फूलमायाकी ७ वर्षिया छोरी अकस्मात चुपचाप बस्न थालिन्। खाना खान छोडिन्। बेला बेला भने दुख्यो भन्दै रून्थिन्।
कैलाली गौरीगंगाकी फूलमाया आत्तिइन्।
'सुरूमा त कतै लडेकी होला भनेर सोच्यौं,' फूलमायाले भनिन्, 'चार दिनपछि छोरीलाई झनै च्याप्दै गएपछि फकाइफुलाई गरी सोध्यौं। अनि सबै उनले कुरा बताइन्।’
जेठ ११ गते बालिकाकी आमा फूलमाया (नाम परिवर्तन) घरमै लुगा सिलाउन व्यस्त थिइन्। आमा व्यस्त हुँदा घरका सानातिना काम छोरीहरूले गर्थे। त्यो दिन कान्छी छोरी पानी भर्न धारामा गइन्। गाउँकै बालाराम सुवेदी नाम गरेका पाका मानिस पनि धारामा आएका थिए।
उनले ‘नातिनी यता आउ त’ भनेर बालिकालाई बोलाए। ती मानिसले बालिकालाई फकाएर आफ्नो घर लगे। घरभित्र लगेर ढोका लगाइदिए।
त्यतिबेला वृद्धको घरमा कोही थिएनन्। उनले बालिकाको हातखुट्टा बाँधेर बलात्कार गरे। बालिका रून कराउन थालिन्। उनको चिच्याहट सुनेर बुहारी घर आइपुगिन्, ढोका ढकढकाइन्। भित्र ती वृद्धले बालिकालाई धम्की दिए–यो कुरा कसैलाई भन्यो भने मारिदिन्छु।’
बालिका डराइन् वृद्धको पन्जाबाट फुत्केर घर पुगिन्।
बालिकाले घटनाबारे कसैलाई बताउन सक्ने अवस्था थिएन। घटना भइसकेपछि पनि केही दिन परिवारले थाहा नै पाएनन्।
जब परिवारले यो कुरा थाहा पाए अनि कानुनी लडाइँ र सामान्य अवस्थामा पुग्न परिवारलाई निकै गाह्रो भएको छ। बलात्कारमा परेका महिला र बालबालिकालाई समाजमा पहिलेकै तरिकाले बाँच्न मुस्किल हुँदै जाने विभिन्न उदाहरण भेटिन्छन्।
समाजले पीडितलाई हेर्ने नजर र उसको भविष्यप्रति परिवार सबभन्दा बढी डराएको देखिन्छ। जस्तो फूलमाया, हरि र सम्झना (नाम परिवर्तन)लाई भएको छ।
जब कान्छी छोरीमाथि यति ठूलो घटना भएको फूलमायाले थाहा पाइन् जेठ १४ गते सुरूमा उनी वडा कार्यालय पुगिन्। वडाध्यक्षले यस्तो उजुरी त प्रहरीमा गर्नुपर्छ भने। उनी अत्तरिया प्रहरी कार्यालय गइन्।
प्रहरीले उजुरी दिन सदरमुकाम जान भन्यो। प्रहरीले नै उजुरी नलिँदा उनलाई झोंक चलेको थियो। त्यसमाथि लकडाउन।
त्यही पनि उनी लकडाउनको कहर झेल्दै धनगढीस्थित जिल्ला प्रहरी कार्यालय पुगिन्।
उजुरी गरिन्। उनलाई प्रहरीले लिखित जाहेरी (उजुरी) गर्नु भन्यो। वृद्ध पक्राउ परे।
दुई दिनपछि प्रहरीले नै बालिकाको स्वास्थ्य परीक्षण गरे। आफ्नो काम सकाएपछि मुद्दा हेर्ने प्रहरीले फूलमायालाई फोन नम्बर दिए।
'फोन गर्नुहोला। हामी पनि कारबाही अघि बढे खबर गर्छौं,' उनले भने।
ती पीडक त पक्राउ परे। तर अनुसन्धान के भएको छ भनेर प्रहरीको खबर कहिल्यै आएन। लकडाउनकै कारण छानबिन बुझ्नका लागि सदरमुकाम गइरहन सक्ने अवस्था थिएन।
