने भूतप्रेत तर्साउने हो।
'त्यसमा अश्लील शब्द पनि प्रयोग हुन्छन्। तर, सुन्दा कसैलाई पनि अश्लीलजस्तो लाग्दैन,' उनले भने।