डडेल्धुरा अस्पतालमा पिसिआर प्रविधिबाट कोरोना परीक्षण सुरू भएको छ। नागरिकले चन्दा संकलन गरी खरिद गरिएकाे पिसिआर मेसिनबाट आजदेखि परीक्षण सुरू भएको हो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले बुधबार तयार भएको मेसिनमा आजदेखि परीक्षण सुरू भएको बताए।
यसअघि सेती प्रादेशिक अस्पतालमा परीक्षण भएको स्वाव नमूना सो मेसिनमा पुनः परीक्षण गरी गुणस्तर जाँच गरिएको ओझाले बताए।
आज डडेल्धुराको नवदुर्गा गाउँपालिकाबाट आएका ९ वटा नमूना परीक्षण हुँदैछन्।
अस्पतालमा पिसिआर मेसिन सञ्चालका लागि ल्याब अफिसर ५ जना, ल्याव असिस्टेन्ट २ जना, सहयोगी २ जना, आएको नमुना इन्ट्री गर्न २ जना, रिपोर्ट इन्ट्री गर्न १ जना कम्प्युटर अपरेटरसहित जम्मा १२ जना कर्मचारी खटाइएको छ।
आवश्यकता अनुसार अरु कर्मचारी पनि परिचालित गरिने अध्यक्ष ओझाले बताए। सो मेसिन खरिदका लागि एक महिना पहिले ह्युमानिटी फाउण्डेशनले आर्थिक संकलन सुरू गरेको थियो।
मेसिनमा दैनिक तीन सय ८४ जनाको नमूना परीक्षण गर्ने क्षमता रहेको ओझाले बताए।
फाउण्डेशनलाई पिसिआर मेसिन खरिदका लागि व्यापारी, समाजसेवी, प्रवासी नेपाली लगायतले सहयोग गरिरहेका छन्।
फाउण्डेशनका अध्यक्ष श्याम तायलले सरकारले परीक्षणको दायरा बढाउन उदासिन भएका बेला सामाजिक स्तरबाट काम सुरू भएकोमा खुसी व्यक्त गरे।