'प्रहरीले दिएको नम्बरमा फोन नै नलाग्ने,' फूलमायाले भनिन्,'लकडाउन छ, गइरहन पनि पाउन्नौं।'
उजुरी दिएको झन्डै दुई साता बितेपछि छोरीमाथि जबरजस्ती गर्ने मानिस धरौटीमा छुटेको खबर आयो। अहिले उनी गाउँमै छन्। अरू सामान्य बेला जस्तै अहिले पनि गाउँघरमा निष्फिक्री हिँडिरहेका छन्।
त्यो देखेर फूलमायालाई झोंक चलिरहन्छ, आफ्नो अपमान भएको महशुस हुन्छ। आफ्नी छोरीलाई ती वृद्धले जिस्क्याएझैं लाग्छ। छोरीले उसलाई देखेर कति डराउली भन्ने सम्झेर उनको मन कहालिन्छ।
फेरि छोरीलाई पानी लिन कसरी पठाउने? फूलमाया बिलखबन्दमा छिन्।
बालिकाको अवस्था दिनदिनै बिग्रदैछ। मानसिक र शारिरीक समस्या देखिएको छ।
‘छोरीले पढ्नमात्र होइन, खेल्न पनि छाडेकी,' फूलमायाले भनिन्, 'अरू केटाकेटीजस्तो छैन। पहिलेजस्तै बनाउन कोसिस गरिरहेका छौं।'
फूलमायालाई अबको चिन्ता भनेको छोरीमाथि लागेको बलात्कारको दाग मेटाउनु हो। यो दाग बलात्कारीलाई सजाय दिएपछि मात्र मेटिएला भन्ने उलाई लागेको छ।
‘मेरो छोरीमाथि जबरजस्ती गर्नेले सजाय नपाएको देखेर म हार खाएजस्तै भएँ,' उनले भनिन्, 'यसअघि कहिल्यै परिवारको लालनपालनमा हार खानु परेको थिएन। यो त आफ्नो हातमा पनि छैन।’
कैलालीका जिल्ला न्यायाधिवक्ता विष्णुप्रसाद पौडेलले घटनाबारे प्रहरीको अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालय हुँदै मुद्दा अदालत पुगेको बताए।
अदालतले नै ती व्यक्तिलाई वृद्ध भएकोले धरौटीमा छोडेको उनको भनाइ छ। अदालतले के सोचेर ती मानिसलाई धरौटीमा छोड्यो फूलमायालाई थाहा छैन। उनलाई त आफ्नी छोरी निर्धक्क धारामा जान सक्ने हुनुपर्यो भन्ने लागिरहन्छ।
त्यसैले धरौटीमा रिहा भएका वृद्धलाई कारबाहीको माग राख्दै उनले पुनरावेदन अदालत दीपायल पुगेर निवेदन दिएकी छिन्।
‘छोरीको न्याय त राज्यले नै हेरिदिनुपर्ने हो,’ उनले भनिन् ।
पीडित परिवार लामो र झन्झटिलो अदालती प्रक्रिया सम्झेरै हैरान छन्। नजिकको प्रहरीले उजुरी नै नलिनु, पक्राउ परेको दुई साता नबित्दै छुट्नु र गाउँमा उनैको बोलवाला चल्नु आफ्ना लागि असह्य भएको फूलमायाले बताइन्।
‘छोरी मान्छे भएर जन्मनु नै कमजोरी होजस्तो पो लाग्न थाल्यो,' उनले सेतोपाटीसँग भनिन्,'सरकारले पीडकलाई सजाय दिलाउनु पर्ने हो तर हामीलाई सजाय मिलेको छ।'
घटनापश्चात फूलमायाको मनमा धेरै कुरा खेल्छ।
‘सरकारमा बसेका मान्छे वा राज्यका उच्च तहका मान्छेका छोरीमाथि यो घटना भएको भए के हुन्थ्यो होला?' उनी सोच्छिन्, 'मेरो छोरी पनि उनीहरूकै छोरीजस्तै होइन र?’
