१४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएको एक हप्तापछि मृत्यु भएका अछामका पुरूषमा कोरोना पुष्टि भएको छ ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरूषमा मृत्युपछि कोरोना पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाका इन्चार्ज प्रभुनाथ देवकोटाले जानकारी दिए।
उनको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको थियो।
घर फर्किएको एक हप्तापछि आइतबार दिउँसो उनको स्वास्थ्यमा समस्या आएपछि गाउँपालिकाको स्वास्थ्य टोलीले एम्बुलेन्समार्फत् मंगलसेन अस्पताल लगेको थियो।
मंगलसेन अस्पतालमा बेड खानी नभएको भन्दै उनलाई साफेंवगरस्थित बयालपाटा अस्पतालमा पठाएको थियो।
सास फेर्न समस्या, पखाला लागिरहने, खोकी लागिरहने जस्ता लक्षण देखिएपछि बयालपाटा अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको थियो।
उनको शव सोमबार छोरा र भाइले व्यवस्थापन गरेका थिए।
मृतकका छोरा र भाइसहित अन्य जनालाई आरडिटी परीक्षण गर्दा पोजेटिभ आएकोले विशेष निगरानीमा राखिएको इन्चार्ज देवकोटाले बताए।
मृतकको परीक्षण रिपोर्ट पोजेटिभ आएपछि झन् त्रास बढेको छ।
क्वारेन्टिनमा बसेकाहरूलाई निगरानीमा राखेर उनीहरू छिटो परीक्षणका लागि पहल गर्ने गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन्।
मृतक पुरूष जेठ २७ गते त्रिनगर भन्सार नाका हुँदै नेपाल भित्रिएका थिए।
मृतक पुरूषको कोरोना पुष्टिसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ।