टेकु, पचली भैरव मन्दिरनजिकै श्री थापा ग्रील वर्कसप सञ्चालक विष्णु थापाले २०७२ सालमा नाकाबन्दी बेला सुधारिएको चुल्हो बनाएर बेचेका थिए।
बजारमा ग्यास हाहाकार मच्चिएका समयमा गोल वा काठ हाली पंखा चलाएर बाल्न मिल्ने चुल्होले धेरै ग्राहक आकर्षित गरेको थियो।
यस पटक कोरोना लकडाउनले जन्माएको संकटमा पनि उनी केही नयाँ र उपयोगी सामग्री बनाउनेबारे घोत्लिरहेका थिए।
यसैबीच धेरै ग्राहक स्यानिटाइजर राख्ने स्ट्यान्ड खोज्न आए। मागअनुसार उनले यस्ता स्ट्यान्ड भारतबाट मगाएर बेचे।
भारतबाट मगाएर उनले यस्तो स्ट्यान्ड २ हजार पाँच सय रूपैयाँ गोटा बेचे। पछि उनले आफैं बनाए सस्तो पर्ने सोचे र बनाए। नभन्दै आफैंले बनाएको स्ट्यान्ड एक हजार पाँच सयमा बेच्न सक्ने पाए। एक हजार सस्तो!
'भारतबाट मगाएर बेच्नुभन्दा आफैं बनाउनु सजिलो र फाइदा देखेँ,' उनले भने। अहिले उनी स्यानिटाइजर स्ट्यान्ड बनाएर बेचिरहेका छन्।
हाल कोरोना संक्रमणबाट बच्न सबैजसोले साबुनपानी वा स्यानिटाइजर प्रयोग गरिरहेका छन्। बैंक, क्लिनिक, अस्पताल, डिपार्टमेन्टल स्टोर वा जुनसुकै कार्यालयमा स्यानिटाइजर प्रयोग भइरहेको छ। हालसम्म सत्तरीभन्दा बढी स्ट्यान्ड बेचिसकेका थापा हरेक दिन माग आइरहेको बताउँछन्।
'आफैंले बनाएर सस्तोमा बेच्नसके त आफू र ग्राहक दुवैलाई फाइदा होस् भनेर आइडिया आएको हो,' आफूले बनाएका स्ट्यान्ड सस्तो र बलियो भएकाले ग्राहक दिनदिनै बढिरहेका विष्णु बताउँछन्।
सस्तोमा पाएन थालेपछि पहिलाभन्दा माग पनि धेरै आएको उनको भनाइ छ। सुरूमा अर्डर आएका जति मात्रै स्ट्यान्ड बनाउने उनी माग बढ्न थालेपछि थप स्ट्यान्ड बनाएर वर्कसपमा सजाउन पनि थालेका छन्।
'भारतबाट ल्याउने स्ट्यान्ड हलुका धातुको भएकोले साढे तीन किलो थियो। हामीले बनाउने अलि वजनदार धातु भएकाले साढे चार किलोको छ,' विष्णुले जानकारी दिए।
फलाम, आलुमिनियम र जस्ताको काम हुने उनको वर्कसपमा ग्रिल, गेट, ट्रस, छाना, गेट, भर्याङ आदि बनाइन्छ। लकडाउन अवधिमा चैत ११ गते जेठ १८ सम्म उनको वर्कसप पूरै बन्द थियो। जेठ १९ यता नियमित खुला छ। वर्कसपमा काम गर्ने पाँचमध्ये दुई कर्मचारी मात्रै काठमाडौंमा छन्। ती दुई कर्मचारीले हरेक दिन दुई-तीन वटासम्म यस्ता स्ट्यान्ड बनाइरहेका छन्।
पचली भैरवबाट टेकु पुलतिर जाने बाटोमा पर्ने उनको वर्कसप २०६३ सालदेखि सञ्चालनमा छ। पहिले बाहिर खुल्लै भए पनि अचेल रेलिङले बारिएको छ। त्यही रेलिङको पाइपमा प्लेकार्ड बनाएर लेखिएको देखिन्छ– यहाँ 'स्यानिटाइजर स्टेन' पाइन्छ।
योबाहेक 'बाहिरै बसेर अर्डर गर्नू, सावधानी अपनाऊँ' लगायतका सन्देश पनि छन्। भित्र राखिएका स्ट्यान्डमध्ये एउटामा उनले स्यानिटाइजरको बोतल पनि राखेका छन्।
सानेपा बस्ने विष्णु भन्छन्, 'बाटो हिँड्ने मान्छेले टाढैबाट देखून् भनेर यसरी प्लेकार्ड राखिएको हो।'
२०७२ सालमा भारतीय नाकाबन्दी बेला उनले झन्डै सात सय वटा सुधारिएको चुल्हो बेचेका थिए। केही ग्राहक आज पनि यस्ता चुल्हो खोज्दै आउँदा विष्णु मख्ख पर्छन्।
उनी अहिले 'स्याम्पल पिस' र 'क्याटलग' हेरेर स्यानिटाइजर स्ट्यान्ड बनाइरहेका छन्। भन्छन्, 'यस्तो बेला ग्राहकलाई काम लाग्ने कुरा बनाउन पाउँदा र त्यसबाट केही पैसा आम्दानी पनि हुँदा खुसी लाग्ने नै भयो।'
'नाकाबन्दी वा कोरोना संक्रमण जस्ता संकटमा पनि काम गरेरै कसरी आत्मनिर्भर हुने भन्ने सोच्छु र त्यहीअनुसार काम गर्ने प्रयास गर्छु,' उनी भन्छन्, 'धेरैले तपाईंले राम्रो काम गर्नुभएको छ भन्छन्। एउटा गुनासो आएको छैन। खुसी लागेको छ।'