बलात्कारको पीडा भोगेका बालिका, महिला जो कोहीले पनि समाजमा सहजै बाँच्न पाउने वातावरण बनाइदिनु त सरकारले पर्ने हो भन्ने उनलाई लाग्छ।
‘बलात्कार दाग कसरी मेटाउने हो’ अचेल उनको मनमा यही कुरा चलिरहन्छ।
परिवार पाल्न परिस्थितिसँग गर्नुपर्ने लडाइँ त उनले सधैं लडिरहेकै थिइन्। फूलमाया अहिले छोरीको न्यायका लागि लडिरहेकी छिन्।
उनको परिवारको घरमूली पनि उनै हुन्। फूलमाया अहिले सरकारी जग्गा (ऐलानी) जग्गामा माटोले बनाएको साना घरमा परिवारलाई लिएर बस्छिन्।
आँगनमा राखिएको चपाइमा श्रीमान प्यारालाइसिसको बिरामी भएर पल्टिएका छन्। उनी उठ्न बस्न सक्दैनन्। दश र सात वर्षका २ छोरीसमेत फूलमाया एक्लै पालिरहेकी छन्।
फूलमायाले ६ महिना सिलाइकटाइ तालिम लिएर घरमा मेसिन राखेकी छिन्। त्यही मेसिनबाट छिमेकीको कपडा सिलाएर आउने नै उनको परिवारको आम्दानीको मुख्य स्रोत हो। यसका अलवा श्रीमानले पाउने अपाङ्गता भत्ता हो।
‘श्रीमान अशक्त हुनुहुन्छ, सबै काम मैले नै गर्ने हो,' उनले भनिन्, 'छोरीहरूले घरको काममा सघाउँथे अलि राहत मिल्थ्यो अब त छोरीहरूलाई यताउता पनि पठाउन गाह्रो भयो।’
यसरी चलेको परिवारको दैनिकी अहिले फेरिएको छ। छोरीको न्यायका लागि अदालत धाउने कहिलेसम्म हो फूलमायालाई थाहा छैन। उनलाई अदालती प्रकृयाका धेरै कुरा पनि थाहा छैन। न्यायको लडाइँ त उनले लड्ने थिइन् तर गाउँलेले भोलि आफ्नी छोरीलाई के सोच्लान् भनेर डर लागिरहन्छ।
पहिले-पहिले फुरूकफुरूक गर्दे हिँड्ने छोरी अचेल उनको पछाडि लुक्ने भएकी छन्। छोरी विस्तारै सामान्य हुँदै गएपछि समाजमा कसैले फ्याट्टै नराम्रो भनिदियो भने के होला? भोलि अदालतले फैसला सुनाउँदा पनि दोषीलाई छोड्यो भने के होला? अर्कैले गरेको अपराधको भारीले छोरीलाई बाँच्न सजिलो होला कि नहोला सोल्याउँदा फूलमाया आत्तिन्छन्।
फूलमायाको जस्तो दोषीलाई सजाय नहुनुको पीर बझाङका हरि (नाम परिवर्तन)लाई छैन। तर छोरीको भविष्यमा यो घटनाको कस्तो असर पर्ला भन्ने पीरले भने उनलाई छोडेको छैन।
घटना १० महिनाअघिको हो।
त्यस रात गाउँका प्राय: सबैजसो मानिस मन्दिर गएका थिए। छिमेकी ६० वर्षीय वृद्ध हरिको घर आए। बालिकाको आमालाई बलात्कारको प्रयास गरे।
जब आमा ती वृद्धबाट फुत्केर भाग्न सफल भइन्, बलात्कारीको नजर छोरीमा पर्यो। उनले हरिकी छोरीलाई छोडेनन्।
घटनाबारे समयमै प्रहरीलाई जानकारी गराएपछि वृद्ध पक्राउ परे। अहिले उनी बलात्कारको अपराधमा सजाय भोगिरहेका छन्।
तर बालिकाको यौनाङ्गमा टाँका लगाउनु परेको थियो। जो अहिले पनि दुखिरहन्छ। अनि हरि छट्पटाउँछन्।
