स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरूआतमा तीन निजी प्रयोगशालालाई पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्न अनुमति दिएको छ।
मन्त्रालयले निजी प्रयोगशालाहरूलाई परीक्षण गर्न दिने निर्णय गरेको दुई सातापछि बल्ल तीन वटा प्रयोगशालालाई अनुमति दिएको हो। अब अनुमति पाएसँगै प्रयोगशालाले परीक्षणको लागि चाहिने किटलगायत सबै सामग्री आफैं व्यवस्थापन गर्नुपर्ने हुन्छ।
मन्त्रालयले निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने निर्णय गरेपछि कुन-कुन प्रयोगशालालाई अनुमति दिने भन्ने टुंगो गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जिम्मा दिएको थियो।
प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले काठमाडौं मेडिकल कलेज, स्टार हस्पिटल र सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरोटरीलाई परीक्षण अनुमति दिइएको जानकारी दिए।
अब प्रयोगशालामा बढी भएका नमूनाहरू निजी प्रयोगशालामा परीक्षण गरिनेछ। त्यसको लागि कुन-कुन निजी प्रयोगशालामा नमूना पठाउने भन्ने मन्त्रालय आफैंले टुंगो गर्छ।
'मन्त्रालयमा एउटा टोली गठन भएको छ। उहाँहरूले कुन-कुन प्रयोगशालामा नमूना पठाउने भनेपछि बढी भएका नमूनालाई त्यहीँ प्रयोगशालामा पठाउँछौं,' गुप्ताले भने।
उनले बाँकी निजी प्रयोगशालालाई पनि परीक्षण अनुमति दिन अनुगमन सुरू गरिने जनाए।
उनले अझै ७ वटा निजी प्रयोगशालाको अनुगमन हुन बाँकी रहेको बताए।
निजी प्रयोगशालाले परीक्षण अनुमति पाए पनि कहिलेदेखि परीक्षण सुरू हुने भन्ने टुंगो छैन। प्रयोगशालाका अनुसार अहिले देशभरमा रहेका सरकारी प्रयोगशालाहरूले नै परीक्षण धान्ने स्थिति छ। त्यसमाथि सरकारले थप १० वटा नयाँ प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ।
पछिल्लो समय क्वारेन्टिनमा भएका व्यक्तिहरूको संख्या ह्वात्तै घटेपछि परीक्षणको चाप पनि कम छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ५३ हजार मानिस क्वारेन्टिनमा छन्। जसले गर्दा परीक्षणको चाप कम भएको छ। यसै पनि नयाँ टेस्टिङ निर्देशिकामा क्वारेन्टिनमा भएका लक्षणविहीन व्यक्तिको पिसिआर परीक्षण गर्नु नपर्ने भनिएको छ।
अहिले देशभर रहेका २२ वटा प्रयोगशालाबाट दैनिक ७ हजार जना सम्मको परीक्षण हुँदै आएको छ। मन्त्रालयले निजी प्रयोगशला र नयाँ प्रयोगशाला स्थापना गरेर दैनिक १० हजारको परीक्षण गर्ने तयारी गरेको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले संसदमै असार १५ गतेदेखि नै दैनिक १० हजार जनाको परीक्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। तर मन्त्री ढकालको योजना अनुरूप परीक्षण हुन भने सकेन।
सरकारले निजी प्रयोगशालाहरूलाई परीक्षण अनुमति दिए पनि प्रयोगशालामा व्यक्ति आफैं गएर परीक्षण गर्न सक्दैनन्।
प्रयोगशालाहरूले मन्त्रालयले दिएको नमूनाको मात्र परीक्षण गर्न पाउनेछन्। मन्त्रालयले निजी प्रयोगशालाहरूलाई एउटा नमूना परीक्षण गरेबापत ५ हजार ५ सय शुल्क दिने व्यवस्था गरेको छ। तर कतिपय निजी प्रयोगशालाहरूले सरकारले तोकेको मूल्यमा परीक्षण गर्न नसकिने आशय व्यक्त गरेका छन्।
सरकारले स्रोत साधन भए पनि सुरूआतमा निजी प्रयोगशालाहरूलाई परीक्षण अनुमति दिएको थिएन। पछि सरकारी प्रयोगशालाहरूले परीक्षणको चाप धान्न नसकेपछि निजी प्रयोगशालालाई पनि प्रयोग गर्ने मन्त्रालयले निर्णय गरेको हो।
त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गर्न इच्छुक निजी प्रयोगशालाहरूलाई निवेदन दिन आह्वान गरेको थियो। जसमा २० वटा प्रयोगशालाहरूले परीक्षण अनुमतिको लागि आवदेन दिएका थिए। त्यसमा पनि ९ वटा प्रयोगशालाले तत्काल परीक्षण सुरू गर्ने सक्ने भन्दै प्रयोगशालाले ती प्रयोगशालाको अनुगमन गरेर अनुमति दिने कुरा टुंगो गर्ने जनाएको थयो।