झट्ट हेर्दा रमाइलाे पिकनिक जस्तो दृष्य देखिन्थ्याे। तर यो रमाइलोका लागि नभई ट्याक्सी चालकहरुले गरेको एउटा विरोधको शैली थियो।
ट्याक्सी चलाउन पाउनुपर्ने मागसहित हिजाे मंगलबारदेखि चालकहरुले आफ्ना ट्याक्सी विभाग अगाडि छाडेका छन्।
काम गर्न नपाउन्जेल विभाग अगाडि नै ट्याक्सी रोकेर त्यही बस्ने निर्णय गरेकोले खानाको व्यवस्था पनि त्यही गरिएको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सदस्य दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
'हामी होटलमा गएर खान सक्दैनौं, त्यही भएर साथीहरुसँग पैसा उठाएर खाना, खाजाको व्यवस्था गरेका छौं,' श्रेष्ठले सेतोपाटीसँग भने 'हाम्रो माग पूरा नभएसम्म यही खान्छौं, यही सुत्छौं।'
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाल यो विषय आफ्नो मातहतमा नभएको भन्दै पन्छिने गरेकाे उनको आरोप छ।
सरकारले श्रमजिवी ट्याक्सी व्यवसायीलाई बेवास्ता गरेको उनले बताए।
'हामीलाई बैंक, फाइनान्स, इन्सोरेन्समा तिर्नुपर्ने किस्ता, कर देखि चुलो बाल्न समेतको समस्या छ' उनले भने 'हामीलाई अरु केही चाहिएन, काम गर्ने वातावरण बनाइ दिनुपर्यो।'