'बलात्कारको घटना सारा गाउँलेलाई थाहा छ। छोरी ठूलो भएपछि के भन्ने हुन्, कस्तो व्यवहार देखाउने हुन्, त्यही चिन्ताले मन खान्छ,' उनले भने।
बलात्कारको घटनापछि मानिसहरूले कहिले दयाको नजरले हेर्दा रैछन् कहिले इज्जतै गयो भन्ठान्दा रैछन्। यही कुराले हरि र उनको परिवारलाई चैनको सास फेर्न दिन्न। समाजमा अरू मानिसजस्तै सामान्य हुन कहिले सकिएला उनलाई थाहा छैन।
सरकारले आफ्नी छोरीलाई पढाउने जिम्मा लिइदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ।
'सरकारले हेरिदियो भने समाजमा अर्कै प्रभाव हुन्थ्यो,' उनले भने।
हामीकहाँ बलात्कार वा हिंसाबाट पीडितलाई राख्ने सेल्टरसम्म छैन। यस्ता सेल्टर बनाउन सरकार उदासिन देखिन्छ।
समाजमा दिनदिनै बलात्कारका घटना बढ्दो छन्।
बलात्कारको पीडा भोगेका बालबालिकादेखि वृद्धासम्म सामाजिक रूपमा बहिष्करणमा पनि पर्ने गरेका छन्।
कैलाली लम्कीचुहाकी २४ वर्षीय सम्झना (नाम परिवर्तन) त्यसैको उदाहरण हुन्।
उनको बिहे एउटी अफिसमा काम गर्ने मानिससँग प्रेममा परेपछि भएको थियो। छोरी जन्मिइन्। एकदिन उनी चिनेजानेकी मानिसबाट बलात्कारमा परिन्। उनलाई बलात्कार गर्ने व्यक्ति अहिले कानुनी कठघरामा छन्। तर सम्झना भने समाजको कठघरामा सजाय भोगिरहेकी छन्।
बलात्कारमा परेपछि उनलाई आफैंले प्रेम गरेर बिहे गरेका पतिले 'अर्कैको जुठो' भन्न थाले। परिवारले पनि उनलाई हेर्ने नजर बदलियो। उनी माइती गइन्। माइतीले पनि यस्तो भएर आएकी छोरीलाई राखेको भन्दै समाजमा बेइज्जत हुने कुरा सुनाए।
सबैतिरबाट बहिष्कार भएपछि उनले आत्महत्याको बाटोसमेत रोजेकी थिइन्। तर उनलाई एउटै कुराले रोक्यो- छोरीको भविष्य। सबैको तिरष्कारका बाबजुद् छोरीकै लागि बाँच्ने बाचा गरेको उनले बताइन्।
एउटा छोरीकी आमा उनी अहिले बेसहारा भइन्। उनी एउटा एनजिओको सेफ हाउसमा बसिन्। उनी पढेलेखेकी थिइन्। काम खोजिन्। सेफहाउसमा २ महिना बसेपछि निस्किएर काम गर्न गइन्। अहिले भने उनी छोरीसँग हाँसीखुसी जिन्दगी बिताउँदै छिन्।
‘छोरीको भविष्य सुन्दर बनाउँछु। अहिले त हामी हाँसीखुसी बसेका छौं’ उनी भन्छिन्, 'तर घर र माइत भने गएकी छैन। बोलचालै छैन।'
बलात्कारीलाई सजाय दिनुमात्र समस्याको समाधान नभएको उनले बताइन्।
‘अपराध हुनुभन्दा अपराध हुनै नदिने वातावरण बनाउनु राम्रो,' उनी भन्छिन्, 'अपराधीलाई सजाय त दिनुपर्छ, सरकारले बलात्कारजस्तो अपराध हुनै नसक्ने वातावरण बनाउनुपर्छ।’
बलात्कार पीडित बनेका कतिपय महिलालाई आश्रय दिने दृष्टि फाउण्डेसनकी सञ्चालक कल्पना भट्टका अनुसार बलात्कारपश्चात कतिपय महिलाहरू परित्यक्त हुन र अझ एक्लै बस्न बाध्य हुन्छन्।
आफन्तबाटै बलात्कारमा पर्ने झनै समस्यामा पर्ने गरेका छन्। कतिपय मानसिक रोगका शिकार बनेका छन्।
उक्त फाउन्डेसनले बलात्कार पीडित ४ महिलालाई संरक्षण दिएको छ।
'कतिपयले त सडकमै बलात्कृत भएर बच्चा जन्माएका छन्,' उनले भनिन्।
बलात्कार पीडित महिलाले सामाजिक/मानसिक हिंसा जिन्दगीभर भोग्नुपरेको महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपाल) धनगढीका संयोजक बिनु रानाले बताइन्।
‘बलात्कारमा परेका महिलालाई हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन हुनुपर्छ,' उनले भनिन्, 'पीडित महिला समाजमा सम्मानजनक पुनर्स्थापना नहुँदासम्म पीडितले न्याय पाउँदैनन्।’
यसका लागि सरकारले नै विशेष कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ।
अपराध पीडितलाई पीडकबाट, पीडकले नसक्ने रहेछ भने अपराध पीडित कोष खडा गरी त्यसबाट अन्तरिम राहत दिने कानुन छ। सर्वोच्च अदालतले केहीसमय अघि बैतडीकी एक किशोरीमाथि भएको बलात्कारको घटनामा फैसला गर्दै तत्काल पीडकबाट पीडितलाई अन्तरिम क्षतिपूर्ति दिलाउन उसले पीडकले नसके सरकारले नै राहत दिने कानुन कार्यान्वयन गर्न निर्देशनात्मक आदेश दिएको छ।
कुनै बलात्कार वा अन्य हिंसाबाट पीडित बनेका बालिका वा महिलालाई कानुनी परामर्श दिन हरेक सरकारी वकिल कार्यालयमा पीडितमैत्री कक्ष बनाउने नीति महान्यायाधीवक्ता कार्यालयले लिएको छ।
महान्यायाधीवक्ता कार्यालयले वर्ष दिनअघि महिला इकाइको पनि गठन गरेको थियो। यसले सबै जिल्लामा पीडितलाई कानुनी परामर्श दिन महिला तथा बालबालिका इकाइ गठन गर्ने काम पाएको थियो। तर सबै जिल्लामा यस्तो निर्णयको सर्कुलर बनेरमात्र गएको छ। व्यवहारमा भने बलात्कार वा हिंसा पीडितलाई जिल्ला सरकारी वकिलले चिन्दा पनि चिन्दैनन्।
जस्तो फूलमायाकी छोरीलाई सरकारी वकिल विष्णुप्रसाद पौडेलले चिन्दैनन्। उनले सेतोपाटीसँग कुरा गर्दै पीडितलाई आफूहरूले नचिन्ने बताए।
'हामीकहाँ अनुसन्धान प्रतिवेदन आएपछि त्यसकै आधारमा मुद्दा दर्ता गर्यौं। पीडितसँग हाम्रो भेट भएको छैन। भेटै नभएपछि प्रहरीको प्रतिवेदनको आधारमा हामीले उहाँकै पक्षमा बहस गर्छौं,' उनले भने।
पीडितकै पक्षबाट वकालत गर्ने सरकारी वकिलले पीडितलाई नचिन्ने कानुनी प्रणालीमा पीडितलाई राहत, मनोपरामर्श लगायतका विषय हक हैन निगाहमा पाउने कुरामात्र बन्छ।